+
+

मेरो करियरलाई सार्थकता दिने अन्तिम अवसर हो : जगजित श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते २०:३३

४ माघ, काठमाडौं । फुटबलर जगजित श्रेष्ठले सन् २०१५ यता राष्ट्रिय टिमबाट खेलेका छैनन् । फेरि राष्ट्रिय टिमको जर्सी लगाएर मैदान उत्रने उनको धोका छ । त्यसका लागि उनले मरिसस विरुद्धको खेललाई उपयुक्त अवसरको रुपमा लिएका छन् ।

नेपालमा नियमित लिग हुन छाडेपछि २०१६ मा जगजित श्रेष्ठ अष्ट्रेलिया हानिए । त्यसपछि नेपाली फुटबलसँग उनको सम्बन्ध पनि टाढिँदै गयो । तीन वर्षअघि नेपाली टिमको बन्द प्रशिक्षणमा पनि परेका थिए । तर अन्तिम टिममा स्थान बनाउन भने सकेनन् । त्यसपछि उनी अष्ट्रेलिया नै फर्किए । अष्ट्रेलियामा विभिन्न टिमबाट फुटबल खेल्दै आएका जगजित २०७५ सालमा पुन: लिग शुरु भएपछि लिग खेल्न भने नेपाल आइरहेका छन् । पछिल्लो सिजन मनाङ मर्स्याङ्दीबाट खेलेका उनले यस सिजन त्रिभुवन आर्मीबाट खेलिरहेका छन् ।

यही माघ १५ र १८ गते मरिसस विरुद्ध मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अलदुल्लाह अलमुताइरीले बोलाएको ३५ जनाको टोलीमा उनै जगजित पनि अटाएका छन् । खासमा शुरुमा ३४ जनालाई छनोट गर्दा जगजितको नाम थिएन । तर आर्मीकै मिडफिल्डर सन्तोष तामाङ घाइते भएपनि उनलाई बाहिर राख्दै अलमुताइरीले जगजित र च्यासल युथ क्लबका आशिष राईलाई थपे ।

मंगलबारदेखि शुरु भएको बन्द प्रशिक्षणमा उपस्थित भएका २९ वर्षीय जगजित उत्साहित र खुशी छन् ।

उनले राष्ट्रिय टिममा पर्दै आफ्नो फुटबल करियरलाई सार्थक बनाउने यो नै अन्तिम अवसर भएको बताएका छन् ।

प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै जगजितले धेरै पछि अवसर पाएको र त्यसलाई सकरात्मक रुपमा लिएको बताए । ‘धेरै सकारात्मक लिएको छु । धेरै वर्षपछि मलाई एउटा अवसर आएको छ । मेरो करियरलाई सार्थक दिने मेरो लागि यो अन्तिम मौका हो । त्यसैले सकारात्मक लिएको छु । खुशी छु,’ जगजितले भने ।

यस सिजनको शुरुआतदेखि आर्मीबाट खेलिरहेका जगजितको प्रदर्शनमा समेत सुधार आइरहेको छ । उनले आर्मीका लागि २ गोल गरिसकेका छन् भने ३ पटक म्यान अफ दि म्याच भइसकेका छन् । यही प्रदर्शनले उनलाई बन्द प्रशिक्षणसम्म पुर्‍याएको छ ।

आर्मीको खेल्ने शैली फरक रहेकोले सुरुमा जगिजतलाई त्यहाँ खेल्न सहज भने भएन । उनी पनि यो स्वीकार गर्छन् । तर विस्तारै आर्मीको शैलीमा उनी एडप्ट गर्दैछन् । आर्मीको टिममा सुरुमा घुलमिल हुन गाह्रो भएको र विरामी नै परेको उनले सुनाए । ‘शुरुमा आर्मीको टिममा घुलमिल हुन गाह्रो भयो । मौसमले गर्दा पनि विरामी भएँ । आर्मीको खेल्ने शैली फरक थियो । अहिले पनि आर्मीसँग पुरै कम्बिनेसन मिलिसकेको छैन । तर, पहिले भन्दा सुधारिएको छ’ जगजितले भने ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणको वातावरणमा भने जगजित शुरुमै रमाउन थालेका छन् । प्रशिक्षकको वातावरण र प्रशिक्षकको शैली उनलाई सुहाएको छ । प्रशिक्षक अलमुताइरीको प्रोफेसनल शैली पनि उनलाई मज्जा लागेको छ । ‘प्रशिक्षणमा धेरै खुशी लागेको छ । वातावरण धेरै परिवर्तन छ । प्रशिक्षकको तरिका धेरै प्रोफेसनल रैछ । एकदम मज्जा आइरहेको छ,’ जगजितले थपे, ‘उहाँ ट्याक्टिकल्ली कुरामा स्ट्रिकस्ट हुनुहुन्छ । पहिला पनि विदेशी प्रशिक्षक स्ट्रिक नै थिए ।’

प्रशिक्षक र जगजितको खेल्ने शैली पनि मिल्दो छ । त्यसैले पनि जगजितलाई यसपटक राष्ट्रिय टिममा पुग्ने अवसर छ । केही खेलाडीलाई कोभिड र चोटले गर्दा पनि जगजितलाई अवसर आउन सक्छ । ‘यहाँ बल पायो की अट्याक गर्ने शैली छ । मेरो खेल्ने शैली पनि त्यही हो । यदि म अन्तिम टिममा परेँ भने मैले धेरै योगदान दिन सक्छु जस्तो लाग्छ’ जगजित भन्छन् ।

मरिसससंगको खेल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । केही दिनको प्रशिक्षणपछि प्रशिक्षक अलमुताइरीले अन्तिम टोली घोषणा गर्नेछन् । त्यसपछि नै थाहा हुन्छ जगजितले फेरि राष्ट्रिय टिममा खेल्छन् कि खेल्दैनन् । त्यतिबेलासम्म कुर्नुपर्नेछ ।

जगजितले सन् २०११ मा पोखरामा भएको भुटान विरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए । उनीसंगै त्यतिबेला डेब्यु गरेका दुई खेलाडी थिए सुजल श्रेष्ठ र निराजन मल्ल । सुजल हाल राष्ट्रिय टिमबाटै खेलिरहेका छन् भने निराजन मल्ल फुटबलबाट टाढिइसके ।

जगजितले नेपालका लागि अन्तिम पटक भने सन् २०१५ मा भारतको केरलामा भएको साफ च्याम्पियनसिपमा खेलेका थिए । उनी भारत विरुद्ध विमल घर्तिमगरको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । नेपालका लागि २९ खेल खेलेका जगजितले एक गोल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?