+
+
विचार :

‘कोरोनाको जोखिम बढ्दैछ, अब आफैं सचेत हुनुपर्छ’

डा. प्रभात अधिकारी डा. प्रभात अधिकारी
२०८० पुष ५ गते १८:२७

सामान्यतः कोरोनाभाइरसले आफ्नो स्वरुप विकास गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं ।

भेरियन्ट अफ कन्सर्न हुनका लागि तीनवटा क्याटेगोरी आवश्यक हुन्छ । पहिला, नयाँ भेरियन्ट उत्पत्ति भएका भाइरसभन्दा एकदमै चाँडै वा सजिलो फैलिने हुन्छ । दोस्रो, संक्रमण वा खोपबाट हुने इम्युनिटीले पनि रोक्न सकिंदैन । तेस्रो, पहिला देखिइसकेका कोरोनाभाइरसभन्दा नयाँ भेरियन्टले बढी गम्भीर केसहरू वा मृत्युदर बढाउने हुन्छ ।

तीन क्याटेगोरीमध्ये एउटा नयाँ भेरियन्टमा देखियो भने त्यसलाई भेरियन्ट अफ कन्सर्न भनिन्छ । हरेक दिन नयाँ–नयाँ म्युटेसन भइरहेको हुन्छ । ब्याक्टेरिया वा भाइरसहरूले स्वरूप परिवर्तन गरिराखेका हुन्छन् ।

तर, भाइरसमा कि आरएन वा डीएन हुन्छ । यसलाई रोक्ने मेकानिजम भाइरसभित्र हुँदैन । स्वतः भाइरसको स्वरूप परिवर्तन हुन्छ । कुनै भाइरसले बढी स्वरूप परिवर्तन गर्छ । जस्तो, एचआईभी, इन्फुलन्जा र कोरोनाभाइरसमा अन्य भाइरसभन्दा स्वाभाविक रूपमा म्युटेसन हुन्छ । जुन स्वाभाविक प्रक्रिया हो । म्युटेसन हुँदैमा सबै भाइरस नयाँ भेरियन्ट बन्दैनन् ।

८०–९० प्रतिशत म्युटेसनहरू बाहिर आउन पाउँदैनन् । धेरैजसो मरेर जान्छन् । बाँचेकामध्ये पनि माथि भनिएका तीन क्याटेगोरीमध्ये कुनै एक क्याटेगोरीमा बलियो छ भन्ने त्यो भाइरस भेरियन्ट अफ कन्सर्नको रूपमा बाहिर आउँछ ।

अहिले भारत लगायत केही मुलुकमा देखिएको नयाँ भेरियन्ट जेएन–१ लाई हेर्दा तीनवटा क्याटेगोरीमध्ये दुईवटा देखिएको छ । जेएन–१ अन्य भेरियन्टभन्दा एकदमै चाँडो फैलिन सक्छ । अहिलेसम्मको तथ्यांकले संक्रमण वा खोप लगाएको मानिसमा इम्युनिटी हुँदाहुँदै पनि यो भेरियन्टलाई सजिलैसँग रोक्न नसकिने देखिन्छ ।

जेएन–१ ओमिक्रोनकै सबभेरियन्ट हो । भेरियन्ट नयाँ आउने र खोपबाट पाउने इम्युनिटी पनि कम हुने भएकाले सबैलाई संक्रमण गराएर महामारीको रूप लिन सक्ने आकलन गर्न सकिन्छ ।

नेपालमा दोस्रो लहरमा धेरै मानिसको मृत्यु पनि भयो । त्यसपछि त्योभन्दा ठूलो–ठूलो लहर आएर संक्रमण भए तापनि मृत्यु चाहिं भएन । त्यसको कारण दोस्रो लहरको जति घातक थियो, ओमिक्रोन त्यति घातक थिएन ।

जेएन–१ भेरियन्ट दोस्रो लहरको डेल्टा जतिको घातक कि कम घातक छ भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन । कति घातक छ भन्ने थाहा पाउन अझै एक–दुई हप्ता लाग्छ ।

खोपको प्रभावकारिता

खोपको प्रभावकारिता कति हुन्छ अहिल्यै यकिन गर्न सकिंदैन । पहिलाको ओमिक्रोन भेरियन्टभन्दा कम प्रभावकारी हुने देखिन्छ । हामीले खोप लगाएको एक वर्षभन्दा बढी भइसकेको छ । कोरोनाको खोप लगाएको ९ महिनापछि प्रभावकारिता घट्दै जान्छ । त्यसकारण जतिसक्दो चाँडो बुस्टर डोज दिनुपर्छ ।

अहिले हामीले लगाएको खोप दुई वर्ष अगाडि बनेको हो, जुन त्यही बेलाको भेरियन्टको लागि राम्रो काम गथ्र्यो । अहिले आएका नयाँ–नयाँ भेरियन्ट लक्षित खोप बनेका छैनन् । ओमिक्रोनका सबभेरियन्टको संक्रमणलाई रोक्न ‘बाइभ्यालेन्ट’ खोप बढी प्रभावकारी छ । अहिले तत्काल सबैलाई लगाउन सकिंदैन भने वृद्धवृद्धा, गर्भवती र दीर्घरोगीलाई बुस्टर डोज दिन जरूरी छ ।

