
११ माघ, हेटौंडा। नेकपा एमालेमा १० बुँदे कार्यान्वयन पक्षधर एघारौं जिल्ला अधिवेशनका आयोजक समितिका अध्यक्ष तथा आकांक्षी बद्री लम्सालले उम्मेदवारी फिर्ता लिएपछि एकालाल श्रेष्ठले शपथ लिएका छन् ।
कोभिड संक्रमणको समस्या भन्दै रोकिंदै आएको शपथ एघारौं अधिवेशनमा अध्यक्षका उम्मेदवार लम्सालले उम्मेदवारी फिर्ता लिने बित्तिकै निर्वाचित घोषणा गरिएका अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्ष, सचिव र उपसचिवमा निर्वाचितहरुले शपथ ग्रहण गरेका छन् ।
नेकपा एमाले मकवानपुरको कार्यालयमा अध्यक्ष श्रेष्ठलाई निर्वाचन मण्डलका अधिकृत अर्जुन अर्यालले शपथ ग्रहण गराएका हुन् । यस्तै अध्यक्ष श्रेष्ठले उपाध्यक्षमा निर्वाचित भएका लालबहादुर थापा, सचिव नवीन सिग्देल, उपसचिव हिदम लामा, र सीता विष्ट सँगै सदस्यहरु जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वा दोर्जे लामा, सुमित्रा काफ्लेलाई शपथग्रहण गराएका थिए।
पुस २३ गतेको अधिवेशनमा सर्वसम्मतको अभ्यास सफल नभएपछि निर्वाचनमा गएको जिल्ला अधिवेशननलाई केन्द्रीय दबावमा सर्वसम्मत घोषणा गरिएको थियो ।
लामो समय मकवानपुरे राजनीतिमा पोक्त रहेका एमाले मकवानपुरका इन्चार्ज रामेश्वर रानाले केन्द्रीयता लागू गर्ने नाउँमा पार्टी निर्वाचन मण्डलविरुद्ध अभियान चालेका थिए ।
उनले चालेको अभियान अध्यक्षका उम्मेदवार लम्साललाई उम्मेदवारी फिर्ता लिन लगाएपछि सफल भएको छ । पुस २३ गते रातिबाट थालिएको निर्वाचन प्रक्रिया २४ गते साँझ अन्तिम पटक सर्वसम्मतको अभ्यासका लागि भन्दै स्थगित गरिएको थियो ।
पुस २५ गते विहान निर्वाचन प्रक्रियामा जाने भनिए पनि बिहानै सर्वसम्मत कमिटी घोषणापछि एमाले मकवानपुरमा विवाद देखिएको थियो । ‘उम्मेदवारी फिर्ता लिन भनियो। मैले मेरै कारणले समस्या हुन्छ भने लिन्छु भनेर लिए’ उनले भने, ‘अब के गर्ने पाटोमा केही कुरा भएको छैन, मैले मेरा लागि नसोच्नु भनेको छु ।’
प्रतिक्रिया 4