+
+

वित्तीय शिक्षा सबैका लागि आवश्यक छ : गभर्नर अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १८:४८

२० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता कति छ भनेर नम्बरमा हेरेर नहुने बताएका छन् ।

दिगाे बैंकिङका लागि वित्तीय साक्षरता भन्ने नाराका साथ मंगलबारदेखि शुरु भएको बैंकिङ शिक्षा कार्यक्रममा बाेल्दै गभर्नर अधिकारीले बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्याे संख्या हेरेर नहुने बताएका हुन् ।

वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम भएको, सामग्रीहरु निर्माण भएकाे भए पनि अरु क्षेत्रको विषयमा जस्ताे गुगल र युट्युबमा नपाइने बताए । वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु एउटा चुनाैती भएको भन्दै उनले सञ्चारमाध्यम नै अग्रसर भएर याे अभियान शुरु हुनु खुसीको कुरा भएको बताए ।

कतिपयले डिजिटल काराेबारबारे नबुझेका कारण पनि काराेबार गर्न हिच्किचाउने गरेकाे उनले बताए । ‘कतिपयले क्यूआर त लिएका छन्, तर कसरी काम गर्ने भन्ने विषयमा नबुझ्दा हिच्किचाउनु पर्ने अवस्था छ,’ गभर्नर अधिकारीले भने, ‘अब बैंकिङ पहुँचमा आएकालाई बुझाउनु पर्ने बुझाउनुपर्ने र बैंकिङमा आउन बाँकीलाई ल्याउनुपर्नेछ ।’

राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले वित्तीय चेतना नहुँदा ऋण तिर्न ऋण लिनुपर्ने बाध्यता रहेको बताइन् । पैसाकाे सदुपयोग गर्न नजान्दा समस्या हुने गरेको भन्दै पैसाकाे सही परिचालनको लागि पनि वित्तीय चेतना आवश्यक रहेकाे बताइन् ।

बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बैंकिङ शिक्षा कार्यक्रमले सहरमा मात्रै नभएर गाउँ गाउँमा समेत बैंकिङबारे बुझाउन भूमिका खेल्ने बताए । वित्तीय साक्षरताका विषयमा राष्ट्र बैंक आफैले र बैंकर्स संघले समेत कार्यक्रमहरु गर्ने गरेको भन्दै याे अभियान अझ उपयोगी हुने बताए । यस्ताे कार्यक्रम सबैका लागि आवश्यक रहेको भन्दै उनले आफूहरु पनि सहकार्य गर्न तयार रहेको बताए ।

डेभलपमेन्ट बैंकर्स एसाेसिएसनका अध्यक्ष प्रद्युमन पाेखरेलले वित्तीय साक्षरताले साेचमा नै परिवर्तन ल्याउने बताए । अहिले साेचमा नै परिवर्तन आवश्यक रहेको भन्दै बैंकिङ साक्षरता धेरै आवश्यक रहेको बताए । अध्यक्ष पाेखरेलले निरक्षर व्यक्तिलाई मात्रै वित्तीय शिक्षाकाे कमी नरहेको बताए । पढेलेखेकै व्यक्तिलाई बैंकिङ शिक्षाबारे बुझाउनु पर्ने उनलेे बताए ।

स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष सुमन पाेखरेलले वित्तीय साक्षरतालाई प्रविधिसँग जाेडेर लैजानुपर्ने बताए ।

रेमिटर्स एसाेसिएसनका अध्यक्ष चन्द्र टण्डनले विदेशबाट आएको रेमिटान्समात्रै समेत सही सदुपयोग हुन नसकेको बताए । रेमिट्यान्स पठाउनेले पाउने सुविधाका विषयमा समेत धेरैलाई जानकारी नहुने भन्दै बैंकिङ शिक्षा कार्यक्रमले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सराेजकाजी तुलाधरले विद्यालय तहबाटै वित्तीय साक्षरताकाे पढाइ शुरु हुनुपर्ने बताए । यस अघि नै याे विषय उठान भए पनि अहिले अलपत्र रहेको बताए ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तमा करिब ५४ लाख ग्राहक संख्या पुगेको र यसमा अधिकांश महिला सदस्यहरू रहेकाे भन्दै वित्तीय साक्षरता कतिपय अवस्थामा वहाँहरुमा पनि कमि भएको भन्दै बैंकिङ शिक्षा कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

सञ्चारमाध्यमकै अग्रसरतामा यस्तो कार्यक्रम सञ्चालन हुनु सबैका लागि खुसीको विषय भएको बताए । वित्तीय अनियमितता पनि याे अभियानले घटाउनेमा आफू विस्वस्त रहेको भन्दै आवश्यक सहयाेग र सहकार्यका लागि आफू तयार रहेको बताए ।

बैंकर मनाेज ज्ञवालीले पैसाको सही परिचालन गर्न नसक्दा समस्या हुने गरेको बताए । समृद्धि भनेकाे कुरा किताबमा लेखेर वा भाषण गरेर नहुने भन्दै समृद्धिका लागि बैंकिङ शिक्षा चाहिने बताउछन् ।

ऋणको सही सदुपयोग नहुँदा समेत समस्या हुने गरेको भन्दै उनले उद्योगी व्यापारीलाई पनि वित्तीय साक्षरताकाे ज्ञान हुनुपर्ने बताए । भएको पुँजीलाई उत्पादनमा लगाउनुपर्छ भन्ने विषयमा विद्यार्थीलाई समेत बुझाउनुपर्ने उनले बताए ।

सञ्चारविद चेतन अधिकारीले वित्तीय साक्षरतालाई प्रविधिसँग जाेड्नुपर्ने उनले बताए । राष्ट्र बैंककै तथ्यांकले करिब ३३ प्रतिशत नागरिक वित्तीय पहुँचमा नपुगेको भन्दै उनीहरूलाई पनि वित्तीय पहुँचमम ल्याउनु पर्ने राष्ट्र बैंक र सबै बैंकहरुकाे जिम्मेवारी भएको बताए ।

हिमालय टिभी एचडीका कार्यकारी निर्देशक श्याम कँडेलले यस कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समेत लिएको उनले बताए ।

अनलाइनखबर डटकमका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले आजको डिजिटल ट्रान्सफर्मेसनको युगमा वित्तिय ज्ञान अत्यन्तै आवश्यक रहेको बताए । उनले यस कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा नै अगाडी बढाउने र यसले हरेक नागरिकमा वित्तिय ज्ञान र सचेतनाको विकास गर्ने विश्वास लिएको बताए ।

बैंकिङ शिक्षा कार्यक्रम अन्तर्गत साताकाे एक दिन वित्तीय साक्षरता सम्बन्धि गतिविधि समेटिएको टेलिभिजन कार्यक्रम, टेलिफिल्म, वित्तीय साक्षरता ज्ञान शृङ्खला, विज्ञसँग वित्तीय बहस जस्ता कार्यक्रम चलाइने कार्यक्रम संयाेजक राजु ढुंगेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?