+
+
Shares

उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

सुरेश राय सुरेश राय
२०८३ कात्तिक २१ गते १५:१७

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजार र मिर्चैया नगरपालिकाको सिमानामा रहेको शारदा डिस्टिलरी प्रालिले उद्योगबाट निस्कने प्रदूषित पानी घुर्मी खोलामा बगाउँदा स्थानीयवासी समस्यामा परेका छन् ।

डस्टिलरीको फोहोर पानी खोलामा मिसिँदा मिर्चैया र कल्याणपुर नगरपालिकाका करिब १५ वटा गाउँका ८ देखि १० हजार नागरिक प्रभावित भएको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार डिस्टिलरीको प्रदूषित पानीले पिपरा, रतनपुर, मथिलेश्वर, सोनी, गधावा, सिमरटोकी, रुदलपुर, पिलुवाहा, डोकहा, कल्याणपुर, कोरुनियाही, पर्साही, चतरी, सञ्चिरैयालगायत गाउँका बासिन्दालाई प्रत्यक्ष असर पुर्‍याएको छ ।

केही वर्षअघिसम्म घुर्मी खोलाको पानी स्थानीयका लागि दैनिक जीवनको महत्त्वपूर्ण स्रोत थियो ।

स्थानीयले यही खोलाको पानी खेतीपाती, नुहाउन, लुगा तथा भाँडा धुन, पशुचौपायालाई खुवाउन र भोजभतेरमा समेत प्रयोग गर्दै आएका थिए ।

तर, पछिल्लो ५–६ वर्षदेखि डिस्टिलरीको प्रदूषित पानी खोलामा मिसिन थालेपछि पानी प्रयोग गर्नै नसकिने अवस्था आएको उनीहरूको भनाइ छ । मिर्चैया नगरपालिका–११ का ५५ वर्षीय रामऔतार यादवले आफूले बाल्यकालदेखि प्रयोग गर्दै आएको खोलाको पानी अहिले दुर्गन्धित बनेको बताए ।

उनका अनुसार गाउँमा खानेपानी र बोरिङको सुविधा विस्तार भएपछि खोलामा निर्भरता केही कम भए पनि खेतीपाती, पशुचौपाया र सरसफाइका लागि खोला प्रयोग हुँदै आएको थियो । अहिले प्रदूषणका कारण ती सबै काम बन्द गर्नुपरेको उनको गुनासो छ ।

त्यस्तै, स्थानीय रामकुमारी माझीले पहिले खोलाको पानी निकै सफा रहेको तर पछिल्लो ५–६ वर्षदेखि डिस्टिलरीको पानी मिसिन थालेपछि समस्या बढेको बताइन् । चाडपर्व नजिकिँदै गर्दा खोलाको पानी प्रयोग गर्न नसकिएकोमा उनले चिन्ता व्यक्त गरिन् ।

‘पहिले पशुचौपायालाई नुहाउनेदेखि पानी खुवाउनेसम्म यही खोलाको पानी प्रयोग गथ्र्यौँ । चाडपर्वमा पनि खोलाकै पानीबाट विभिन्न काम हुन्थे । अहिले यस्तो फोहोर पानी भएपछि कसरी प्रयोग गर्ने भन्ने चिन्ता छ,’ उनको गुनासो छ ।

स्थानीय प्रमोदकुमार यादवका अनुसार डिस्टिलरीबाट निस्कने पानी खोलामा बग्दा घुर्मी बजारदेखि कल्याणपुर र मिर्चैया नगरपालिकाका विभिन्न गाउँका नागरिक प्रभावित भएका छन् ।

खोलामा प्रदूषित पानी बगेपछि दुर्गन्ध फैलिने र हावा चल्दा आसपासका बासिन्दालाई सास फेर्नसमेत कठिन हुने गरेको उनले दाबी गरे ।

उक्त पानी पशुचौपायाले पिउँदा, मानिसले नुहाउँदा तथा खेतीपातीमा प्रयोग गर्दा स्वास्थ्य र वातावरणमा असर परिरहेकोप्रति उनने चिन्ता व्यक्त गरे ।

स्थानीय बिन्देश्वर यादवले समस्या समाधानका लागि पटक–पटक वडा अध्यक्ष, नगर प्रमुख तथा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे । अब स्थानीयवासीले लिखित निवेदनमार्फत नगरपालिकादेखि जिल्ला प्रशासन हुँदै सम्बन्धित मन्त्रालयसम्म समस्या पुर्‍याउने तयारी गरेको उनले बताए ।

यता, शारदा डिस्टिलरी प्रालिका म्यानेजर लोकबहादुर बस्नेतले उद्योगबाट निस्कने पानीको व्यवस्थापन गरिएको दाबी गरेका छन् । उद्योगको उद्देश्य चाडपर्व वा गाउँबस्तीमा प्रदूषण फैलाउने नरहेको बताउँदै उनले कहिलेकाहीँ संयोगवश लिकेज भएर पानी खोलामा बगेको हुन सक्ने स्वीकार गरे ।

त्यस्तो अवस्था देखिएमा तत्काल नियन्त्रण गर्ने प्रयास गरिने उनको भनाइ छ ।

मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले स्थानीयको गुनासोपछि आफूले पटक–पटक उधोगलाइ समस्या समाधान गर्न आग्रह गरेको बताए । तर, उद्योगले नगरपालिकाको आग्रहलाई समेत बेवास्ता गर्दै आएको उनको भनाइ छ ।
नगर प्रमुख यादवले अब आफैँ स्थलगत अनुगमन गरी स्थानीयको गुनासोबारे बुझ्ने र आवश्यकताअनुसार नगरपालिकाको तर्फबाट कानुनी कारबाही प्रक्रिया अघि बढाउने बताए ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?