+
+

नेपालको बलिङ सुधारमा ध्यान लगाउँदै पुबुदु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते २२:४१

१७ माघ, काठमाडौं । अर्को महिना ओमानमा हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली क्रिकेट टिमले कडा मिहिनेत गरिरहेको छ । प्रशिक्षक पुबुदु दशानायके खेलाडीले गरेको मिहिनेतको सरप्राइज नतिजा आउने दावी गर्छन् ।

सोमबार अनलाइन प्रविधिमार्फत पत्रकारहरुसँग कुरा गर्दै पुबुदुले पछिल्लो दुई/तीन साता बलिङमा केन्द्रित भएर प्रशिक्षण गरेको बताए । ‘पछिल्लो दुई/तीन साता हामीले बलिङमा धेरै फोकस गरेका छौँ । उनीहरु (खेलाडीहरु)ले सुधार गरिरहेका छन्, उनीहरुको सुधारबाट म  खुशी छु’ उनी भन्छन् ।

अहिलेको टिमका फास्ट बलरहरुबाट पुबुदुले धेरै आशा गरेका छन् । ‘तपाईंहरु सरप्राइज्ड हुनुहुनेछ उनीहरु कसरी सेप भइरहेका छन्’ उनले भने । नेपाली ब्याट्सम्यानहरुबाट पनि पुबुदु उत्साहित देखिएका छन् । नेपाली खेलाडीको पावर हिटिङ क्षमता देखेर अचम्ममा परेको उनले टिप्पणी गरे ।

प्रशिक्षक दशानायकेले अलराउण्डरको पनि प्रशंसा गर्न भुलेनन् । ‘दीपन्द्र (सिंह ऐरी) ले पनि राम्रो बलिङ गर्छ । शरद (भेषावकर) र कुशल (भुर्तेल) पनि छन् । त्यो हाम्रो लागि राम्रो हो । फास्ट बलिङ अलराउण्डरमा आरिफ (शेख) र विवेक (यादव) छन् । टिममा युवाहरु राम्रा छन् । बलिङ र ब्याटिङमा ब्यालेन्स छ’ उनले भने ।

ओमान जाने १६ जनाको सूचीमा रहेका विवेक यादव र लोकेश बम पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । पुबुदुले ओमानमा क्वालिफायर खेलअघि तीनवटा अभ्यास खेल हुने र त्यसबेला केही प्रयोग गर्ने तयारी गरेका छन् ।

टी-२० विश्वकपको ग्लोबल क्वालिफायर फेब्रुअरी १८ देखि २४ सम्म हुनेछ । नेपालले पहिलो दिन नै घरेलु टोली ओमानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ग्लोबल क्वालिफायरमा कूल १६ टोली सहभागी हुनेछन् । यो प्रतियोगिताबाट ४ टोली मात्र टी-२० विश्वकपमा पुग्नेछ ।

यस पटक दुई समूहमा ८-८ टिमलाई राखिएको छ । नेपाल रहेको समूह ए को ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ र नेपाल र ओमानसहित क्यानडा र फिलिपिन्स समूह ए मा छन् । समूह बी मा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता टिमहरु फाइनल पुग्दै अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

ग्लोबल क्वालिफायरको फाइनल खेल फेब्रुअरी २४ मा हुनेछ । ग्लोबल क्वालिफायरअघि नेपालले ओमानमै चार देश सम्मिलित टी-२० सिरिज खेल्नेछ ।

सन् २०१४ मा नेपालले पुबुदु नै प्रशिक्षक हुँदा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो । त्यसयता नेपालले फेरि विश्वकप खेलेको छैन । यस पटक नेपाल फेरि विश्वकपमा छनोट हुने लक्ष्यसहित तयारी गरिहरेको प्रशिक्षक पुबुदु र कप्तान सन्दीप लामिछानेले बताएका छन् ।

‘सबै कुरा योजना अनुसार भइरहेको छ । हामीलाई धेरै समय चाहिएको थियो, तर समय छोटो भयो । यही अवस्थाबाट सबैभन्दा राम्रो गर्ने योजना हो’ प्रशिक्षक दशानायकेले भने ।

