+
+

सुटुक्क विवाह गरेका पुस्कल शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १२:२०
‘तिम्रो थर मेरो थर’ गीतको भिडियोको दृश्यमा पुस्कल र उनकी श्रीमती सबी

१९ पुस, काठमाडौं । गायक पुस्कल शर्मा वैवाहिक जीवनमा बाँधिएका छन् । पाल्पाका पुस्कलले रुपन्देहीको देवदह नगरपालिकाको शीतलनगर निवासी सबी क्षेत्रीसँग विवाह गरेका हुन् । यद्यपि, उनको विवाह हालसालै भएको भने होइन । एक वर्षअघि आफू वैवाहिक जीवनमा बाँधिएको पुस्कलले बताए ।

विवाहको जिज्ञासामा पुस्कलले संक्षिप्तमा भने, ‘हो, मैले गत वर्ष विवाह गरेको हुँ । त्यो समयको माहोल त्यस्तै थियो, कोरोना अनि लकडाउनको समय थियो । त्यसैले कसैलाई जानकारी नदिई सामान्य हिसाबले विवाह गरेका थियौं । त्यसयता पनि जानकारी दिने माहोल बनिरहेको थिएन ।’

लोकदोहोरी क्षेत्रमा समेत उनको विवाहको जानकारी धेरैलाई छैन । केही दिनअघि पुस्कलले बुटवलमा जारी ‘चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला’मा प्रस्तुति दिएका थिए । जहाँ स्टेजमा आफ्नो नयाँ गीत ‘तिम्रो थर मेरो थर’ गाउँदै गर्दा आफ्नी श्रीमतीबारे पनि जानकारी दिएका थिए ।

पुस्कलले गत शुक्रबार आफ्नो नयाँ गीत ‘तिम्रो थर मेरो थर’ सार्वजनिक गरेका छन् । युट्युब र टिकटकमा राम्रो चर्चा पाइरहेको यो गीतको भिडियोमा पुस्कल आफ्नी श्रीमतीसँग प्रस्तुत भएका छन् । यसअघि ‘के दिउँ मायालाई चिनो’ गीतको भिडियोमा समेत उनकी श्रीमतीले छोटो भूमिकामा अभिनय गरेकी थिइन् ।

जीवनसंगिनीबारे पुस्कलले भने, ‘उनी खासमा संगीत क्षेत्रकी होइनन् । बीएस्सी एग्रिकल्चर सकाएर मास्टर्स पढ्दै छिन् । वास्तवमा भन्नुभर्दा बिहेअघि उनले मलाई राम्रोसँग चिन्दा पनि चिन्दिनथिन् ।’

पुस्कल लोकदोहोरीमा राम्रो ‘फ्यान फ्लोइङ’ भएका गायक मानिन्छन् । मिडियामा कमै आउने उनको ‘मुटु जलाई जलाई’ सर्वाधिक हिट गीत मानिन्छ । उनी आफ्ना गीतमा प्रायः आफैं अभिनय समेत गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?