+
+

‘भक्तपुरमा जनता आफैं सार्वजनिक सम्पत्तिको पहरेदार छन्’

सुनिल प्रजापति, मेयर, भक्तपुर नगरपालिका सुनिल प्रजापति, मेयर, भक्तपुर नगरपालिका
२०७८ पुष १२ गते ९:४०

हामी स्थानीय सरकार हौं । स्थानीय जनताको हितका लागि जे गर्दा राम्रो हुन्छ त्यही गर्छौं । जुनसुकै सम्पत्ति किन्दा त्यसको अधिकतम उपयोगितालाई ध्यानमा राखेर किन्छौं । हाम्रो उपमेयर चढेको गाडी २३ वर्ष पुरानो हो । म आफैं २० वर्ष पुरानो गाडी चढिरहेको छु । त्यसको मर्मतसम्भार गर्दा चल्ने बेलासम्म हामी नयाँ खरीद गर्दैनौं ।

नयाँ गाडी किनेर ल्यायौं भने अहिले काम चलिरहेका गाडीहरू सेता हात्ती जस्तै बन्छन् । एउटै मेसिन खरीद गर्न लाखौं रुपैयाँ पर्छ, फेरि त्यस्तो पैसा विदेश जाने हो । मर्मत गरेर चलाउँदासम्म चल्ने समानलाई विस्थापित गर्ने गरी हामी खरीदलाई प्राथमिकतामा राख्दैनौं ।

अन्यत्र हेर्छौं, पैसा त अहिले बालुवामा पानी खन्याए जस्तै गरी खर्च गरिंदैछ । हामीलाई के लाग्छ भने सरकारी स्रोत र सार्वजनिक सम्पत्तिको संरक्षण र दिगो उपयोग भएको भए देश समृद्ध बनिसक्थ्यो ।

हामी त खरीद प्रक्रियामा जानुअघि दिगोपना हेर्छौं । अन्यत्र सस्तो लोकप्रियता र ठेक्का लगाएर लाभ लिने प्रवृत्ति बढी देख्छौं । विमानस्थल बनिरहेको छ, त्यसको प्रयोग हुने सुनिश्चित भएको देख्दैनौं, सिंचाइ आयोजना बनाउँदा त्यसको लाभको पक्ष विश्लेषण भएको पाउँदैनौं । हामी त त्यही कुराबाट पाठ सिकिरहेका छौं ।

सम्पदाको संरक्षणमा हामीले ठूलो टाउको दुखाउनुपर्ने पनि छैन । जनता आफैं त्यसको पहरेदार छन् ।

जुन जुन कुरा अन्यत्र विकृतिका रूपमा आएका हुन्छन्, हामी त्यही कुरा यहाँ नहोस् भनेर ध्यान दिन्छौं । हामीसँग भएको सम्पत्ति बढीभन्दा बढी उपयोग भएर धेरै जनाले लाभ पाउन् भन्नेमा जोड दिन्छौं ।

हाम्रो कलेजका भवनहरू हेर्नुस्, लाखौंमा बनेका ती भवन बिहान, दिउँसो र बेलुका तीन सिफ्टमा चलाउन खोज्छौं । एउटा भवन बनाउँदा १८–१९ करोड रुपैयाँ खर्च हुन्छ । तर, भएको भवनलाई बढी उपयोग गर्नेतर्फ ध्यान दिने गरेको अन्यत्र देख्दिनँ ।

सरकारको नीति पनि त्यस्तै अप्ठेरो छ । नीतिले एउटै परिसरमा दुई वटा कलेज चलाउन पाइँदैन भन्छ । हामीलाई एउटा नयाँ विषय थप्न साढे दुई वर्ष झुलाइयो । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै हामीले एउटै कलेजमा दुई वटा कलेजका कक्षा चलाउन सकेका छौं । करोडौंमा बनेका भवनमा केही सय हैन, हजारौं विद्यार्थीले पढ्न पाउन् भन्ने हाम्रो ध्येय हुन्छ । एउटैमा कोचेर पढाउने भनेको पनि हैन, जुन समयमा खाली हुन्छ, त्यही समयमा कक्षा चलाउँ भनेको हो ।

हामी कुनै पनि विषय नगरपालिकाको चार किल्लाभित्र मात्रै बसेर गर्दैनौं । जनतामाझ गएर के गरौं भनेर सोध्छौं, राय सल्लाह लिन्छौं । त्यसैले पनि होला हामीलाई निर्णय कार्यान्वयनमा कहिल्यै अप्ठेरो परेको छैन । कुनै लाभ नै नदिने पूर्वाधार बनेको पनि छैन ।