इन्फ्लुएन्जा भाइरस जस्तै कोरोना पनि मानव समुदायमा सधैं बस्नेवाला छ । नयाँ–नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन खोप लगाउनैपर्छ । प्रत्येक वर्ष केही लहर ल्याउन सक्छ, प्रत्येक वर्ष अतिरिक्त खोप लगाउनुपर्ने देखिन्छ । नेपालले सधैं खोप किनेर लगाउन सक्दैन । त्यसकारण आफैं खोप उत्पादन गर्ने उपाय खोज्नुपर्छ ।

परीक्षण गरौं

जाडो महिनामा रुघाखोकीको भाइरस पनि फैलिन्छ । रुघाखोकीको भाइरस, इन्फ्लुएन्जा, पाराइन्फ्लुएन्जा, रेस्पिरेटरी सेन्साइटल लगायत भाइरस भने जाडो मौसममा बढी सक्रिय हुन्छन् । कोरोनाले पनि रुघाखोकी, निमोनिया गराउँछ ।

त्यसैले अहिले परिवारका धेरै सदस्यलाई रुघाखोकी छ भने त्यो कोरोना हो कि भनेर शंका गर्नुपर्छ । कोरोना रुघाखोकी भएरै सुरु हुन्छ ।

असामान्य हिसाबले रुघाखोकीको लक्षण बढ्यो, थुक निल्न गाह्रो, घाँटी खसखस, ज्वरो आउने, टाउको वा शरीर दुख्ने भयो भने आफूले आफैंलाई ‘आइसोलेट’ गरेर कोरोना परीक्षण गर्नुपर्छ । किनभने नयाँ भेरियन्टको आइसकेको हुनसक्छ । त्यसकारणले सरकारले कोरोनाको परीक्षण बढाउनुपर्ने देखिन्छ ।

भारतमा नयाँ भेरियन्ट फैलिने क्रममा छ, हामी सतर्क हुनुपर्छ । रुघाखोकी भन्दै हेलचेक्र्याइँ गरेर बस्दा कोरोना समुदायस्तरमा फैलिसक्छ ।

‘केही हप्तामा नेपालमा देखिनसक्छ’

पहिलाको अनुभवले पनि भारतमा फैलिएपछि नेपालमा केही समयपछि भाइरस फैलिएको छ । भारतमा संक्रमण देखिएकाले अबको एक सातादेखि एक महिनाभित्र नेपालमा देखिनसक्छ ।

कुनै पनि कुरालाई चाँडै बिर्सिने हामी नेपालीको बानी छ । कोरोनाको दोस्रो लहरमा धेरैले परिवारका सदस्य र आफन्तहरू गुमायौं । त्यो घाउ अझै मुटुमा छ, तर त्यो कोरोना बिर्सिसक्यौं । मास्क लगाउन, दूरी कायम गर्न बिर्सिसक्यौं । दूरी कायम गर्ने, मास्क लगाउने, कोरोनाको लक्षण देखिए आइसोलेसनमा बस्ने नीति लागू गराउनुपर्छ ।

सरकारले महामारी नियन्त्रणका लागि जुन रूपमा काम गर्नुपर्ने हो, त्यो हिसाबमा नगर्ने हुँदा यसभन्दा अगाडिको लहरमा महामारीले क्षति गर्‍यो । त्यसमा सबैभन्दा पहिलो केन्द्रमा भएका निर्णय प्रदेश र स्थानीय तहमा पुर्‍याउन पनि समन्वय, सहकार्यको अभाव भएको थियो ।

यसभन्दा अगाडिका लहरमा सहकार्य अभावका कारण पनि समस्या भयो, त्यसमा सुधार जरूरी छ । तीन तहका सरकार र निजी क्षेत्रसँगको समन्वय, तुरुन्तै ‘एक्सन’ मा जाने प्रणालीको विकास, सूचनाको एकद्वार प्रणाली र त्यसको अध्ययन गर्न विज्ञ टोली गठन गर्नुपर्छ । यसरी काम गरेको खण्डमा नयाँ लहरलाई नियन्त्रण गर्न सकिन्छ ।

महामारी नियन्त्रण गर्न दुई कुरामा केन्द्रित हुनुपर्छ– रोग लाग्नै नदिने र लागि हाले कुशल व्यवस्थापन गर्ने । रोग हुनै नदिन सरकारले नाकामा कडाइ गर्नुपर्छ । त्यसैगरी, क्वारेन्टाइन क्षेत्र बढाउने र परीक्षणको दायरा बढाउनुपर्छ ।

सरकारले सीमा नाकाहरूमा काम गर्नुपर्छ । भारतबाट आउनेलाई नाकामै परीक्षण र क्वारेन्टाइन गर्ने, पोजेटिभ भेटिए आइसोलेसनमा राख्ने काम गर्नुपर्छ । यसमा चुस्त काम गर्नुपर्छ । साथै कोरोनाबारे जनचेतना अभियान चलाउनुपर्छ । बुस्टर डोज तत्काल सुरु गर्न जरूरी छ । नयाँ भेरियन्ट आइसकेपछि हामीसँग समय हुँदैन ।

(संक्रामक रोग विशेषज्ञ डा. अधिकारीसँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?