+
+

गण्डकी मुख्यमन्त्री कार्यालयमा कालो मास्क निषेध !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १७:५८

१३ पुस, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो करिब ३ बजे एक युवक प्रवेश गरे । अरु सेवाग्राहीलाई भित्र सजिलै जान दिएका सुरक्षाकर्मीले ती युवकलाई रोके । कारण थियो, उनले लगाएको कालो मास्क ।

सुरक्षाकर्मीले कालो मास्क लगाएर भित्र जान अनुमति नभएको र अर्को रङको मास्क लगाएर आउन भने । ती युवकसँगै आएका कालो टोपीसहित कालै पोशाकमा अर्का युवकले ठट्टा गर्दै सोधे, ‘सर मैले कालै पञ्जा लगाएको छु, यो पनि फुकाऊँ कि ? कहाँ लेखिएको रहेछ, कालो मास्क लगाउन नपाइने ?’

गेटमा बसेका ती सुरक्षाकर्मीले जवाफ फर्काए, ‘कालो मास्कले विरोध गरेको भन्छन् । त्यसैले कालो मास्क लगाएर यहाँ आउन पाइँदैन ।’ पछि ती युवकले आकासे रङको अर्को मास्क लगाएपछिमात्रै भित्र पस्ने अनुमति पाएका थिए ।

कालो मास्क लगाएकै आधारमा फर्काइनेमध्येमा एकजना पत्रकारसमेत छन् । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा जाँदा ती पत्रकारलाई भित्र छिर्न रोक लगाइएको हो ।

कुनै पनि रङ प्रतिबन्ध छैनः प्रदेश सरकार

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक विकासमन्त्री कुमार खड्काले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कुनै पनि प्रकारको रङ निषेध नगरिएको बताएका छन् ।

‘कतिपय सेक्युरिटीका आफ्नै नियम हुन्छन् । तर, यहाँ कुनै रङकै आधारमा प्रतिबन्ध लगाइएको छैन,’ प्रवक्ता खड्काले भने, ‘कलरले दिने संकेतका आधारमा प्रतिबन्ध लगाउने, नलगाउने भन्ने कुनै अर्थ छैन ।’

प्रवक्ता खड्काले कालो मास्क लगाएकै आधारमा सेवाग्राही फर्किनु परेकोबारे आफूले मुख्यसचिवसँग कुरा राख्ने बताए ।

उनले भने, ‘यस कुरालाई म तत्काल फरवार्ड गर्छु । यो कुरा म मुख्यसचिव ज्युलाई भन्छु । कम्युनिस्टलाई रातो र कांग्रेसलाई हरियो रङ भन्ने हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?