+
+

किन घट्यो युट्युबमा गीतको भ्युज ?

सुशील नेपाल सुशील नेपाल
२०७८ पुष १ गते १४:०१

१ पुस, काठमाडौं । पछिल्लो समय युट्युबमा म्युजिक भिडियोले अपेक्षित भ्युज पाउन छाडेको कलाकार, निर्देशक र लगानीकर्ताहरुले बताएका छन् । युट्युबमा सार्वजनिक म्युजिक भिडियोको भ्युज घटेको उनीहरुको भनाइ छ ।

पछिल्लो समय म्युजिक भिडियो निर्माणको क्रम बढेको छ । अधिकांश म्युजिक भिडियो ‘बुस्ट’ गरिएका पनि हुन्छन्, तर पनि अपेक्षित भ्युज भने नपाउने गरेको संगीतकर्मी र निर्माताहरु बताउँछन् ।

ओएसआर डिजिटलका अनुसार पछिल्लो समय युट्युबमा म्युजिक भिडियोको भ्युज घट्दो छ । ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल भन्छन्, ‘अहिले युट्युबमा म्युजिक भिडियोको भ्युजको गति पहिलेजस्तो छैन ।’ पछिल्लो केही महिनायता म्युजिक भिडियोको भ्युजको गति घटेको उनले बताए । संगीतकार एवं गायक टंक बुढाथोकी पनि पछिल्लो समय म्युजिक भिडियोको भ्युज पहिलेजस्तो जान छाडेको बताउँछन् ।

बुढाथोकीले अनलाइनखबरसँग भने, ‘दुई वर्ष अगाडिसम्म राम्रो क्रियशनमा १० लाख भ्युज सजिलै आउँथ्यो । पछिल्लो समय म्युजिक भिडियोले पाउने भ्युज एकदमै घटेको छ ।’

किन आउन छाड्यो अपेक्षित भ्युज ?

संगीतकार एवं गायक बुढाथोकी म्युजिक भिडियोको भ्युज अपेक्षित आउन छाडेकोमा मुख्यतयाः दुई कारण देख्छन् । पहिलो, पछिल्लो समय धेरै मानिसहरु टिकटकतिर रमाउन थाले । दोस्रो, म्युजिक भिडियोहरु धेरै संख्यामा आए । र, ती म्युजिक भिडियोहरु उस्तै खालका बने ।

‘अहिले उस्तै नाच, उही कलाकार, एउटै लोकेसनमा धेरै भिडियो आए । उस्तै भए एउटै कलाकारको हप्तामा सातवटासम्म भिडियो रिलिज हुन्छन्,’ बुढाथोकीले भने, ‘एउटै खालका धेरै गीत, धेरै भिडियोहरु बन्नु पनि भ्युज अपेक्षित नजानुको अर्को कारण लाग्छ ।’

संगीतकार एवं गायक अर्जुन पोखरेल पनि युट्युबमा म्युजिक भिडियोको भ्युजको गति घटेको आफूले पाएको बताउँछन् । आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका पछिल्ला गीतको भ्युजको गति पनि कम भएको पोखरेलले बताए ।

उनी युट्युबमा म्युजिक भिडियोको भ्युज अपेक्षित नआउनुमा आफ्नो बुझाइ फरक–फरक रहेको बताउँछन् । दिनमै ८/१० वटा म्युजिक भिडियो सार्वजनिक हुन थालेपछि भ्युजको गति कम भएर गएको उनको बुझाइ छ । पछिल्लो समय युट्युबजत्तिकै टिकटक पनि हाबी भएको छ । पहिले युट्युबमा भिडियो हेर्नेहरु अहिले टिकटकमा रमाएको हुनसक्ने पोखरेल बताउँछन् । जसका कारण युट्युबको बजारलाई केही मात्रामा टिकटकले प्रभाव पारेको आफ्नो बुझाइ रहेको उनले बताए ।

उनी एकै किसिमका म्युजिक भिडियोहरु धेरै आउन थालेसँगै स्रोता-दर्शकहरु ‘मोनोटोसन’ भएको हुनसक्ने बताउँछन् ।

‘जब हामीकहाँ दिनमा ८/१० वटा म्युजिक भिडियो रिलिज हुन थाले भ्युजको गति घटेको पाउँछु । धेरै आउनेबित्तिकै भ्युजको गति घट्ने भन्ने होइन, एकै किसिमको धेरै भएपछि स्रोता –दर्शकलाई मोनोटोनस लाग्न सक्छ,’ पोखरेल आफूहरुको कमजोरी औल्याउँदै भन्छन्, ‘हामीले केही फरक गर्ने कोशिश नगरेको पनि हुनसक्छ । एकै किसिमको अडियो, उही मोडलहरु, एकै किसिमको लोकेसन, एउटै किसिमको कोरियोग्राफी पनि भ्युज घट्नुको कारण हुनसक्छ ।’

हिजोआज कुनै गीत आउँदैछ भन्दा स्रोता–दर्शकहरु प्रतीक्षामा रहने गरेको आफूले नपाउने पोखरेल बताउँछन् । उनी संगीतसँग सम्बन्धित विभिन्न रियालिटी शोले पनि म्युजिक भिडियोको भ्युजमा केही प्रभाव पारेको हुनसक्ने बताउँछन् ।

टिकटकले थोरैलाई फाइदा, समग्रमा घाटा !

टिकटकका कारण समग्रमा हेर्दा गीतको भ्युजमा असर गरेपनि कतिपय गीतहरुलाई भने फाइदा पनि हुने गरेको छ । कतिपय गीत टिकटकमा हिट भएपछि युट्युबमा खोजेर हेर्नेहरु प्रशस्त हुन्छन् । पछिल्लो समय ‘कालो केशमा रेलीमई’, ‘जाम भो माइली’, ‘रमरम मरौटी’जस्ता गीत टिकटकमा हिट भएसँगै युट्युबमा पनि भिडियो खोजेर हेर्नेहरु बढेका थिए । यी गीतहरुले युट्युबमा निकै राम्रो भ्युज पाए । ‘सुन बाटुली’, ‘दुई दुना चार’ जस्ता गीतहरु यतिबेला टिकटकमा हिट छन् । र, युट्युबमा पनि यी गीतको भ्युज बढ्दो छ । टिकटकले केही पुराना चर्चित गीतलाई पनि फेरि चर्चामा ल्याइदिएका उदाहरण पनि प्रशस्त छन् ।

संगीतकार एवं गायक बुढाथोकी भन्छन्, ‘टिकटकमा चर्चित भएका गीतहरुलाई फाइदै भएको छ । मेरै कतिपय गीत टिकटककै कारण हिट भएका छन् । तर, समग्र म्युजिक भिडियोमा टिकटकले गर्दा असर गरेको छ । थोरैलाई फाइदा भएपनि धेरै गीतको भ्युजमा असर परेको पाइन्छ ।’

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?