+
+

अनमोल स्मृति बास्केटबलको उपाधि टाइम्सलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते ९:५८

२४ पुस, काठमाडौं । प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०-६७ ले पराजित गर्‍यो ।

राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स टोलीको जितमा मनिष केसीले २० अंक योगदान गरे । मनिष नै प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसवापत उनले १० हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा फाइनलका ‘म्यान अफ द म्याच’ रोयलका निकेश मगरले १६ अंक जोडे ।

टाइम्सका लागि राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधानको १२ अंक र विजय बुर्जाको १६ अंक पनि जितका लागि महत्वपूर्ण रह्यो ।

तीन क्वाटरमा पछि परेको स्थितिलाई उल्ट्याउदै टाइम्स उपाधि चुम्न सफल भयो । टाइम्स पहिलोमा १४-१६, दोस्रोमा १८-२१ र चौथोमा १२-१६ ले पछि परेको थियो । तेस्रो क्वाटरमा २६–१४ को अग्रता लिंदै टाइम्सले उपाधि सुनिश्चित गर्‍यो । उपाधिसँगै टाइम्सले १ लाख नगद पुरस्कार पायो । रोयलले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

टाइम्सले समूह चरणका खेलमा कीर्तिपुर, बीएमके र गोल्डेनगेट तथा सेमिफाइनलमा गोड्सलाई हराएको  थियो । गोड्स, स्कल एकेडेमी र क्याम्पियनलाई लिगमा पन्छाएको रोयलले सेमिफाइनलमा गोल्डेनगेटलाई पाखा लगाएको थियो ।

विजेतालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, बीएमकेका अध्यक्ष हरि अधिकारी, शिव सेना नेपाल, ललितपुरका अध्यक्ष रवीन्द्र अवाले, शिव सेना नेपाल, काठमाडौंका अध्यक्ष मदनकृष्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा बास्केटबलका टेक्निकल कमिसनर दुर्गाबहादुर थापालाई सम्मान गरिएको थियो । नेपाल आर्मीका पुरुष बास्केटबल टोलीका कप्तान रविन खत्री पनि १० हजार नगदसहित सम्मानित भए ।

पुस १८ गतेदेखि सुरु प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?