News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वभर विवाह दर घट्दै जानु र सन्तान जन्माउने निर्णय व्यक्तिगत छनोटका रूपमा स्थापित हुनुले सामाजिक संरचनामा आएको ठूलो परिवर्तनलाई सङ्केत गरेको छ।
- आधुनिक समाजमा मानिसहरूले सामाजिक दबाबभन्दा आफ्नो स्वभाव, मूल्य र जीवनदृष्टिलाई प्राथमिकता दिँदै विवाह र अभिभावकत्वको निर्णय गर्न थालेका छन्।
- सबै मानिस विवाह वा अभिभावकत्वका लागि उपयुक्त नहुन सक्छन् भन्ने यथार्थलाई स्वीकार्दै जीवनका यस्ता महत्त्वपूर्ण निर्णयहरू सचेत रूपमा गर्नुपर्ने आवश्यकता देखिएको छ।
‘के म वास्तवमै विवाह गर्न र अभिभावक बन्नका लागि बनेको मान्छे हुँ ?’ आधुनिक इतिहासमा ठूलो सङ्ख्यामा मानिसहरूले विवाह र अभिभावकत्वलाई अनिवार्य सामाजिक कर्तव्य नभई व्यक्तिगत छनोटका रूपमा हेर्न थालेका छन्।
उनीहरूका लागि प्रश्न अब ‘विवाह कहिले गर्ने ?’ मात्र होइन, ‘विवाह गर्ने कि नगर्ने ?’ पनि बनेको छ। ‘सन्तान कहिले जन्माउने’ होइन, ‘सन्तान जन्माउने कि नजन्माउने’ भन्ने बनिरहेको छ।
परम्परागत रूपमा जीवनको एउटा लगभग निश्चित खाका थियो- पढाइ, रोजगारी, विवाह, सन्तान र त्यसपछि बुढेसकाल, जुन लगभग सबैको जीवनमा लागु हुने कुरा थियो। ‘विवाह वा अभिभावकत्व रोज्नु वा नरोज्नु’ भन्ने विकल्प धेरैका लागि उपलब्ध नै थिएन। तर आज परिस्थिति फरक छ।
सहरीकरण, शिक्षामा पहुँच, आर्थिक स्वतन्त्रता, प्रविधिको विकास र व्यक्तिवादी सोचको विस्तारसँगै मानिसहरूलाई आफ्नै जीवनको स्वरूप छनोट गर्ने अवसर प्राप्त भएको छ। आज धेरै मानिसहरू केवल ‘समाजले के भन्छ ?’ भनेर होइन, ‘मेरो स्वभाव, मेरो मूल्य र मेरो जीवनदृष्टिसँग के मेल खान्छ ?’ भनेर निर्णय गर्न थालेका छन्, जुन हामीले सहजै देख्न र महसुस गर्न सक्छौँ। यी सबै हेर्दा हाम्रो सांस्कृतिक र परम्परागत अपेक्षाभन्दा समाज द्रुत गतिमा परिवर्तन भइरहेको भान हुन्छ।
विश्वव्यापी जनसाङ्ख्यिकीय परिवर्तन
विश्वभर विवाहको उमेर बढिरहेको छ, विवाह दर घटिरहेको छ र जन्मदर ऐतिहासिक रूपमा घट्दो क्रममा छ। १९९० को दशकको सुरुवातमा ‘ओईसीडी’ देशहरूमा महिलाको पहिलो विवाहको औसत उमेर करिब २५ वर्ष र पुरुषको २८ वर्ष थियो। २०२१ सम्म आइपुग्दा यो क्रमशः ३२ र ३४ वर्ष नजिक पुगेको छ।
विश्वव्यापी रूपमा पनि यही प्रवृत्ति देखिन्छ। १९५० मा विश्वको औसत प्रजनन दर प्रतिमहिला लगभग ५ सन्तान थियो। २०२१ सम्म यो घटेर २.२ मा झरेको छ र यो शताब्दीको अन्त्यसम्म अधिकांश देशहरू प्रतिस्थापन स्तर (२.१) भन्दा तल पुग्ने अनुमान गरिएको छ।
नेपाल पनि यसबाट अलग छैन। केही दशकअघि सामान्य मानिने ठूला परिवारहरू क्रमशः साना हुँदै गएका छन्। विवाह ढिलो हुने, सन्तान सङ्ख्या कम हुने र कहिलेकाहीँ सन्तान नजन्माउने निर्णयसमेत सामाजिक रूपमा देखिन थालेका छन्। यदि विवाह र अभिभावकत्व पूर्ण रूपमा जैविक र सार्वभौमिक आवश्यकता मात्र हुन्थ्यो भने विश्वव्यापी रूपमा यस्ता परिवर्तनहरू किन देखिँदै छन् ?
