+
+

२३ औं पोखरा सडक महोत्सव भोलिदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १५:५०

१४ पुस, पोखरा । रेस्टुरेन्ट तथा बार एशोसिएसन (रेबान) ले गर्दै आइरहेको पोखरा सडक महोत्सव बिहीबार सुरु हुँदैछ ।

महोत्सव उद्घाटनमा २५ भन्दा बढी सांस्कृतिक समूहले झाँकी प्रस्तुत गर्ने महोत्सव संयोजक नरेश भट्टराईले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

पोखरा लेकसाइड, कोमागाने पार्कमा हुने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्ने कार्यक्रम छ । २३ वर्षदेखि निरन्तर हुँदै आएको महोत्सव अघिल्लो वर्षझैं यसवर्ष पनि ३ दिनमा सीमित हुने भएको छ । महोत्सवका अघिल्ला संस्करण ५ दिनको हुने भए पनि कोरोना महामारीका कारण गत वर्षबाट ३ दिनमा झरेको थियो ।

संयोजक भट्टराईले पर्यटनको ‘अफसिजन’मा पनि व्यवसायसँगै अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवको आयोजना गरिएको बताए । ‘कोरोना महामारीले समग्र अर्थतन्त्र नै ठप्प भएको बेला नयाँ भेरियन्ट (ओमिक्रोन) ले फेरि ठप्प बनाउने पो हो कि भन्ने डर सबै जनमानसमा छ । तर, अहिलेलाई पोखरा खुल्लै छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको हो,’ उनले भने ।

रेबानले २ दशकभन्दा अघिदेखि बर्सेनी आयोजना गर्दै आएको सडक महोत्सवले अंग्रेजी नयाँ वर्षमा पोखरालाई पाहुनाको गन्तव्य बनाउने उद्देश्यले सुरु गरिएको अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । ‘यो समय भनेको पर्यटनमा अफसिजन हो । तर, महोत्सवकै लागि भएपनि अहिले पर्यटक नयाँ वर्षमा पोखरा आउने अवस्था सिर्जना हुँदै गएको छ,’ उनले भने ।

‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूल नाराका साथ हुँदै आएको महोत्सव लेकसाइड क्षेत्रको ३ किलोमिटर क्षेत्रमा हुँदै आएको छ । यस वर्षको महोत्सवमा हस्तकला प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना, विभिन्न प्रतियोगितासहित युवा पुस्तामाझ चर्चित र्‍यापर भिटेन, विपुल क्षेत्रीलगायतले प्रस्तुति रहने आयोजकले जनाएको छ ।

अतिसबाजी नहुने

२३ औं संस्करणको सडक महोत्सवमा अंग्रेजी नयाँ वर्ष (२०२२) स्वागतार्थ यस वर्ष पनि अतिसबाजी नहुने आयोजकले जानकारी दिएको छ । ‘विगतमा अतिसबाजी गर्थ्यौं । तर, यसपटक सम्बन्धित निकायसँग समन्वय गर्दा कानुनविपरीत हुन जाने देखिएकाले नगर्ने निर्णय गरेका छौं,’ महोत्सव संयोजक भट्टराईले भने ।

केही वर्षअघि नयाँ वर्षको पहिलो दिन महोत्सवस्थलमा ठूलो संख्यामा अतिसबाजी गर्ने प्रचलन थियो । तर, सम्पदा संरक्षणकर्मी रामबहादुर पौडेलले ३ वर्षअघि महोत्सवमा गरिने अतिसबाजीले जलचर, थलचर प्राणीलाई असर पुर्‍याएको भन्दै अतिसबाजी रोक्न उच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिटमा अदालतले पटाकाजन्य पदार्थ नपड्काउन आदेश दिएको थियो ।

महोत्सवमा आउने अवलोकनकर्तालाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । बिहीबार सुरु हुने महोत्सव अवलोकन गर्न आउनेलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने रेबान अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?