+
+

कोरोना फैलाउने माध्यम बने राजनीतिक सभा सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते १९:५८

२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई काेरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

दुवै नेताले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । स्वास्थ्यमा केही समस्या देखिएपछि प्रचण्डले शुक्रबार बेलुकी कोरोना परीक्षण गरेको निजी सचिवालयले जनाएको छ । प्रचण्डको निजी सचिवालयमा कार्यरत केहीलाई पनि कोरोना संक्रमण भएको छ ।

अर्का नेता श्रेष्ठका अनुसार असहज महसूस भएपछि उनी बिहीबार पाँचदलीय समन्वय समितिको बैठकमा गएका थिएनन् । टाउको र जीउ दुख्नुका साथै रुघा लाग्ने लक्षण देखिएपछि शुक्रबार परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए ।

माओवादी केन्द्रले पुस १० देखि १८ गतेसम्म आठौं राष्ट्रिय महाधिवेशन गरेको थियो । देशभरबाट जम्मा भएका करीब १७०० नेता कार्यकर्ता ८ दिनसम्म एउटै हलमा भेला भएर छलफल गरेका थिए । त्यसक्रममा नै कतिपय नेता कार्यकर्तालाई ज्वरो आउने, रुघा लाग्ने जस्ता समस्या देखिएको थियो ।

त्यसका बाबजूद माओवादी केन्द्रले १९ गते केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राख्यो । त्यसपछि पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बधाई लिने भेटघाटमा व्यस्त रहे । बिहीबार पनि उनी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा सहभागी भएका थिए ।

त्यही दिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा ८ जना कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि भयो । शनिबार संक्रमितहरुको सूचीमा अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ पनि थपिएका छन् ।

माओवादीका एक नेता भन्छन्, ‘हाम्रो भेटघाटहरु कोरोना बम जस्तै भए । अरु थुप्रैलाई संक्रमण भएको हुनसक्छ ।’ भेटघाटका क्रममा मास्क लगाएकाहरुले समेत बधाई दिने क्रममा हात मिलाउने र तस्वीर खिच्ने नाममा मास्क खोस्ने गरेको उनले सुनाए ।

जिल्ला–जिल्लामा एमालेको अधिवेशन र सभा

माओवादी केन्द्रको महाधिवेशन सकिंदा नसकिंदै नेकपा एमालेको जिल्ला अधिवेशनको चटारो शुरु भएको थियो ।

शुक्रबार ६३ जिल्लामा उद्घाटन सभाहरु भए । काठमाडौंको मूलपानी र काभ्रेको धुलिखेलमा भएको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सम्बोधन गरेका थिए । शनिबार कतिपय जिल्लामा सहमतिका आधारमा नेतृत्व चयन भएका छन् भने कतै उम्मेदवारी दर्ता लगायतका कार्यक्रम भइरहेको छ ।

मंसीरमा महाधिवेशन गरेको नेपाली कांग्रेसका नेताहरु अहिले पनि जिल्ला जिल्लामा जाने र सभाहरु गर्ने गरेका छन् । कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लामा २७ पुसमा अधिवेशन राखेको थियो, जुन राष्ट्रियसभा निर्वाचनका कारण १५ माघमा सरेको छ ।

जनस्वास्थ्य विज्ञहरु भने ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको प्रष्ट भइसक्दा पनि राजनीतिक दलहरुले भेला, आमसभाहरु गर्दा संक्रमण थप फैलिने बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार राजनीतिक दललाई बैठकहरु नै नगर्नुस् भन्न सकिन्न । तर ‘न्यू नर्मल एप्रोच’अनुसार चल्ने, भौतिक रुपमा बैठकहरु गर्दा पनि सकेसम्म कम मानिस सहभागी हुने, उनीहरुबीच सामाजिक दूरी पालना गर्ने, मास्क लगाउने जस्ता मापदण्डहरु पालना गर्नुपर्ने उनी बताउँछन् ।

‘उहाँहरुलाई त्यसो गर्नुभयो भने यस्तो गर्नुपर्ने रहेछ है अरुले पछ्याउँथे । किनकि उहाँहरुलाई रोल मोडल मान्ने र अनुसरण गर्नेहरु धेरै हुन्छन्’ डा. पुन भन्छन्, ‘त्यही कारण मैले पटक–पटक यसमा जोड दिएको हुँ । त्यसलाई बेवास्ता नगरिदिएको भए हुन्थ्यो । तर एकाधबाहेक धेरैले बेवास्ता गरेको देख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?