मानिसहरूको स्वभाव र व्यक्तित्व
उदाहरणका लागि सबै मानिस चिकित्सक या पाइलट बन्नका लागि उपयुक्त हुँदैनन् भन्ने हामी सहजै स्वीकार गर्छौं। सबै मानिस कलाकार, सैनिक, व्यवसायी वा वैज्ञानिक बन्न पनि उपयुक्त हुँदैनन्। तर विवाहको विषयमा भने हामी प्रायः एउटै धारणा बोकेर हिँड्छौँ कि सबै मानिस विवाहयोग्य हुन्।
मनोविज्ञानले भने मानिसहरूबिच व्यक्तित्व, भावनात्मक आवश्यकता र सम्बन्धप्रतिको दृष्टिकोणमा ठूलो भिन्नता रहेको देखाउँछ। केही मानिसहरू परिवार, भावनात्मक निकटता र स्थायी सम्बन्धबाट ऊर्जा प्राप्त गर्छन्। उनीहरूका लागि परिवार जीवनको सबैभन्दा ठूलो अर्थ र सन्तुष्टिको स्रोत हुन सक्छ। तर अर्कोतर्फ केही मानिसहरू अत्यधिक स्वतन्त्रताप्रेमी हुन्छन्।
उनीहरूलाई व्यक्तिगत समय, व्यक्तिगत स्थान र व्यक्तिगत स्वतन्त्रताको आवश्यकता अरूको तुलनामा बढी हुन सक्छ। केही व्यक्तिहरू दीर्घकालीन प्रतिबद्ध सम्बन्धमा सहज महसुस गर्दैनन्। केहीलाई अभिभावकत्वसँग जोडिएका जिम्मेवारीहरू आफ्नो स्वभावसँग मेल नखानेजस्तो लाग्न सक्छ। यस्ता स्वभाव हेर्दा सबै मानिसहरू वास्तवमै विवाह र अभिभावकत्वका लागि उपयुक्त नहुन सक्छन् भन्ने तर्क सहजै आउँछ।
स्व-पहिचान
सायद आधुनिक समाजको सबैभन्दा ठूलो परिवर्तन विवाह दर घट्नु होइन। सबैभन्दा ठूलो परिवर्तन सम्भवतः खासगरी युवा पुस्ताले स्व-पहिचान गर्न सक्नु हो। मानिसहरूले आफैँलाई प्रश्न गर्न थालेका छन्- म वास्तवमा कस्तो स्वभावको व्यक्ति हुँ ? मलाई स्वतन्त्रता बढी महत्त्वपूर्ण लाग्छ कि परिवार ? के म अभिभावकत्वका जिम्मेवारीहरू वहन गर्न चाहन्छु ? के परिवार निर्माण मेरो जीवनको उद्देश्यसँग मेल खान्छ ?
