+
+

ट्विटरमा किन चल्यो रणवीर र दीपिकाको ‘८३’ बहिष्कार अभियान ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १२:२७
चलचित्र '८३'मा अभिनेता रणवीर सिंह

९ पुस, काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले अभिनय गरेको चलचित्र ‘८३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

यो चलचित्रलाई नेपाली वितरकले भने नेपाल भित्र्याएनन् । यसैले भारतमा समीक्षागत रुपमा निक्कै प्रशंसा पाएको यो चलचित्रलाई नेपाली दर्शकले भने हलमा हेर्न पाएनन् ।

तर, भारतमा यो चलचित्र रिलिज भएसँगै बहिष्कारको अभियान शुरु भएको छ । सामाजिक सञ्जाल ट्विटरमा चलचित्रलाई बहिष्कार गर्नुपर्छ भन्ने ट्रेण्ड शुरु गरिएको छ । यो चलचित्रलाई रणवीर, दीपिका र निर्देशक कबिर खानका कारण बहिष्कार गर्नुपर्ने ट्विटरका केही प्रयोगकर्ताको भनाइ छ ।

केही समयअघि अभिनेत्री दीपिका जेएनयूमा विद्यार्थीहरुको आन्दोलनमा समर्थन गर्न पुग्दा उनको आलोचना र प्रशंसा दुवै भएको थियो । उनले नै निर्माण तथा अभिनय गरेका कारण पनि यो चलचित्र बहिष्कार गर्नुपर्ने धारणा केही ट्विटर प्रयोगकर्ताको तर्क छ ।

दीपिकाले जेएनयूका विद्यार्थीलाई समर्थन गरेका कारण देखाउँदै यसअघि उनले अभिनय गरेको चलचित्र ‘छपाक’ पनि बहिष्कार गर्नुपर्ने ट्रेण्ड ट्विटरमा चलेको थियो ।

यस्तै, केही प्रयोगकर्ताले अभिनेता रणवीर सिंहले पाकिस्तानको आइएसआई एजेन्ट्ससँग पार्टी गरेको तस्वीर सार्वजनिक गर्दै उनको चलचित्र बहिष्कार गर्नुपर्ने धारणा राखेका छन् ।

चलचित्रको बहिष्कार अभियानमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतका फ्यान पनि छन् । एक विज्ञापनमा रणवीरले सुशान्तको मजाक उडाएको भन्दै यो चलचित्रलाई नहेर्न आग्रह गरिएको छ ।

यस्तै, चलचित्रमा पैसा खर्च गर्दा त्यो रकम ड्रग्स खरिदमा हुने भएकाले पनि नहेर्न केही ट्विटर प्रयोगकर्ताले अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?