+
+

अवसर पाए नयाँ खेलाडीले पनि राम्रो खेल्न सक्छन् : भलिबल प्रशिक्षक भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १६:५१

९ पुस, काठमाडौं । राष्ट्रिय भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले नयाँ खेलाडीहरुले पनि अवसर पाएमा राम्रो खेल्न सक्ने बताएका छन् ।

बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जफन महिला भलिबल प्रतियाेगितामा माल्दिभ्सलाई साेझाे सेटमा हराएर लगातार दाेस्राे जित हात पारेपछि नयाँ खेलाडीले पनि राष्ट्रका लागि खेल्न सक्ने उनले बताएका हुन् ।

‘हामीसँग नयाँ खेलाडीहरू छन् जसको मनोबल उच्च छ । उनीहरुलाई मौका दियो भने शतप्रतिशत सदुपयोग गर्छन् र राष्ट्रका लागि खेल्छन् भन्नेमा म विश्वस्त छु’ माल्दिभ्सलाई शुक्रबार ३-० काे सेटमा हराएपछि प्रशिक्षक भट्टले अनलाइनखबरसँग भने ।

नेपाली टिममा यस पटक ३ नयाँ खेलाडी छन् । उनीहरुले बंगलादेशमा डेब्यु गरिसकेका छन् । शान्ती थारु र कामना विष्टले बिहीबार श्रीलंका विरुद्ध डेब्यु गरेका थिए भने लक्ष्मी चन्दले माल्दिभ्स विरुद्ध खेल्दै डेब्यु गरिन् ।

यस्तै टिममा दुई पुराना खेलाडीले पनि यसै प्रतियाेगितामा पुनरागमन गरे । प्रशिक्षक भट्टले पनि टिममा नयाँ र पुराना खेलाडीकाे राम्राे समीश्रण रहेकाे बताए ।

‘नयाँ र पुरानो खेलाडीकाे मिश्रणले टिम बलियो भएको छ’ भट्टले भने, ‘ट्रेनिङमा मैले कुनै कसर बाँकी राखे जस्तो लाग्देन । त्यसैले आफूलाई राष्ट्रले दिएको जिम्मेवारी र कर्तव्यलाई आत्मसाथ गरी कोर्टमा शतप्रतिशत उतार्नु पर्‍यो ।’

प्रशिक्षक भट्टले आउने खेलहरुमा अझ राम्राे प्रदर्शन गर्ने बताए । ‘हामीले आउने खेलहरूमा अझै राम्रो गर्नेछौं । जसका लागि हामीले प्रतियोगिताका दौरान भए गरेका त्रुटिहरूलाई ट्रेनिङको माध्यमबाट सुधार गर्नेछाैँ । साथै उच्च मनोबलका साथमा आगामी खेलहरु खेल्नका लागि उत्प्रेरित गरिरहेका छौं ।’

यसअघि सन् २०१९ मा बंगलादेशमै भएकाे पहिलाे संस्करणमा नेपालले उपाधि जित्दा ६ नयाँ खेलाडीले डेब्यु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?