+
+

रचनाले गाउँदा किन विवादमा पर्‍यो ‘न बिर्सें तिमीलाई’ ?

विजय सुवेदी ‘आवाज’ विजय सुवेदी ‘आवाज’
२०७८ माघ २३ गते १४:१०

२३ माघ, काठमाडौं । गायिका अञ्जु पन्तको स्वर, विपिन किरणको शब्द तथा महेश खड्काको संगीतमा तयार भएको गजल गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ को मेल भर्सन गायक जगदीश समालले गाए । दुवै भर्सनमा यो गजल एकदमै चर्चित भयो । यो गजललाई दर्शक-श्रोताले आज पनि उत्तिकै रुचाइरहेका छन् ।

तर, यो गजल गीत करिब डेढ दशकपछि गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गरेर सार्वजनिक हुँदा भने विरोधका स्वरहरु प्रशस्तै सुनिएका छन् । एउटा सुपरहिट गजल गीतलाई गीतकार विपिन किरणले चर्चामा आउनकै लागि सार्वजनिक गरेको भन्दै आलोचना भइरहेको छ । यस्तै, रचनाले पनि गीतको मर्मअनुसार गाउन नसकेको टिप्पणी भएको छ ।

रचनाको स्वरमा गीतकार किरणले फेरि गीत रेकर्ड गर्दा आलोचना भइरहँदा यसका संगीतकार महेश खड्काले भने आफ्नो असन्तुष्टि नरहेको सुनाए ।

अनलाइनखबरसँग कुरा गर्दै महेशले भने, ‘मलाई गीत रेकर्डिङको बेलामा विपिनजीले बोलाउनुभएको थियो । म रचनाले गीत गाउँदा स्टुडियोमै थिएँ । मेरो संगीतलाई तोडमोड गरेर तयार पारियो भने मैले आपत्ति जनाउन मिल्छ । तर, गीतको सम्पूर्ण अधिकार विपिनजीको भएकाले त्यसलाई कसरी कहाँ प्रयोग गर्ने भन्ने अधिकार उहाँको हो ।’

तर, आफूले एउटै गीत बारम्बार निकाल्नभन्दा पनि नयाँ नयाँ सिर्जना बजारमा ल्याउनुपर्ने विषयमा विपिनसँग छलफल गरेको महेशले बताए । उनले भने, ‘गायिका लता मंगेशकरले बारम्बार भन्ने कुरा पनि यही नै थियो । यो धर्तीमा मानिस सिर्जना गर्न नै आएकाले एउटै गीतलाई बारम्बार रिमेक गर्नुभन्दा पनि नयाँ नयाँ सिर्जना बजारमा दिनुपर्छ भनेर लताजीले भन्नुहुन्थ्यो । मैले पनि विपिनजीलाई भनेको यही हो । उहाँले मलाई अहिले नयाँ गीत निकाल्ने अवस्था आफ्नो नभएकाले यसैलाई रचनाको स्वरमा रेकर्ड गराउने बताउनुभयो ।’

महेशले एउटा सर्जकले आफ्नो सम्पत्ति कसरी प्रयोग गर्ने भन्ने विषयमा सम्पूर्ण अधिकार प्राप्त गरेकाले विरोध गर्न नसकिने बताए । रचना रिमालको स्वरको गीतमा अञ्जु पन्तको नाम उल्लेख नभएको विषयमा उनले भने, ‘यो विषयमा मलाई थाहा भएन । तर, अञ्जुजीको स्वरको गीत पनि युट्युबमा छ । त्यो हटाइएको भए आपत्ति जनाउने ठाउँ हुन्थ्यो होला ।’

