+
+

यस्तो छ देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र (पत्रसहित)

एमसीसी अनुमोदनको वातावरण बनाउन ६ वटा काम गर्ने पत्रमा उल्लेख

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ माघ २३ गते १०:११

२३ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको खुलेको छ । देउवा र प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएको खुलेको हो ।

दुवै नेताले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते एमसीसी बोर्डलाई पठाएको पत्र अनलाइनखबरलाई प्राप्त भएको छ । एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पठाइएको संयुक्त पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्न दुवै नेताले प्रतिवद्धता जनाउँदै चार/पाँच महिनाको समय मागेका थिए । ‘हामी प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रुपमा एमसीसी सम्झौता संसदबाट पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गर्दछौं’, दुवै नेताद्वारा हस्ताक्षरित संयुक्त पत्रमा भनिएको छ ।

कात्तिक १८ गते स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धतासहितको पत्र पठाएको खुलासा गरेका थिए । ‘प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेका छौं’, उनले भनेका थिए । तर प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धतासहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए ।

लामो समय गोप्य राखिएको उक्त पत्र करिब चार महिनापछि अनलाइनखबरलाई प्राप्त भएको छ । एमसीसी बोर्डलाई पत्र लेख्दै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संसदबाट अनुमोदनका लागि मागेका छन् । पत्रमा उनीहरुले एमसीसी बोर्ड उपाध्यक्ष फातिमा जी सुमारसँग नेपालमा छलफल भएको उल्लेख गर्दै एमसीसी संसदबाट अनुमोदन गराउने प्रतिवद्धता जनाएका छन् ।

फातिमा सेप्टेम्बर दोस्रो साता एमसीसी परियोजनाको अवस्थाका बारेमा छलफल गर्न नेपाल आएकी थिइन् । ‘बोर्ड उपाध्यक्ष फातिमा सुमारसँग हामीले विस्तृत रुमपा सम्झौताका बारेमा छलफल गरेका छौं र संसदबाट अनुमोदन गर्ने प्रतिवद्धतासमेत जनाएका छौं’ देउवा र प्रचण्डले लेखेका छन्, ‘नेपाल सरकार एमसीसी सम्झौताका पक्षमा रहेको र नेपालको आर्थिक विकासमा यसको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको हामी विश्वास दिलाउन चाहन्छौं ।’

संसदबाट एमसीसी अनुमोदनका लागि आवश्यक वातावरण बनाउन चार/पाँच महिना चाहिने दुई नेताले पत्रमा लेखेका छन् ।

उक्त समयमा उनीहरुले त्यसका लागि ६ वटा काम गर्ने प्रतिवद्धता जनाएका छन् । एमसीसीले पठाएको स्पष्टीकरणका बारेमा गठबन्धनमा आवद्ध दलहरुभित्र व्यापक छलफल गर्ने र यथार्थ बुझाउने प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।

एमसीसीका बारेमा रहेका भ्रम र आशंका हटाउन सरकारले सार्वजनिक बहसका कार्यक्रम गर्ने साथै एमसीसी अनुमोदनका पक्षमा धारणा राख्न सत्ता गठबन्धनमा आवद्ध दलहरुको संयुक्त पत्रकार सम्मेलन गर्ने प्रतिवद्धता प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् । ‘सरकारी सञ्चारमाध्यममार्फत एमसीसीका बारेमा वास्तविक सूचनाहरु सम्प्रेषण गर्ने, एमसीए नेपाललाई प्राविधिक र सञ्चारका कामहरु  सम्पन्न गर्न प्रोत्साहित गर्ने, जसले गर्दा एमसीसी कार्यान्वयन गर्न सहज होस्’ पत्रमा भनिएको छ, ‘र एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सभामुखलाई छिटो टेबुल गर्न संयुक्त रुपमा आग्रह गर्ने ।’

प्रधानमन्त्री देउवा र प्रचण्डले दुई देशबीचको लामो मित्रता र सहयोगी सम्बन्धले एमसीसी परियोजना अनुमोदनका लागि थप समय उपलब्ध हुने विश्वास गरेका थिए । ‘एमसीसी संसदबाट अनुमोदन गराउन केही समय आवश्यक हुने हाम्रो आग्रहलाई एमसीसी बोर्डले स्वीकार गर्ने विश्वास लिएका छौं’, पत्रको अन्तिममा भनिएको छ ।

प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसी संसदबाट अनुमोदन गराउन मागेको पाँच महिनाको समय घर्किन लागेको छ तर प्रतिवद्धता अनुसार एमसीसी सम्झौता संसदबाट पारित हुनेमा भने आशंका छ । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा रहेका दलहरुबीच नै तीव्र मतभेद छ ।

नेपाल सरकार र अमेरिकाबीच १४ सेप्टेम्बर २०१७ अर्थात् २०७४ साल भदौ २९ गते एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । देउवा नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

विद्युत प्रसारण लाइन निर्माण र सडक पूर्वाधारमा एमसीसी सहयोग आउने सम्झौता भए पनि अझै कार्यान्वयन हुन सकेको छैन । एमसीसी अन्तर्गतका आयोजनामा अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर (करिब ६० अर्ब रुपैयाँ) र नेपाल सरकारले १३० मिलियन अमेरिकी डलर लगानी गर्ने सम्झौतामा उल्लेख छ ।

परियोजना अन्तर्गत काठमाडौंको लप्सीफेदीदेखि नुवाकोटको रातमाटे हुँदै ४०० केभीको एउटा प्रसारण लाइन तनहुँको दमौली र त्यहाँबाट रुपन्देहीको बुटवलसम्म पुग्नेछ । सोही प्रसारण लाइनलाई भारतको गोरखपुरसम्म पुर्याउने लक्ष्य आयोजनाको छ । त्यस्तै अर्काे प्रसारण लाइन नुवाकोटको रातमाटेबाट मकवानपुरको हेटौंडा हुँदै ढल्केवर–दुहबी प्रसारण लाइनसँग जोडिने सम्झौतामा उल्लेख छ ।

साथै एमसीसी सम्झौता अनुसार प्रसारण लाइनसँगै विभिन्न पाँच सडकखण्डमा उच्चस्तरको मर्मत सम्भारको काम हुनेछ । पाँच वर्षमा सम्पन्न भइसक्नुपर्ने परियोजना पाँच वर्ष वित्नै लाग्दा पनि अलपत्र अवस्थामा छ । एमसीसी परियोजना संसदबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा जानेछ ।

हेर्नुहोस् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई लेखेको पत्र

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?