+
+

राष्ट्रिय फुटसल लिगको विजेताले अझै पाएनन् पुरस्कार

अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभागले पोखरामा असोज पहिलो हप्ता राष्ट्रियस्तरको लिग आयोजना गर्‍यो । पहिलोपटक आयोजना गरिएको लिगमा देशभरिका विभिन्न १० टिम सहभागी थिए । राउन्ड रोबिन आधारमा खेलाइएको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै पोखराकै स्पोर्टस् क्यासलले उपाधि बाजी मार्‍यो ।

विकास रोकामगर विकास रोकामगर
२०७८ पुष २६ गते १९:३९

२६ पुस, पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभागले पोखरामा असोज पहिलो हप्ता राष्ट्रियस्तरको लिग आयोजना गर्‍यो । पहिलोपटक आयोजना गरिएको लिगमा देशभरिका विभिन्न १० टिम सहभागी थिए ।

राउन्ड रोबिन आधारमा खेलाइएको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै पोखराकै स्पोर्टस् क्यासलले उपाधि बाजी मार्‍यो । प्रतियोगितामा काठमाडौंको शंखमुल फुटसल उपविजेता बनेको थियो । तर, असोज २ देखि २२ गतेसम्म पोखरा रंगशालाको कभर्डहलमा भएको उक्त प्रतियोगिताका विजेताले भने अहिलेसम्म पुरस्कार नपाएको गुनासो गरेका छन् ।

खेल भएको करिब ३ महिना बित्न लाग्दासमेत प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउन सकेका छैनन् । त्यसबाहेक पनि एन्फाले सहभागी टिमलाई प्रतियोगिता तयारीका लागि दिने भनेको एक लाख रुपैयाँसमेत उधारै रहेको सहभागी टिमले गुनासो गरेका छन् ।

विजेता, उपविजेताले मात्रै नभई प्रतियोगितामा खटिएका कुनै पनि आधिकारिक टोलीले समेत ४ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाएका छैनन् । प्रतियोगितामा ४ जना मुख्य रेफ्रीसहित १-१ जना सहायक रेफ्री, म्याच कमिस्नर र जनरल कोर्डिनेटर गरी ७ जना अफिसियल टोली खटिएका थिए ।

आफूहरुले पाउनुपर्ने पुरस्कारवापतको रकम नपाएपछि विजेता टिम स्पोर्टस् क्यासल पत्रकार सम्मेलन गरेरै अघि बढ्ने योजनामा थियो । तर, एन्फाले भने विभिन्न बहाना गर्दै टारिरहेको क्यासलका एक पदाधिकारीले सुनाए ।

‘एन्फाले दिन्छौं दिन्छौं भनेर भनिरहेको छ । डमी चेकको भरमा पुरस्कार रकम पर्खिराखेका छौं । एन्फाले दिने भनेको अरु खर्चसमेत पाएका छैनौं,’ ती पदाधिकारीले भने ।

क्यासलका सञ्चालक ईश्वर गुरुङले पुस महिनासम्म कुर्न एन्फाले समय दिएको जानकारी दिएका छन् । उनले समयमै पुरस्कार राशी नपाए पत्रकार सम्मेलन गरेरै अघि जाने तयारी गरेकोमा एन्फाले पुस मसान्तसम्म पर्खिन भनेको सुनाए ।

‘नदिए पत्रकार सम्मेलन गरेरै अघि बढ्छौं भनेपछि यो महिनासम्म हेर्छौं भनेको छ,’ उनले भने, ‘हेरौं के हुन्छ ?’

रिपोर्ट तयार पार्न ढिलो भो : एन्फा

विजेता टिमसहित प्रतियोगितामा खटिएका अन्य आधिकारिकलाई पुरस्कार राशी र पारिश्रमिक दिन अहिले पनि एन्फाले विभिन्न बहाना गर्दै आइरहेको छ । प्रतियोगिताको रिपोर्ट बुझाउन ढिलो हुँदा पुरस्कारसहित पारिश्रमिक रकम वितरण गर्न पनि ढिलाइ भएको एन्फाको प्रष्टिकरण छ ।

एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङ चाँडै तोकिएको रकम र अन्य खर्च वितरण गर्ने तयारी रहेको जानकारी दिए । उनले प्रतियोगिताको रिपोर्ट बुझाउन ढिलो भएकोसमेत सुनाए ।

‘पहिले रिपोर्ट बुझाउनै ढिलो भयो । पछि नेसनल टिमको क्लोज क्याम्प तयारी गर्नुपर्‍यो,’ गुरुङले अनलाइनखबरसँग भने, ‘यति नै दिनमा भन्न सक्दैनौं । तर, अब उहाँहरुले चाँडै पाउनुहुन्छ ।’

गुरुङ आफू सोही प्रक्रिया पूरा गर्नकै लागि काठमाडौं पुगेको बताएका छन् । ‘छिटै काम सक्ने भनेको बीचमा एन्फाको कार्यसमितिको २ दिन बैठक बसेर ढिलो भयो । अब ढिलो हुँदैन,’ उनले भने, ‘अब उहाँहरुलाई पैसा दिलाएरमात्रै फर्किन्छु ।’

यसअघि एन्फा कास्कीले आयोजना गरेको मनकामना केबुलकार पोखरा कपको समेत पुरस्कार राशी लामो समयसम्म विजेता टिमले पाएका थिएनन् । लामो समयसम्म पुरस्कार राशी, बन्दोबस्त खर्च लगायत रकम नतिरेपछि एन्फा कास्की विवादमा आएको थियो ।

एन्फा फुटसल विभाग अहिले अप्रिल एकदेखि १५ गतेसम्म कीर्गिस्तानमा हुने एसिएन कपका लागि बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणमा पहिलो चरणमा देशभरिका ३२ खेलाडी सहभागी छन् ।

नेपाली राष्ट्रिय फुटसल टिमको उक्त बन्द प्रशिक्षणमा पोखराका ७ जना खेलाडीसमेत सहभागी छन् । प्रारम्भिक टिममा पोखराबाट विश्वास पौडेल, पिभोटखिम गुरुङ, किशोर गुरुङ र अविनाश तामाङ, सुमित श्रेष्ठ, रोशन छन्त्याल र मनोज गुरुङ छनोट भएको एन्फा फुटसल विभागले जानकारी दिएको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?