+
+
कोरोना महामारी :

दाङका अस्पतालमा पूर्वाधार पर्याप्त, जनशक्ति अभाव

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ माघ २ गते १८:३६

२ माघ, दाङ । दोस्रो लहरको कोभिड संक्रमण संक्रामक देखिएपछि दाङका अस्पतालहरुमा धमाधम पूर्वाधार थपिए । जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माणदेखि आईसीयू, एनआईसीयू, पीआईसीयू र भेन्टिलेटर जस्ता स्वास्थ्य पूर्वाधार तयार गरियो ।

अहिले कोभिडको तेस्रो लहर शुरु भएर जिल्लामा संक्रमित बढिरहँदा स्वास्थ्य जनशक्ति अभाव देखिन्छ । लुम्बिनी प्रदेशकै एकमात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेड आईसीयू, ५० बेड एचडीयू, ५ भेन्टिेलटर, ५ बेड एनआईसीयू र १० बेड पीआईसीयू छन् ।

कोभिड–१९ महामारीको तेस्रो लहरको पूर्वतयारी स्वरुप प्रतिष्ठानमा आवश्यक पूर्वाधार थपिएको प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा बस्नेतले बताइन् । तर अस्पतालमा अहिले स्वास्थ्य पूर्वाधार पर्याप्त भएपनि त्यसलाई सञ्चालन गर्ने दक्ष स्वास्थ्यकर्मी र मेडिकल अफिसरहरुको अभाव भएको उनले बताइन् । ‘भेन्टिलेटर, आईसीयूजस्ता पूर्वाधार सञ्चालन गरिए पनि अहिले दक्ष जनशक्तिको अभाव छ’ उनले भनिन् ।

निर्देशक बस्नेतका अनुसार प्रतिष्ठानमा फिजिसिएन डाक्टर दुई जना र एनेस्थेसिया डाक्टर एकमात्र जना छन् । त्यस्तै मेडिकल अफिसर र अन्य दक्ष स्वाथ्यकर्मी समेत अपुग रहेको उनले बताइन् ।

केही दिन यता अस्पतालमा कोरोना संक्रमित बिरामीहरु बढ्दै गइरहेका छन् । ‘संक्रमण बढिरहँदा स्वाथ्यकर्मी आफै संक्रमित भइरहेको अवस्था छ’ उनले भनिन्, ‘हालसम्म २० बढी स्वास्थ्यकर्मी संक्रमित भइसक्नुभएको छ ।’ कोभिड बिरामीको संख्या बढ्दै गइरहेका बेला स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेपछि अस्पतालमा जनशक्ति अभाव भइरहेको उनले बताइन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विगतमा अपुग रहेका स्वास्थ्य पूर्वाधार अहिले थपिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहका अनुसार १५ बेड आईसीयू, १० बेड एचडीयू, १५/१५ बेड एनआईसीयू र पीआईसीयू र १२ वटा भेन्टिलेटर थप भएका छन् ।

उनले पूर्वाधार भएपनि संक्रमण बढ्दै गए जनशक्ति नपुग्ने बताए । ‘नयाँ भेरियन्ट संक्रामक देखिए हालको जनशक्तिले पुग्दैन’ उनले भने, ‘विरामीको चाप बढेपछि स्वास्थ्य जनशक्ति थप्नुपर्ने हुन्छ ।’

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको बेलझुण्डी कोभिड विशेष अस्पताललाई हाल राप्ती प्रादेशिक अस्पतालको कोभिड युनिटका रुपमा स्थानान्तरण गरिएको छ । कोभिड संक्रमित बिरामीलाई राख्न ६० बेड छुट्टाइएको डा. सिंहले बताए ।

राप्ती प्रादेशिक अस्पतालका चिकित्सक श्रीधर खनाल तेस्रो लहरसँग जुध्न स्वाथ्य पूर्वाधारमात्र पर्याप्त नहुने बताउँछन् । जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि पूर्वाधार थप्ने काम भए पनि स्वास्थ्य जनशक्ति तयार गर्न ध्यान नपुगेको डा. खनालले बताए ।

उनका अनुसार अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामी बढ्दै गए पूर्वाधारसँगै त्यही अनुसारको स्वास्थ्य दक्ष जनशक्ति खाँचो पर्दछ । अहिले दिनमा १० जनासम्म संक्रमित बिरामी आइरहेको अस्पतालले जनाएको छ ।

अक्सिजन प्लान्ट पर्याप्त

दोस्रो लहरको कोभिड संक्रमण उच्च विन्दुमा पुग्दा दाङका अस्पतालहरुले अक्सिजनको चरम अभाव झेल्नुपर्‍यो । अक्सिजनको अभावमा अस्पतालहरुले बिरामी भर्ना नसक्ने स्थितिमा पुगे भने पर्याप्त अक्सिजन नपाउँदा केही संक्रमितले ज्यान समेत गुमाए । जिल्लामा दोस्रो लहरको कोभिड संक्रमणमा वैशाख यता दुई सय ७० भन्दा बढीले ज्यान गुमाएको तथ्याङ्क छ ।

दोस्रो लहरको कोभिड संक्रमणपछि जिल्लामा हाल ६ वटा अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन् । राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा दुई, राप्ती प्रादेशिक अस्पतालमा दुई, दाङ अक्सिजन प्लान्ट उद्योग र सोनापुर सिमेन्टमा १÷१ गरी ६ वटा अक्सिजन प्लान्ट सञ्चलानमा छन् ।

जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन सय, राप्ती प्रादेशिक अस्पतालमा ८० र दाङ अक्सिजन प्लान्ट उद्योगमा दुई सय, सोनापुर सिमेन्टको अक्सिजन प्लान्टमा चार सय गरी दैनिक करिब एक हजार अक्सिजन सिलिण्डर उत्पादन भइरहेका छन् । प्रतिष्ठानकी निर्देशक प्रज्ञा बस्नेतले आईसीयू बेडमा पाइप लाइनबाटै अक्सिजन पुर्‍याउने गरी अक्सिजन प्लान्ट सञ्चालमा ल्याएको बताइन् ।

राप्ती प्रादेशिक अस्पतालमा थप दुई सय सिलिण्डर बढी क्षमताको अक्सिजन प्लान्ट जडान हुने क्रममा रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले बताए ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा पर्याप्त अक्सिजन प्लान्ट सञ्चालन रहेको भन्दै विगतमा जस्तो अक्सिजन अभाव झेल्नुनपर्ने बताए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?