पूर्वीय दर्शनदेखि आधुनिक मनोविज्ञानसम्म मानिसले पहिले आफूलाई बुझ्नुपर्छ भन्ने एउटा साझा तर्क देखिन्छ। आफूलाई नचिनी गरिएका जीवनका ठूला निर्णयहरू धेरैपटक बाहिरी अपेक्षाबाट निर्देशित हुन्छन्। आफूलाई चिन्नुको अर्थ विवाह नगर्नु अथवा अभिभावक नबन्नु होइन। कसैका लागि स्वतन्त्र जीवन सही हुन सक्छ भने कसैका लागि परिवार निर्माण नै उसको स्वभाव र उद्देश्यसँग मेल खान सक्छ।
महत्त्वपूर्ण कुरा निर्णय आफ्नो चेतनाबाट आएको हो कि केवल सामाजिक दबाबबाट भन्ने हो। तर वास्तविकता के हो भने हाम्रो शिक्षा प्रणालीले हामीलाई धेरै कुरा सिकाउँछ, तर आफूलाई चिन्ने शिक्षा भने विरलै दिन्छ। हामी गणित, विज्ञान र भाषा सिक्छौँ, तर आफ्नो स्वभाव, भावनात्मक आवश्यकता र जीवनदृष्टि बुझ्ने अभ्यास गर्दैनौँ। सायद अहिलेका केही युवाहरू विवाहबाट भागिरहेका छैनन्, सम्भवतः उनीहरू पहिलोपटक आफूलाई पहिचान गर्न थालेका मात्र हुन्।
सम्बन्धहरूमा लागत-लाभ विश्लेषण
समाजशास्त्रमा सामाजिक विनिमय सिद्धान्त नामको एउटा अवधारणा छ। यस सिद्धान्तअनुसार मानिसहरूले सम्बन्धहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ, लागत, हानि र उपलब्ध विकल्पहरूको मूल्याङ्कन गर्छन्। विवाह पनि यसबाट अलग छैन। विवाहले प्रेम, साथ, भावनात्मक सुरक्षा र सामाजिक समर्थन दिन सक्छ। तर यससँगै समय, जिम्मेवारी, आर्थिक बोझ र व्यक्तिगत स्वतन्त्रताका केही सीमाहरू पनि आउँछन्।
आजको शिक्षित र आर्थिक रूपमा स्वतन्त्र पुस्ताले सम्भवतः यही तराजु पहिलेका पुस्ताभन्दा बढी प्रयोग गरिरहेको छ। यदि कुनै व्यक्तिले सम्बन्धबाट प्राप्त हुने लाभभन्दा व्यक्तिगत स्वतन्त्रतालाई बढी मूल्यवान् ठान्छ भने उसले विवाह नगर्ने निर्णय गर्न सक्छ। यो निर्णय सही हो वा गलत भन्नेभन्दा पहिले त्यो निर्णय उसको स्वभाव र जीवनदृष्टिसँग मेल खान्छ कि खाँदैन भन्ने प्रश्न बढी महत्त्वपूर्ण हुन सक्छ।
लिङ्गका आधारमा स्वभाव निर्धारण
हाम्रो समाजमा अझै पनि सबै महिलाहरू स्वाभाविक रूपमा मातृत्वका लागि बनेका हुन्छन् र सबै पुरुषहरू स्वाभाविक रूपमा पितृत्वका लागि तयार हुन्छन् भन्ने एउटा बलियो सांस्कृतिक मान्यता विद्यमान छ।
विशेषगरी महिलाको पहिचानलाई विवाह, मातृत्व र सन्तान उत्पादन र पालनपोषण गर्ने भूमिकासँग गहिरो रूपमा जोडेर हेरिन्छ। परिणामतः महिलाहरूलाई कहिलेकाहीँ सचेत वा अचेत रूपमा यी भूमिकाहरू स्वीकार गर्न सामाजिक दबाब सिर्जना गरिन्छ।
तर के मातृत्व र पितृत्व वास्तवमै सबैका लागि समान रूपमा उपयुक्त अनुभव हुन् ?
हामी बेला-बेलामा नवजात शिशुको हत्या, बालबालिकाको बेवास्ता, दुर्व्यवहार वा परित्यागका घटनाहरू सुन्छौँ। यस्ता घटनापछि समाजमा प्रायः एउटा प्रतिक्रिया सुनिन्छ- ‘आमा भएर पनि कसरी यस्तो गर्न सकी ?’ वा ‘बुवा भएर पनि कसरी यस्तो गर्न सक्यो ?’
