+
+

वसन्त श्रवण : हनुमानढोकाको नासल चोकमा राष्ट्रपतिलाई के सुनाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते ८:५५
वसन्त श्रवण गर्दै राष्ट्रपति भण्डारी । तस्वीर : अनलाइनखबर फाइल ।

२३ माघ, काठमाडौं । सरस्वती पूजाको दिन हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्र प्रमुखलाई वसन्त श्रवण गराउने प्रचलन छ । यो प्रचलन प्रताप मल्लको पालादेखि नै चलिआएको बताइन्छ ।

विगतमा राजाबाट वसन्त श्रवण हुने गरे पनि गणतन्त्र आएपछि भने यो कार्यक्रममा राष्ट्रपति सहभागी हुने गरेका छन् । वसन्त श्रवणको बेला राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख पनि सहभागी हुने प्रचलन रहीआएको छ ।

आज बिहान १०ः२३ मा वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

आखिर वसन्त श्रवणमा के हुन्छ ? हनुमानढोका दरबार हेरचाह अड्डामा कार्यरत पुरोहित देवराज अर्यालका अनुसार १२औं शताब्दीमा बंगालका कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्यलाई आजको दिन हनुमानढोका दरबारमा राष्ट्र प्रमुखलाई सुनाउने गरिएको छ ।

वर्षा र जाडोयाममा पतझडविहीन भएको बोटबिरुवामा पालुवा लाग्ने सुन्दर प्राकृतिक चित्रण जयदेवको रचनामा छ । भगवान् कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रसरंग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ ।

हनुमानढोका दरबार संग्र्रहालय संरक्षण विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार वसन्त श्रवणको बेला ब्याचली राग बजाउने गरिएको छ ।

नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिका सदस्य डा. बासुदेव कृष्ण शास्त्रीका अनुसार यस दिन वसन्त श्रवण गरेमा सुख, शान्ति, समृद्धि मिल्ने विश्वास गरिन्छ । त्यसैले राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य गन्यमान्य, विद्वत व्यक्तित्वहरु भेला भएर वसन्त श्रवण गर्ने चलन छ ।

उनका अनुसार परापूर्वकालदेखि राजा महाराजाहरुले देश र जनताको अवस्था बुझ्न श्रीपञ्चमीको दिन भेला बोलाउँथे र होलीको दिन खुसियाली मनाउँदै आ-आफ्नो ठाउँमा फर्किन्थे । अहिलेको परम्परा पनि त्यसैको निरन्तरता हो ।

उनका अनुसार श्री भनेको सुरुवात हो । यसै दिनदेखि वसन्त ऋतु प्रारम्भ भएको बताइन्छ । वसन्त ऋतुमा नयाँ पालुवा पलाउने गर्दछ अर्थात् यो जगतले नै नयाँ रुप लिन्छ । यो समय निकै अदभूत, निकै अलौकिक मानिन्छ । वसन्त ऋतुलाई सबैभन्दा महत्वपूर्ण ऋतु भनिएको छ । श्रीकृष्णले पनि म ऋतुहरुमध्ये म वसन्त हुँ भनेका छन् ।

त्यसैले श्रीपञ्चमीलाई श्रीदेवी, भूदेवी र वाकदेवीको संगम मानिन्छ । त्यसैले यस दिन कुनै नयाँ काम सुरु गर्ने प्रचलन छ । यस दिनलाई अत्यन्त शुभ मानिने हुनाले विवाह, व्रतवन्ध लगायतका शुभ कार्य गर्न साइत हेर्न नपर्ने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?