+
+

दाङमा ६ महिनामा १४ प्रतिशत मात्र विकास बजेट खर्च

असारे विकासले निरन्तरता पाउने संकेत

दाङमा चालू आर्थिक वर्ष ०७८-०७९ को ६ महिनामा १४ प्रतिशितमात्र विकास बजेट खर्च भएको छ । बितेको ६ महिनाको जिल्लामा विकास लक्षित बजेटको पूँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको हो ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ माघ ६ गते १६:१३

६ माघ, दाङ । दाङमा चालू आर्थिक वर्ष ०७८-०७९ को ६ महिनामा १४ प्रतिशितमात्र विकास बजेट खर्च भएको छ । बितेको ६ महिनाको जिल्लामा विकास लक्षित बजेटको पूँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार संघबाट जिल्लामा विनियोजीत भएको बजेटको पूँजीगत तर्फ ४ अर्ब ४७ करोड ६५ लाख ७२ हजार मध्ये पुस मसान्तसम्ममा ६४ करोड २६ लाख ३४ हजार ९ सय ५४ रुपैयाँ मात्रै खर्च छ । जिल्लामा विकास बजेटका लागि छुटट्याइएको कुल बजटे मध्ये खर्चको भएको १४.३५ प्रतिशत हो ।

त्यस्तै चालू खर्चतर्फ तलवभत्ता, कर्मचारीको सेवा सुविधामा भने उल्लेखीय रुपमा बजेट खर्च भएको छ । चालूगत तर्फ ६ महिनामा ४८.५४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

चालू तर्फको कुल ८ अर्ब ६२ करोड ४७ लाख २४ हजार २ सय २३ रुपैयाँ मध्ये हालसम्म ४ अर्ब १८ करोड ६५ लाख २४ हजार ५ सय ८३ रुपैयाँ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले विगतका वर्षझै यसवर्ष पनि विकास बजेट खर्चमा सुधार आउन नसकेको बताए ।

उनका अनुसार आधा वर्ष बित्दा कम्तिमा ४० प्रतिशत बढि खर्च भइसक्नुपर्ने थियो । तर १४ प्रतिशतमात्र विकास बजेट खर्च भएको छ । समयमै पुजिगत बजेट खर्च नहुँदा आर्थिक वर्षको अन्त्यमा बजेट सक्न हतारो हुने सूचना अधिकारी भण्डारीले बताए ।

यता, प्रदेश सरकार अन्तर्गतको विकास बजेट खर्च पनि निराशाजनक देखिएको छ । आधा वर्षको भइसक्दा प्रदेश सरकार अन्तर्गत पुजीगत तर्फको बजेट १२.१२ प्रतिशत मात्रै खर्च भएको छ ।

कार्यालयको अनुसार प्रदेश सरकारले विनियोजन गरेको ३ अर्ब ५७ करोड ११ लाख ३१ हजार रुपैयाँमध्ये जिल्लामा ६ महिनामा ४३ करोड २८ लाख ९४ हजार ५० रुपैयाँ मात्रै खर्च भएको छ ।

त्यस्तै प्रदेश सरकारले विनियोजन गरेको चालु खर्चको बजेट पनि अत्यन्तै निराशाजनक छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटको चालु तर्फ जम्मा २५.५८ प्रशितम मात्रै खर्च भएको छ ।

कुल १ अर्व ५४ करोड ६० लाख २१ हजार विनियोजित बजेट मध्ये हालसम्म जम्मा ३९ करोड ५४ लाख २५ हजार ४ सय २ रुपैयाँ खर्च भएको कार्यालयको तथ्याङ छ ।

गत वर्षभन्दा झन् निराशाजनक

यो वर्षको विकास बजेट खर्च गत वर्षभन्दा झन् निराशा जनक देखिएको छ । गत वर्ष ६ महिनामा पूँजीगत र चालु खर्च हालभन्दा केही प्रतिशत बढी थियो । वितेको वर्ष ६ महिनामा पूँजीगत तर्फ १८.२३ प्रतिशत अर्थात ९० करोड ४३ लाख ३ हजार ८२ रुपैयाँ खर्च भएको थियो ।

त्यस्तै सो अवधीमा चालू तर्फ खर्चतर्फ ४४ प्रतिशत खर्च भएको थियो । गत वर्षको छ महिनामा चालूगत तर्फ ३ अर्व ८७ करोड ३० लाख ६२ हजार २ सय ४९ रुपैयाँ खर्च भएको थियो ।

असारे विकासकै निरन्तरता

कोष तथा नियन्क्रक कार्यालयका दाङका प्रमुख शिवप्रसाद चौधरीले पूँजीगत बजेट खर्चका आधारमा विकासको गति मापनसमेत गरिने बताउँछन् । उनले विगतका वर्षझै यो वर्ष पनि असारमसान्तको अन्तिम तिर हतारहतार बजेट खर्चगर्ने प्रवृतिले निरन्तरता पाउने बताए ।

‘विगतका वर्ष झै ६ महिनमा आधा पनि विकास बजेट खर्च हुन सकेन’ उनले भने, ‘ विकास बजेट खर्च हुन नसक्नुले समग्र विकासका काममा प्रभाव पर्छ ।’

उनका अनुसार जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था गरिए पनि असारे विकासको रोकिन सकेका छैन । यस वर्ष पनि आर्थिक वर्षको अन्तिममा खर्चको चाप पर्ने, जथाभावी खर्च र निमार्णको काम हुने संकेत देखिएको उनले बताए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?