१३ असोज, बुटवल । बुटवल–११, सांग्रिलापथमा सञ्चालित बुटवल रारा मसला उद्योगको उत्पादन बन्द गराउने दबाबप्रति बुटवल उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
लामो समयदेखि स्वदेशमै मसलाजन्य वस्तु उत्पादन गर्दै आएको उद्योगलाई समस्या समाधानका लागि पर्याप्त अवसर नदिई उत्पादन नै बन्द हुने अवस्था सिर्जना हुनु निजी क्षेत्रका लागि चिन्ताको विषय भएको संघले जनाएको छ ।
संघले उद्योग सञ्चालनका क्रममा देखिएका वातावरणीय तथा अन्य समस्यालाई बेवास्ता गर्न नहुने तर त्यस्ता समस्या समाधानको बाटो उद्योग बन्द गराउनु नभई तथ्यपरक अनुगमन, संवाद, प्राविधिक सुधार र कानुनी प्रक्रियाबाट खोजिनुपर्ने धारणा अघि सारेको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले मंगलबार विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि सम्बन्धित निकाय, स्थानीय बासिन्दा र उद्योगीबीच संवाद हुनुपर्ने बताए ।
‘उद्योग सञ्चालनका क्रममा समस्या देखिन्छ भने त्यसलाई सुधार गर्नुपर्छ । तर सुधारको अवसर नै नदिई उद्योग बन्द हुने अवस्था सिर्जना गर्नु उचित हुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘समस्या समाधानका लागि संवाद, सहकार्य र कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्छ ।’
अध्यक्ष अर्यालले उद्योग र स्थानीय समुदायबीच उत्पन्न समस्यालाई द्वन्द्वको विषय बनाउनुको सट्टा प्राविधिक र व्यवस्थापकीय सुधारमार्फत समाधान खोज्नुपर्ने बताए ।
स्थानीय बासिन्दाको गुनासो पनि सम्बोधन हुनुपर्ने र उद्योगीको लगानी तथा रोजगारी पनि संरक्षण हुनुपर्नेमा संघले जोड दिएको छ । दुवै पक्षको हितलाई ध्यानमा राखेर व्यावहारिक समाधान खोज्न सम्बन्धित निकायले सहजीकरण गर्नुपर्ने संघको माग छ । बुटवल रारा मसला उद्योग २०४६ सालमा तत्कालीन घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीमा दर्ता भई स्वदेशमै मसलाजन्य वस्तु उत्पादन गर्ने उद्देश्यसहित निरन्तर सञ्चालन हुँदै आएको हो ।
स्वदेशी उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना भएको उद्योगले लामो समयदेखि स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको संघको भनाइ छ ।
तर पछिल्लो समय उद्योगबाट धुलो प्रदूषण र कम्पन भएको भन्दै स्थानीय बासिन्दाबाट विरोध तथा उजुरी आएपछि उद्योगको उत्पादन प्रभावित भएको छ । त्यसपछि नियमनकारी निकायबाट समेत उद्योगमाथि एकतर्फी दबाब सिर्जना भएको भन्दै संघले चिन्ता व्यक्त गरेको हो ।
संघले सम्मानित अदालतबाट समेत अर्को आदेश नभएसम्म उद्योग सञ्चालन गर्न अनुमति प्राप्त भइसकेको अवस्थामा उद्योग सञ्चालनमा अवरोध सिर्जना गर्ने, कानुन हातमा लिने वा हुलहुज्जत गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
‘अदालतको आदेशको सम्मान गर्दै उद्योग सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न कानुनी बाटो र संवादलाई प्राथमिकता दिनुपर्छ, उद्योगी व्यवसायीको मनोबल कमजोर पार्ने कुनै पनि गतिविधिले निजी क्षेत्रको लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्छ’, संघले भनेको छ ।
बुटवल उपमहानगरपालिकाले उद्योगको स्थलगत अनुगमन गरी धुलो तथा कम्पनको समस्या न्यूनीकरणका लागि आधुनिक प्रविधिका मेसिन प्रयोग गर्न सुझाव दिएको संघले जनाएको छ ।
अध्यक्ष अर्यालले उद्योगले सुधार गर्नुपर्ने विषयमा निजी क्षेत्र पछि नहट्ने स्पष्ट पार्दै नियमनकारी निकायले पनि सुधारका लागि आवश्यक समय र सहजीकरण उपलब्ध गराउनुपर्ने बताए ।
संघले निजी क्षेत्रको लगानीलाई सुरक्षित र उद्यममैत्री वातावरण निर्माण गर्न सरकार तथा नियमनकारी निकायको भूमिका महत्वपूर्ण हुने जनाएको छ ।
‘उद्योगीले कानुन र मापदण्ड पालना गर्नुपर्छ, स्थानीय बासिन्दाको गुनासो पनि सम्बोधन हुनुपर्छ तर समस्या समाधानको नाममा उद्योग नै बन्द हुने अवस्था सिर्जना हुनु हुँदैन’, अध्यक्ष अर्यालले भने,‘सम्बन्धित सबै पक्ष बसेर तथ्य र प्रमाणका आधारमा समाधान खोजौँ । सुधार गर्नुपर्ने विषयमा उद्योगलाई आवश्यक समय दिऔँ र रोजगारी तथा लगानी जोगाउने वातावरण बनाऔँ ।’
संघले आवश्यक सुधार तथा व्यवस्थापनका लागि उद्योगलाई उपयुक्त समय र सहजीकरण प्रदान गर्न तथा निजी क्षेत्रको लगानी, उद्यमशीलता र रोजगारी संरक्षण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सरकारी तथा नियमनकारी निकायसँग आग्रह गरेको छ ।
प्रतिक्रिया 4