+
+

प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा युवा संघको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते ११:५३

२३ माघ, विराटनगर । राष्ट्रिय युवा संघले प्रदेश १ प्रदेश प्रमुखको कार्यालय जाने बाटो छेकेको छ । नयाँ मन्त्रीको शपथ ग्रहणका लागि जाने बाटो युवा संघले अवरूद्ध गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रीमण्डल विस्तार गर्दैछन् । नयाँ ८ मन्त्रीको शपथग्रहण प्रदेश प्रमुखको कार्यालयमा हुँदैछ । शपथ ग्रहण गराउने तयारी भएपछि युवा संघले प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा अवरोध गरेको हो ।

प्रदेश १ का सातवटा मन्त्रालय विभाजन गरी १३ बनाएपछि एमालेले विरोध गर्दै आएको छ । आर्थिक भार बढाउने काम गरेका कारण सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय जाने बाटो छेकिएको युवा संघका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीले बताए ।

कसलाई के जिम्मेवारी ?

तीन महिना अघि प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट ३, नेकपा एकीकृत समाजवादी पार्टीबाट ३ र माओवादी केन्द्रबाट २ जनाले सपथग्रहण गर्नेछन् ।

राज्यमन्त्रीसहित ६ सदस्यीय क्याबिनेट रहेको प्रदेश १ को मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ थपिदैछन् ।

नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्नेछन् । राईले सामाजिक विकास मन्त्रालय सम्हाल्नेछन् ।

हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादवलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइने मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

लिम्बूले पर्यटन तथा संस्कृति मन्त्रालय र घिमिरेले नयाँ मन्त्रालय सञ्चार तथा सहकारीको जिम्मेवारी सम्हाल्नेछन् ।

कांग्रेसका थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङ्गामलाई भूमि तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री बन्ने भएका छन् । राईले सिँचाइ, खानेपानी तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्हाल्नेछन् ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की यथावत छन् ।

जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने गठबन्धनको तयारी छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे राज्यमन्त्री नै रहने मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?