+
+

नालीमा फसेर गैंडा मरेको घटनाको सत्यतथ्य छानबीन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १८:५२

११ माघ, चितवन । गत माघ ९ गते ६ लेन सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ सडकखण्डको टिकौली जंगलको नालीमा फसेर गैंडा मरेको घटनाको निष्पक्ष छानबीन गरेर दोषीमाथि कारबाही गर्न चितवनका सात वन उपभोक्ता समूहले माग गरेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुर र ठेकेदार कम्पनीको चरम लापरवाहीले १२ वर्षको वयस्क भाले गैंडा अकालमा मरेको भन्दै वन समूहले समूहले संरक्षणकर्मीहरुलाई यस घटनाले मर्माहत तुल्याएको जनाएका छन् ।

रत्ननगर र खैरहनी नगर क्षेत्रका वन उपभोक्ताहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सडक निर्माणमा गम्भीर त्रुटि र लापरवाहीका कारणले दुःखद घटना भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘जैविकमार्ग जस्तो संवेदनशील क्षेत्रलाई जोडेर ढल निर्माण कार्य गर्नु तथा काम सम्पन्न पूरा भएको अवस्थामा खाडल नपुरीकन छाड्नु सडक डिभिजन कार्यालय र निर्माण कम्पनीको गम्भीर लापरवाही हो ।’

सो क्षेत्रमा निर्माण भइरहेको सडकको डिजाइनलाई परिवर्तन गरी वन्यजन्तु आवतजावतका लागि अण्डर पास र सवारी साधानका लागि ओभर पास बनाउन उनीहरुले माग गरेका छन् ।

विगतमा पनि पटक-पटक यस क्षेत्रमा वन्यजन्तुको मृत्यु भएको घटना भइसकेको अवस्थामा हाल पुनः अर्को गम्भीर घटनाले संरक्षणकर्मीहरुलाई थप मर्माहत तुल्याएको जनाइएको छ ।

यसरी विज्ञप्ति जारी गर्नेहरुमा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्प श्रेष्ठ, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठ, टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ईश्वरीप्रसाद लामिछाने, जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतो, देवीथान मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कृष्ण चौधरी र मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह चौधरी छन् ।

यस्तैं, राप्ती नदी तटीय सरसफाइ अभियानले गैंडा मरेको घटनामा दुःख व्यक्त गर्दै दोषी माथि कारवाही गर्न माग गरेको छ । अभियानका प्रमुख अपिल घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै सडक संरचना बनाउँदा गरिएको गम्भीर त्रुटिले यस्तो दुःखद घटना घटेको जनाएका छन् ।

विज्ञप्तिमा करिडोर क्षेत्रका राजमार्ग र गाडीहरु चल्ने बाटोमा अण्डर पास वा ओभर पास छिट्टै निर्माण गर्न र सडक दुर्घटनाबाट वन्यजन्तु जोगाउन सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराइएको छ ।

‘वन्यजन्तुको करिडोरमा पूर्वाधार निर्माण गर्दा चरम लापरवाही भएको, पूर्व योजना र सोचको कमिले एउटा निर्दोष प्राणीले ज्यान गुमाउन पुगेकोमा दुःखी बनेका छौं’ जारी विज्ञप्तिमा भनिएको छ ‘काँटी, सीसा, जथाभावी फ्याँकिने फोहोरले वन्यजन्तुलाई असर पुर्‍याउने देखेर निरन्तर वन र तटीय क्षेत्रको सरसफाइमा जुटिरहेका छौं ।’

महानगरको गेटमा हात्तीको दिसा राखेर विरोध

निर्माणाधीन छ लेनको गोन्द्राङ-पुलचोक सडकमा बनाइएको नालीमा परेर गैंडाको मृत्यु भएको विषयलाई लिएर विवेकशील साझा पार्टीले भरतपुर महानगरको गेटमा हात्तीको दिसा राखेर बिरोध जनाएको छ ।

सरकारी पक्षबाट लापरबाही भएको भन्दै विवेकशील साझाले मंगलबार भरतपुर महानगरपालिकाको मुख्य गेटमा हात्तीको गोबरसहित विरोध प्रदर्शन गरेको थियो । सो बिरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

वन्यजन्तुको संरक्षणको माग गर्दै शान्तिपूर्ण रूपमा गरिएको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले बताए ।

भाले बयस्क गैंडा मरेको घटनालाई चितवन राष्ट्रिय निकुञ्जले सडक डिभिजन कार्यालय र ठेकेदार दुबैको लापरवाही रहेको बताउँदै आएको छ ।

निकुञ्जले घटनाको विषयमा अनुसन्धान गर्न निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकिएको छ ।

साथै, वन मन्त्रालयले मंगलबार मात्रै वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको छ । सो कार्यदललाई १० दिनभित्र स्थलगत निरीक्षण गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

हेर्नुस् चितवनका वन उपभोक्ता समूहले निकालेक‍ो संयुक्त विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?