+
+

कच्चापदार्थको अभावमा राडीपाखी उद्योग बन्द

रासस रासस
२०७८ माघ २४ गते १४:३८
भेडाको ऊनबाट धागो निकाल्दै महिला - फाइल तस्वीर

२४ माघ, खलङ्गा । कच्चापदार्थको अभावले जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौंदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताए ।

उनले भने, ‘चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुँदै आएको थियो । अहिले बजारमा माग धेरै भए पनि कोभिडपछि कच्चापदार्थ सङ्कलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको हो । माग अत्यधिक छ । कच्चापदार्थ सङ्कलन हुन सकेको छैन । उद्योग नचल्दा घाटा बेहोर्नु परिरहेको छ । चीनको उत्तरी हिल्सा नाका खुलाउन सरकारले पहल नगर्दा कर्णालीको जनजीवनसँगै साना तथा मझौला उद्योग सङ्कटमा परेको हो ।’

चीनको नाका खुलाउन सरकारले कुनै चासो देखाएको छैन । पछिल्लो समय जुम्लामा पनि भेडाको ऊन अभाव हुँदै गइरहेको र गाउँमा परम्परागत तरिकाले राडीपाखी बुन्ने धेरै भएकाले पनि उद्योगका लागि ऊन पाउन मुस्किल छ । चीनको नाका खुलाएर चाँडो कच्चापदार्थ ल्याउने वातावरण बनाइदिन सरकारलाई उनले अनुरोध गरे । चन्दननाथ नगरपालिका–२ निवासी तामाङले राडीपाखी बेचेरै वार्षिक पाँच लाख आम्दानी गर्दै आइरहेका थिए । वर्षमा कच्चापदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी १५/२० लाखको कारोबार हुने गरेको थियो । सरकारी अनुदानका नाममा आर्थिक वर्ष २०७५/७६ मा पशु सेवा कार्यालयबाट साढे तीन लाख मात्रै पाएका कुन्जाङले अहिलेसम्म कतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गरे ।

महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म नाफा हुन्थ्यो । यसैबाट घर खर्च चलेको थियो, माग दैनिक बढ्दै गए पनि कच्चापदार्थ नहुँदा समस्या भएको छ । नियमित पाँच र ज्यालादारीमा १०/१२ जनासम्मलाई उनले रोजगारी दिएका थिए । ज्यालादारीमा काम गर्ने महिलालाई एक कोट सिलाएबापत दुई हजार र राडीपाखी बुनेबापत दुई हजार ५०० रुपैयाँ दिने गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?