यस्ता प्रश्नहरूको पछाडि आमा वा बुवा बन्नु मात्र पर्याप्त हो र अभिभावकीय गुण स्वतः विकसित हुन्छन् भन्ने एउटा पूर्वधारणा लुकेको हुन्छ। यथार्थ भने सम्भवतः त्यति सरल छैन। हुन त यस्ता घटनाहरूमा प्रसूतिपछिको अवसाद, मानसिक स्वास्थ्य, सम्बन्धको प्रकृति, आर्थिक अवस्था, हिंसा, सामाजिक समर्थनको अभाव वा अनिच्छित गर्भजस्ता धेरै कारकहरू संलग्न हुन सक्छन्। तर आधुनिक मनोविज्ञान र सामाजिक बहसले अर्को प्रश्न पनि उठाउन थालेको छ— के केही मानिसहरू जैविक रूपमा अभिभावक बने पनि मनोवैज्ञानिक, भावनात्मक वा व्यक्तित्वगत रूपमा अभिभावकत्वका लागि उपयुक्त हुन सक्छन् ?
यसको अर्थ उनीहरू खराब मानिस हुन् भन्ने होइन। यसको अर्थ केवल मानिसहरूका स्वभाव, भावनात्मक क्षमता, रुचि र जीवनका प्राथमिकताहरू फरक-फरक हुन्छन् भन्ने पनि हो। जसरी सबै मानिस शिक्षक, सैनिक वा चिकित्सक बन्नका लागि समान रूपमा उपयुक्त हुँदैनन्, त्यसरी नै सबै मानिस अभिभावकत्वका लागि पनि समान रूपमा उपयुक्त नहुन सक्छन्।
यदि समाजले यो सम्भावनालाई स्वीकार गर्न सिक्यो भने सायद हामीले विवाह र सन्तानलाई सामाजिक कर्तव्यका रूपमा मात्र होइन, जिम्मेवार र सचेत व्यक्तिगत निर्णयका रूपमा पनि हेर्न सक्नेछौँ।
तर यसको अर्थ विवाह अप्रासङ्गिक हुँदै गएको छ भन्ने होइन। विवाह र परिवार मानव सभ्यताका सबैभन्दा सफल सामाजिक संस्था हुन्। धेरै मानिसहरूका लागि परिवार जीवनको सबैभन्दा ठूलो अर्थ, खुसी र भावनात्मक सुरक्षाको स्रोत हुन्छ।
सन्तान हुर्काउनु उनीहरूका लागि केवल जिम्मेवारी होइन, जीवनको उद्देश्य र निरन्तरताको अनुभव पनि हुन सक्छ। त्यसैले प्रश्न विवाह राम्रो कि नराम्रो अथवा अभिभावक बन्ने कि नबन्ने भन्ने होइन, प्रश्न केवल ‘के सबै मानिसका लागि एउटै जीवन मोडेल उपयुक्त हुन्छ र ?’ भन्ने हो।
यदि हामी मानिसहरू फरक स्वभाव, फरक क्षमता र फरक चाहना लिएर जन्मिन्छन् भन्ने स्वीकार गर्छौं भने सबै मानिस विवाह र अभिभावकत्वका लागि समान रूपमा उपयुक्त नहुन सक्छन् भन्ने तथ्यलाई पनि स्वीकार गर्न तयार हुनुपर्छ। सायद आधुनिक समाजको सबैभन्दा ठूलो उपलब्धि विवाहको विकल्प उपलब्ध हुनु होइन, बरु सबैभन्दा ठूलो उपलब्धि भनेको मानिसहरूले आफ्नो स्वभावअनुसार जीवन रोज्ने अवसर पाउनु हो।
र सायद आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्न ‘विवाह कहिले गर्ने ?’ होइन, अझ महत्त्वपूर्ण प्रश्न ‘के म वास्तवमै विवाह र अभिभावक बन्नका लागि बनेको मान्छे हुँ ?’ भन्ने हो। र, यसको उत्तर समाज, परिवार, धर्म वा राज्यले होइन, प्रत्येक व्यक्तिले आफैँले खोज्नुपर्ने हुन्छ।
प्रतिक्रिया 4