हामीले त सकेसम्म ठेकेदार परिचालन गर्ने भन्दा समुदायलाई परिचालित गर्ने पक्षलाई ध्यान दिन्छौं । कथंकदाचित ठेक्कामा गइहाले पनि त्यहाँ गुणस्तरमा सम्झौता हुँदैन । गुणस्तर पुगेन भने निरीक्षण लगत्तै भत्काउने गरेका छौं । हाम्रो क्षेत्रभित्र ठेकेदारले बढी संवेदनशील भएर काम गर्छन् । केहीले काम बिगारेपछि कारबाही स्वरुप कालोसूचीमा राखेका छौं ।

हामी सकेसम्म जनतालाई नै सार्वजनिक सम्पत्तिको अपनत्व महसूस गराएर काम गराउँछौं । उहाँहरूबाटै जनश्रमदान गराउँछौं, उपभोक्ता समिति बनाएर काम लिन्छौं, भौतिक सहयोग पनि लिन्छौं । मठमन्दिर बनाउँदा काठ सक्नेले काठ, इँटा दिनसक्नेले इँटा र जसले जे सक्छ त्यही सहयोग गरिरहेका हुन्छन् । त्यसले गर्दा सार्वजनिक सम्पत्तिलाई जनताले आफ्नै ठानिरहेको हुन्छ ।

हामीले ११८ वटा सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गरिसक्यौं, हामीले ठेक्का दिएनौं । जनताबाट नै यो काम भयो । गुणस्तर कायम गरेरै भयो । त्यसले गर्दा ती सम्पदाको संरक्षणमा हामीले ठूलो टाउको दुखाउनुपर्ने पनि छैन । जनता आफैं त्यसको पहरेदार छन् ।

सार्वजनिक जग्गा मिच्ने र पाटीपौवामाथि निजी संरचना बनाउने भयो भने हामी सहेर बस्दैनौं । कसैले मिचेर त्यस्तो काम गर्‍यो भने उसले जति खर्च गरेर त्यो संरचना बनाएको हुन्छ, त्योभन्दा ५ देखि ८ गुणासम्म बढी जरिवाना गराउँछौं र भत्काउन लागेको खर्च पनि असुल्छौं । त्यो चाहिं हामीले सार्वजनिक सम्पत्तिमाथि अतिक्रमण हुन नदिन गरेका हौं । अरूलाई पनि त्यसले निरुत्साहित गरोस् भन्ने हाम्रो ध्येय हो ।

हामी ठाउँ अनुसार कतिपय सार्वजनिक सम्पत्तिले आम्दानी हुने अवस्था भए टेन्डर गरेर उपयोग गर्न पनि दिन्छौं । अरू सार्वजनिक पूर्वाधार पनि उपयोगविहीन भयो भने कसरी त्यसलाई उपयोगमा राख्ने भनेर योजना बनाउँछौं । जस्तो अहिले कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी कम छन्, कुनैमा हामीले सामुदायिक पुस्तकालय बनाएका छौं । कतै खेलकुद समितिको कार्यालय राखेका छौं, कतै आयुर्वेदिक उपचार केन्द्र खोलिदिएका छौं, कुनैमा पशु चिकित्सा केन्द्र खोलेका छौं ।

वडा मर्ज भएपछि खाली भएका पुराना वडा कार्यालयहरूमा नयाँ कार्यालय खोलिदिएका छौं । थप डाक्टरहरू भर्ना गरेर स्वास्थ्य केन्द्रहरू पनि खडा गरेका छौं । त्यतिकै राख्दा ती भवन बिग्रने, भत्किने हुन्थ्यो भने अहिले त्यो उपयोगमा मात्रै आएका छैनन्, टोलमा नै सेवा सुविधाहरू पाएपछि जनता पनि खुशी छन् ।

हामी सधैं जनतालाई केन्द्रमा राखेर सोच्छौं । हाम्रो मजदूर किसान पार्टीले हामीलाई त्यही अनुसार निर्देशन पनि दिएको हुन्छ । यो गरिरहँदा हामीलाई नयाँ काम गर्‍यौं भन्ने पनि लाग्दैन, हामीले सकेसम्म जनताको सम्पत्ति जनताको हितमा बढीभन्दा बढी उपयोग गराउने वातावरण निर्माणका लागि प्रयास गरेका हौं । कति सफल छौं भन्ने जनताले नै मूल्यांकन गर्ने विषय भयो ।

(तुलनात्मक रूपमा सार्वजनिक सम्पत्तिको संरक्षणमा बढी ध्यान दिने स्थानीय तह भनेर चिनिएको भक्तपुर नगरपालिकाका मेयर प्रजापतिसँग रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?