यो विषयमा संगीतकार सुरेश अधिकारीले भने असन्तुष्टि जनाए । उनले भने, ‘हामीले आफू अन्यायमा पर्नुको मतलब अरुलाई अन्याय गरेर न्याय भयो भन्न सकिँदैन । गायक-गायिकाले पनि स्टेजमा गीत गाउँदा संगीतकार, गीतकारको नाम नै लिनुहुँदैन । स्टेजमा आफ्नो गीत भनेर गाइरहँदा त्यसको अन्य श्रष्टाको नाम पनि लिनुहुन्न, रोयल्टी पनि दिनुभएको छैन । कुनै व्यक्तिले गैरकानुनी काम गर्‍यो भन्दैमा उसको सिर्जना नै मेटिनुपर्छ भन्ने होइन । गायक-गायिकाहरुको अधिकारको सम्मान गर्नुपर्‍यो, उहाँहरुको सिर्जनाको पनि सम्मान गर्नुपर्‍यो नि त । सबैको आ-आफ्नो अस्तित्व हुन्छ । मैले पनि संगीत भरेका कैयौं गीत गायक-गायिकाले राम्रोसँग गाउन नसक्दा मरेका छन् । अब यसो भन्दैमा मैले के अहिलेका नयाँ गायक-गायिकालाई गाउन लगाएर उनीहरुको नाम नै हटाइदिनु त ?’

सुरेशले रचनाको स्वरमा तयार भएको गीतलाई ‘कभर गीत’ मात्र भनेर सार्वजनिक गरिदिएको भए पनि आफूलाई खासै आपत्ति नहुने बताए । उनले अगाडि भने, ‘तर, हुबहु ट्रयाक र शब्दमा अफिसियल गीत भनेर सार्वजनिक हुँदा ओरिजिनल गायिकालाई अन्याय भयो कि भन्ने मेरो भनाइ हो ।’

 गीतको राइट्स आफूमा ल्याएर व्यवसायीकरण गर्न खोजेको हो : विपिन किरण

गीतकार विपिन किरणले भने हिजो स्थापित आफ्नो सिर्जना नयाँ गायिकाको स्वरमा सुन्ने श्रोता-दर्शकको अनुरोधसँगै आफ्नो सोचअनुरुप रचना रिमालको स्वरमा पुनः रेकर्ड गरिएको बताए ।

रचनाले स्वर दिएको गीत पुरानै एरेन्जमा सार्वजनिक गरिएको छ । लगत्तै नयाँ एरेन्जका साथ अन्जु पन्तकै स्वरमा पनि यो गीत ल्याउने तयारी रहेको उनले बताए ।

‘नयाँ एरेञ्जमा नयाँ स्वरुपमा अञ्जु दिदीकै स्वरमा पनि ल्याउने तयारी गर्दैछौं । नयाँ एरेञ्ज तयार भइसकेको छ । दिदी बाहिर भएर भोकल गर्न पाएका छैनौं,’ उनले भने ।

उनले किड्स भर्सनसँगै अन्य २/४ वटा भाषामा अनुवाद गरेर समेत गीत ल्याउने आफूहरुको योजना रहेको बताए । ‘यी सबै काम के हो भने एक त गीत मैले आफ्नो राइट्समा ल्याएर आफ्नो किसिमले पुनः श्रोतामाझ लिएर जाँदैछु,’ उनले अगाडि भने, ‘यी सबै काम गरेर अप्रत्यक्ष रुपमा पुराना मेरा सिर्जनाहरुलाई प्रमोसन गरिरहेको छु ।’

उनले यसो गर्दै गर्दा आफूले विभिन्न भर्सन ल्याउने बजारको टे«ण्डलाई ‘फ्लो’ भने नगरेको बताए । उनले त्यतिबेला अर्कैतिर बगिरहेको नेपाली गीतसंगीतको ट्रेण्डलाई ‘नबिर्सें तिमीलाई’ ल्याएर सुगम संगीतमा ढालेको बताउँछन् । उनले यसलाई ३-४ वटा भाषामा अनुवाद गरेर सार्वजनिक गरेसँगै फेरि एकचरण नेपालका विभिन्न भाषामा गीत ल्याउने ट्रेण्ड पनि सुरु हुनसक्ने बताउँछन् ।

रचनाको स्वरमा सार्वजनिक गीतमा अञ्जु र जगदीशको नाम उल्लेख नभएकोमा भइरहेको आलोचनाबारे विपिनले भने, ‘हामीले यो गीत रिमेक गरेर, नयाँ एरेन्ज गरेर ल्याएका हुन्थ्यौं भने अञ्जु पन्त, जगदीश समालको नाम राख्थ्यौं । यो गीतमा एरेन्ज नै नयाँ गरेका छैनौं । हिजो अञ्जु पन्तले गाएर सुप्रसिद्ध भएको गीतलाई उही एरेञ्जमा रचना रिमालको स्वरमा मात्र ल्याएका हौं ।’

लेखकको बारेमा
विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?