विश्वकपमा छनोट हुनु नेपालका लागि चुनौतीपूर्ण रहेको प्रशिक्षक पुबुदु स्वीकार गर्छन् । क्वालिफायरमा एउटा खेल बिग्रँदा पनि असर पर्ने उनी बताउँछन् । ‘तपाईले हरेक दिन राम्रो खेल्नुपर्छ । हामी टफ टुर्नामेन्ट खेल्न जाँदैछौँ । तयारी अनुसार मलाई पूर्ण विश्वास छ । नेपाल विश्वकपमा पुग्नेछ’ पुबुदु भन्छन् ।

उनले समूहमा रहेको ओमान राम्रो टिम भएको र क्यानडाले पनि राम्रो खेलिरहेको बताए । यस्तै फिलिपिन्सलाई पनि कमजोर आँक्न नहुने बताए ।

पहिलो पटक नेपालको सिनियर टिमको कप्तानी गर्न लागेका ग्लोबल स्टार सन्दीप लामिछानेले पनि विश्वकप पुग्नु नेपाल र आफ्नो लागि पनि महत्वपूर्ण भएको बताए । सन्दीपले फ्रेन्चाइज लिगदेखि विभिन्न प्रतियोगितामा पाएको ज्ञानलाई देखाउने अवसर भएको पनि बताए ।

‘मेरो लागि पनि राम्रो अवसर छ, कप्तान र खेलाडीका रुपमा । पहिलो पटक क्वालिफायरमा ठूलो स्टेजमा राम्रो टिमहरुसंग गेम छ’ उनले भने । सन्दीपले अष्ट्रेलियामा हुने विश्वकप खेल्ने नेपाली टोलीको लक्ष्य रहेको पनि सुनाए ।

टिमका सबैजसोसँग यसअघि पनि सँगै खेलेकाले कप्तानको रुपमा आफूले असहज अनुभव नगरेको सन्दीपले बताए । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, करण केसीजस्ता सिनियर खेलाडीको अनुभव यो प्रतियोगिताका लागि महत्वपूर्ण भएको पनि सन्दीपले बताए । ‘म कप्तान भएपनि हामीले सबैको विचारलाई रेस्पेक्ट गर्दै अघि बढ्नुपर्छ । विश्वकपमा छनोट हुनु मेरो र समग्र टिमको लागि नै महत्वपूर्ण कुरा हो’ उनले भने ।

अष्ट्रेलियामा बिग बास लिग खेलेर फर्केपछि केही दिन प्रशिक्षण गरेका सन्दीप कोरोना भाइरस संक्रमणका कारण चार दिनदेखि आइसोलेसनमा छन् । उनले आफू मैदान फर्किन आतुर रहेको बताएका छन्

नेपालका लागि व्यस्त फेब्रुअरी महिना

नेपाली क्रिकेट टिमले फेब्रुअरी महिनामा ८ खेलसम्म खेल्ने सम्भावना छ । टी-२० सिरिज ३ र क्वालिफायरको समूहमा ३ खेल गरी ६ खेल निश्चित छ । क्वालिफायरको फाइनलसम्म पुगे थप २ खेल खेल्नेछ । ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानसंग खेल्नेछ ।

आईसीसी टी-२० पुरुष विश्वकप ग्लोबल क्वालिफायर समूह ए को खेल फेब्रुअरी १८ देखि २४ सम्म ओमानमा हुनेछ । नेपालले घरेलु टोली ओमानसंग फेब्रुअरी १८ मा उद्घाटन खेलमै प्रतिस्पर्धा गर्नेछ । यस्तै फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडासंग खेल्नेछ ।

ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा समूह ए मा ८ र समूह बी मा ८ टिम छन् । समूह बी को खेलहरु भने जुलाईमा जिम्बा्ब्बेमा हुनेछ ।

ग्लोबल क्वालिफायर अघि तयारी स्वरुप नेपाल, ओमान, आयरल्याण्ड र युएईबीच टी-२० खेल हुन लागेको छ । यस सिरिजका खेलहरुले टी-२० अन्तर्राष्ट्रिय मान्यता पनि पाउनेछन् ।

नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा यूएई र आयरल्याण्डसँग फेब्रुअरी १४ मा खेल्नेछ ।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?