+
+

पाठ्यपुस्तक छपाइका लागि प्रस्ताव पेश गर्न १५ दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १९:१३

१६ पुस, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक प्रकाशक तथा वितरक नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव पेश गर्न १५ दिन म्याद थप गरेको छ ।

कक्षा एकदेखि तीनसम्मका चार रङ्गका पाठ्यपुस्तक तथा पाठ्य सामग्री छपाइ गरी बिक्री वितरण गर्न चाहने मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री वितरण गर्ने प्रयोजनका लागि नवीकरण गर्ने तथा सूचीकरणका लागि प्रस्ताव पेश गर्ने समय थप गरेको हो ।

केन्द्रले मंसिर २२ गते सूचना जारी गर्दै २१ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको थियो । तोकिएको म्यादभित्र पर्याप्त प्रस्ताव पेश नभएकोले १५ दिन म्याद थप गरेको जनाएको छ । इच्छुक प्रकाशक तथा वितरकले पुस १५ देखि १५ दिनभित्र पुनः नवीकरण हुन र नयाँ प्रस्तव पेश गर्न केन्द्रले सूचित गरेको छ ।

पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७६ बमोजिम शैक्षिक सत्र २०७९ का लागि शैक्षिक सत्र २०७८ मा अनुमति पाएका फर्म तथा संस्थालाई नवीकरण गर्न तथा थप सूचीकृत हुन चाहने इच्छुक मुद्रक तथा वितरकलाई प्रस्ताव पेश गर्न सकिने जनाएको छ । केन्द्रका अनुसार इच्छुकले आफ्नो प्रोफाइलसहित केन्द्रबाट तोकिएको ढाँचामा केन्द्रमा आइपुग्ने गरी सिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।

कक्षा १, २ र ३ का मेरो नेपाली, माइ इङ्ग्लिस बुक, मेरो गणित र हाम्रो सेरोफेरो गरी ४ विषयका पाठ्यपुस्तकहरू र समूह ख अन्तर्गत मेरो गणित विषयको अङ्ग्रेजीमा अनूदित पाठ्यपुस्तक, विद्यालय तहका पाठ्यक्रम, पाठ्यक्रम कार्यान्वयन निर्देशिकाहरू, शिक्षक निर्देशिकाहरू, परम्परागत तथा मातृभाषाका पाठ्यपुस्तकहरू तथा सन्दर्भसामग्रीहरू, केन्द्रबाट प्रकाशित अन्य सामग्रीहरू रहेका छन् ।

प्रोफाइलसिहतको प्रस्तावमा संस्थाफर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि (नवीकरणसमेत), आयकर तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित संस्थाबाट छपाइ भई बजारमा मौज्दात रहेका पाठ्यपुस्तकहरूको विवरण, वितरण प्रणाली, भन्डारण व्यवस्था, गोदामको क्षमता तथा वितरण सञ्जाल, छपाइ गर्न चाहेको पुस्तक, छपाइ गरी वितरण गरिने प्रदेशगत जिल्ला र छपाइ गर्ने अनुमानित पुस्तक संख्यासहितको कागजात संलग्न हुनुपर्नेछ ।

त्यसैगरी पाठ्यपुस्तक २१ सेमि र २८ सेमि आकारमा बहुरङ्गमा छपाइ गर्नुपर्ने भएकाले उक्त कार्यका लागि उपयुक्त प्रेसका किसिम र क्षमता, गत आवको आर्थिक कारोबारको विवरण तथा लेखा परीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणको प्रतिलिपि, छपाइ तथा वितरण कार्यमा संलग्न जनशक्तिको विवरण पेश गर्नुपर्ने छ ।

यस्तै मुद्रण तथा वितरणको कार्यतालिका (२०७८ फागुन १ बाट शैक्षिक सत्र शुरु हुने जिल्लामा २०७८ माघ १५ सम्म र २०७९ वैशाखबाट शैक्षिक सत्र शुरू हुने जिल्लामा २०७८ चैत्र १५ गतेसम्म पाठ्यपुस्तक पुर्‍याउने सुनिश्चितता हुनेगरी) र छपाइ गरेका पाठ्यपुस्तक देशभर बिक्री वितरण गर्ने प्रतिबद्धताको सुनिश्चितता गर्ने कागजात संलग्न गर्नु पर्ने सूचनामा उल्लेख छ ।

निजी मुद्रक तथा वितरकबाट पेश हुने प्रोफाइलसहितका प्रस्ताव केन्द्रबाट तोकिएको सिलबन्दी प्रस्तावमा दिइएका मूल्यांकन शर्तका आधारमा हुनुपर्ने र सूचीकृत हुन धरौटीबापत तोकिएको खातामा ५ लाख रुपैयाँ जम्मा भएको हुनुपर्नेछ ।

केन्द्रले सूचनामा तोकिए बमोजिमको गुणस्तर स्पेसिफिकेसन अनुसार पाठ्यपुस्तक छपाइ र वितरण गर्नुपर्ने, केन्द्रले उपलब्ध गराएको मुद्रणीय प्रति अनुरूप छपाइ तथा वितरण गर्नुपर्ने, पाठ्यपुस्तकको प्रकाशकमा केन्द्र रहने एवम् सर्वाधिकारसमेत केन्द्रमा नै निहित रहने तर पाठ्यपुस्तकमा मुद्रकको नाम उल्लेख हुनुपर्ने जनाएको छ ।

निजी मुद्रक तथा वितरकले सरकारले तोकेको मूल्यमा पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने, केन्द्रबाट प्रथम पटक पाठ्यपुस्तकहरूको मुद्रणीयप्रति प्राप्त गर्ने मुद्रक तथा वितरकले सेवा शुल्कबापत प्रतिपुस्तक रु. १० हजार तोकिएको राजस्व खातामा जम्मा गर्नुपर्ने छ । एक पटक सूचीकृत भइसकेका फर्म तथा संस्था नवीकरण भएमा सेवा शुल्कबापत प्रत्येक वर्ष प्रतिपुस्तक रु ५ हजार राजस्व तिर्नुपर्ने छ ।

मुद्रक तथा वितरकले राजस्व बुझाउँदा समूह ‘क’का सबै विषयका लागि अनिवार्य रूपमा र समूह ‘ख’का विषयमध्ये इच्छानुसार राजस्व बुझाइ पीआरसी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?