
२७ पुस, काठमाडौं । भारतको दिल्ली सरकारले निजी कार्यालय बन्द गरी घरबाटै काम गर्न आदेश दिएको छ । दिल्लीको विपद व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले मंगलबार एक आदेश जारी गर्दै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक सबै निजी कार्यालय बन्द गर्न भनेको हो ।
दिल्लीका उप राज्यपाल अनिल बैजलको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरणको बैठकमा निजी कार्यालय बन्द गर्ने निर्णय भएको भारतीय समाचार माध्यमले जनाएका छन् । मंगलबार बसेको प्राधिकरणको बैठकमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसहित अन्य अधिकारी उपस्थित रहेको समाचारमा उल्लेख छ ।
‘डीडीएमएको बैठकमा दिल्लीमा कोभिडको अवस्थाबारे समीक्षा भएको छ र पछिल्ला केही दिनदेखि कोभिड-१९ का संक्रमित (ओमिक्रोनका संक्रमित समेत) तीव्र रुपले बढेको तथा पोजिटिभिटी रेट २३ प्रतिशतभन्दा माथि पुगेको देखिन्छ’, आदेशमा भनिएको छ, ‘यही कारण निकै संक्रामक मानिएको ओमिक्रोन भेरियन्टसहित कोभिड-१९ नियन्त्रण गर्न थप प्रतिबन्ध लगाउन आवश्यक छ ।’
पछिल्लो आदेशसँगै ५० प्रतिशत कर्मचारी मात्रै उपस्थित भई सञ्चालन गर्न भनिएका निजी कार्यालय बुधबारदेखि बन्द हुने भएका छन् । तर बैंक, बिमा कम्पनी, औषधि कम्पनी, कुरियर सर्भिस र ल फर्मजस्ता अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय भने खुला रहने छन् ।
पछिल्लो समय कोभिड-१९ का संक्रमितको संख्या २० हजार पुगेपछि दिल्लीले नयाँ प्रतिबन्धात्मक नियम लागू गर्न थालेको छ । सोही क्रममा सोमबारदेखि दिल्लीका रेष्टुरेन्ट र बार बन्द गरिएको छ ।
दिल्लीमा आइतबार २२ हजार ७५१ जना नयाँ कोभिड संक्रमित थपिएका थिए । सोमबार समेत झण्डै २० हजार नयाँ संक्रमित थपिएपछि थप कडाइ गर्न थालिएको हो ।
प्रतिक्रिया 4