
१६ पुस, काठमाडौ । कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको छ ।
नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली उद्योगहरूको क्षमता उपयोग ६ प्रतिशतले वृद्धि भएको हो । परिसंघको दोस्रो औद्योगिक अवस्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा उद्योगहरू आफ्नो कूल क्षमताको ७०.५ प्रतिशत उपयोगमा चलिरहेका छन् । जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासमा उद्योगको क्षमता उपयोग ६४.८ प्रतिशत थियो ।
अध्ययनअनुसार उत्पादनमूलक उद्योगहरूको आयमा पनि सुधार भएको छ । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को प्रथम त्रैमासको तुलनामा चालु आर्थिक वर्ष ०७८/०७९ को प्रथम त्रैमासमा उद्योगको आय वृद्धिदर ४१.१५ रहेको अध्ययनले देखाएको छ ।
अहिले पनि ६१.८ प्रतिशत उद्योगले ऊर्जाका लागि जेनेरेटर सञ्चालन गर्ने गरेको अध्ययनले देखाएको छ । यसले उद्योगको लागत मासिक ५ प्रतिशतले बढाएको पनि अध्ययनले देखाएको छ । अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औसत ८.७ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औसत ७.७ प्रतिशत, उत्पादनमूलक उद्योगले औसत ८.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसत ८.२ प्रतिशत ब्याज तिरेका छन् ।
त्यस्तै, उत्पादनमूलक उद्योगहरूले आफ्नो चालू पुँजीको ५४.१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी भएकामध्ये ६१.७ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् ।
प्रतिक्रिया 4