+
+

प्रदेश १ का मुख्यमन्त्रीसँग ५ आना जग्गा, ३ मन्त्रीसँग जग्गैजग्गा

यादवको काठमाडौँमा घर, कार्कीको ११ वटा घडेरी, आङ्बो ऋणमा

हरि अधिकारी हरि अधिकारी
२०७८ पुष २९ गते २१:४१

२९ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका छन् । उनीहरुले पेश गरेको सम्पत्ति विवरण अनुसार सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्री राजेन्द्र राईको देखिएको छ ।

मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त गरेको पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन् । त्यस्तै श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार र आफ्नो नाममा दुई वटा बैंकको खातामा १९ लाख रुपैयाँ रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।

राईले दुवै बैंकको रकम तलब भत्ताबाट आम्दानी भएको र श्रीमतीको खातामा भएको रकमको स्रोत स्कुलको स्वामित्व बिक्री र माइती पक्षबाट पाएको उल्लेख गरेका छन् । मुख्यमन्त्री राईसँग १० तोला सुन र एउटा मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

कार्कीको घडेरी बजारभरि

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको भने मोरङका विभिन्न ठाउँमा ११ वटा घडेरी देखिएको छ ।

बुढीगंगा गाउँपालिका– २ स्थायी घर भएका कार्कीले विराटनगरको मुख्य बजारको सात ठाउँमा जग्गा जोडेका छन् । तर ती घडेरी उनको नभई पत्नी शान्तादेवी बस्नेतको नाममा छ ।

विराटनगर महानगरपालिका– ७ को मुख्य बजार क्षेत्रमा ६ वटा घडेरी र विराटनगर– ९ बखरीमा एक विघा २ कट्ठा दुई धुर जग्गा मन्त्री कार्कीकी पत्नी बस्नेतको नाममा छ ।
बुढीगंगा गाउँपालिका– २ मा घर भएको जग्गाबाहेक ८ धुर, ११ धुर गरी दुई कित्ता र बुढीगंगा गाउँपालिका–८ मा तीन कट्ठा जग्गा छ ।

कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् भने उनकी पत्नी कृषि विकास बैंकको जागिरे हुन् ।

बुढीगंगाको घर जग्गालाई पैत्रिक रहेको विवरण पेस गरेका कार्कीले बुढीगंगाको घडेरी जागिर, बोनस र ऋण गरेर किनेको उल्लेख गरेका छन् । विराटनगरको सात ठाउँको जग्गा भने घडेरी र जमिन बिक्रीबाट खरीद गरेको उल्लेख गरेका छन् ।

उनको सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदीका साथै परिवारका सदस्यको ३६ वटा कम्पनीमा शेयर रहेको पनि उल्लेख छ ।

कार्कीको बैंकमा वचत एक लाख रुपैयाँ छ भने श्रीमतीको कृषि बिकास बैंकमा रहेको खातामा २३ लाख ८ हजार र एभरेष्ट बैंकमा ८२ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । छोरा शाकेतबाबु कार्कीको नाममा १ लाख १२ हजार र शाब्दिकबाबु कार्कीको नाममा ३ लाख ४७ हजार रुपैयाँ छ ।

आङ्बो ऋणमा

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले पसल, जलविद्युत आयोजना र बङ्गुर फर्ममा लगानी गरेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले आफूसँग २ करोड ९० लाख रुपैयाँ ऋण रहेको पनि जनाएका छन् ।

दोस्रो पटक आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बोले गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४२ लाख ऋण बढेको उल्लेख गरेका छन् ।

आङ्बोको श्रीमती कुमारी लावतीको नाममा पालुङ खोला हाइड्रोमा १० प्रतिशत सेयर छ । मिक्लाजुङमा दुई विघा क्षेत्रमा बङ्गुर फर्म चलाएका उनले २५० वटा बङ्गुर र ३० लाख लगानीमा फेन्सी कपडा पसल खोलेको विवरण भरेका छन् ।

आङ्बोको दाजुको नाममा फिदिममा १० रोपनी, झापामा श्रीमती कुमारी लावतीको नाममा चार कट्ठा जग्गा र घर रहेको उल्लेख गरेका छन् ।

फिदिममा बुबा नरेन्द्रप्रसाद आङ्बोको नाममा ५० रोपनी रहेको विवरण पेश गरेका मन्त्री आङ्बोसँग १० तोला सुन र २० तोला चाँदी पनि छ ।

आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकमा २ करोड ३५ लाख र एनएमबी बैंकमा ५५ लाख ऋण रहेको उल्लेख गरेका छन् । गत आर्थिक वर्ष आङ्बोले पेश गरेको सम्पती विवरणमा २ करोड ४८ लाख ऋण रहेको उल्लेख गरेका थिए ।

मन्त्री कार्कीको साढे ९ विघा जग्गा, ४० लाख बचत

भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले करिब साढे ९ विघा जग्गा रहेको विवरण पेश गरेका छन् । कृषि विकास बैकमा मन्त्री कार्कीको नाममा रहेको खातामा ४० लाख रुपैयाँ बचत छ ।

उनको नाममा उदयपुरको त्रियुगा नगरपालिका– २, ७ र ८ का पाँच स्थानमा गरी ९ विघा ८ कट्ठा जग्गा छ । जग्गाको स्रोत पैतृक सम्पत्ति उल्लेख गरेका कार्कीले बचत रकम तलब भत्ताबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

उनीसँग १० तोला सुन, ३० तोला चाँदी, दुई वटा भैंसी, कुखुराको फर्म र ३ वटा माछा पोखरी पनि छ ।

जयरामको काठमाडौंमा घर

सामाजिक विकास मन्त्री जयराम यादवले काठमाडौँमा घर रहेको विवरण पेश गरेका छन् । काठमाडौंको घरबाहेक मोरङ र काठमाडौंंको ८ स्थानमा जग्गा रहेको उल्लेख गरेका छन् ।

यादवको काठमाडौँ महानगरपालिका–३५ मा घर छ । २०६९ सालमा घर खरिद गरेको विवरण पेस गरेका मन्त्री यादवको विराटनगरमा पैतृक सम्पत्ति र घर छ ।

काठमाडौँको जितपुरमा घडेरी र मोरङको विभिन्न सात स्थानमा जग्गा रहेको विवरण पेस गरेका मन्त्री यादवसँग ५१ तोला सुन र ३ किलोग्राम चाँदी पनि छ ।

यादवको परिवारसँग साढे १६ लाख रुपैयाँ बचत छ । उनले सप्तकोसी पोल्टी फर्ममा २५ लाख शेयर लगानी गरेका छन् । इटहरीको कन्चनजंगा बोडिङ स्कुलमा यादवको २१ लाख लगानी छ । त्यसबाहेक विभिन्न ८ वटा कम्पानीको शेयर किनेका छन् ।

४५ लाख रुपैयाँ ऋण लिएको विवरण पेस गरेका यादवले गाई भैंसी पाडा पाडी, बाच्छाबाच्छी, बाख्रा, घरायसी फर्निचर, इलेक्ट्रोनिक्स सामाग्री र बोट विरुवा पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको नाममा इटहरीमा १२ धुर घडेरी छ । घडेरीको स्रोत श्रीमानले अमेरिकामा गरेको कमाइ उल्लेख गरेकी तुम्बाहाम्फेले १२ तोल सुन र सात लाख रुपैयाँ बचत रहेको विवरण पेश गरेकी छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?