+
+

रुपन्देहीको तिलोत्तमामा ‘इन्डोर स्केट पार्क’ निर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १८:४६

२४ माघ,बुटवल । रुपन्देहीको तिलोत्तमामा नेपालमै समुदायस्तरको पहिलो ‘इन्डोर स्केट पार्क एवं रिसोर्स सेन्टर’ निर्माण सुरु भएको छ ।

नयाँ पुस्तामा लोकप्रिय बनेको स्केट खेलको विकास, खेलाडी उत्पादन र प्रशिक्षण दिने उद्देश्यले स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा-४ डिङ्गरनगरमा स्केट पार्क एण्ड रिर्सोस सेन्टर निर्माण सुरु गरेको हो ।

तिलोत्तमा नगरपालिकाले वडा नं.-४ को स्पोर्ट भिलेज क्षेत्रमा उपलब्ध गराएको करिब १० कठ्ठा क्षेत्रफलमा तीन महिनादेखि स्केट पार्कका पूर्वाधार निर्माण सुरु गरिएको हो ।

फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गरी लुम्बिनी प्रदेश र नेपालमै पहिलो समुदायस्तरको स्केट पार्क निर्माण गरेर नयाँ खेलमा नयाँ पुस्तालाई आवद्ध गराउने अभियान सुरु गरिएको जनाएको छ ।

स्केट एड नेपाल फाउण्डेसनका अध्यक्ष एवं आयोजनाका प्रमुख जागृत पहाडीले नेपालमा भर्खर मात्र आरम्भ भएको तर यूरोप अमेरिका लगायतका देशमा नयाँ पुस्ता र युवावर्गमा लोकप्रिय हुँदै गएको स्केट खेलको विकासका लागि स्केट पार्क कोशेढुंगा सावित हुने बताए ।

सम्भवतः दक्षिण एशियामै समुदायस्तरमा स्केट पार्क रुपन्देहीको तिलोत्तमामा सुरु भएको पहाडीको दाबी छ । उनका अनुसार पहिलो चरणमा स्केट पार्क निर्माण गरिएको छ । दोस्रो र तेस्रो चरणमा पार्कलाई इन्डोर बनाउने गरि योजना बनेको अध्यक्ष पहाडीले बताए ।

तीन महिनाअघि सुरु गरिएको स्केट पार्कको पहिलो चरणको ८० प्रतिशत काम पूरा भएको उनले बताए । फ्रान्स, जर्मनी, क्यानाडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिब ६० जनाले स्वयमसेवक रुपमा पार्क निर्माणमा सहभागी भएका उनले बताए ।

पार्क निर्माणका लागि तिलोत्तमा नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको सहयोग अमूल्य रहेको बताउँदै बालबालिकाहरुलाई लक्षित गरी प्रशिक्षणहरु निःशुल्क रुपमा सञ्चालन गरिने उनले बताए ।

निर्माणाधीन स्केट पार्कले खेलाडीहरुमा खुसी ल्याउने स्केट एडका अन्तर्राष्ट्रिय निर्देशक एवं स्केट खेलाडी ग्याविरियल रोमा सन्तोषले बताए । उनले नेपालका लागि स्केट परिचित नभएको बताउँदै पार्कले नयाँ नयाँ खेलाडीलाई जन्माउने विश्वास लिए ।

नेपालमा स्केट खेलप्रति बालबालिकाहरुको बिशेष रुची रहेको खेलाडी तथा प्रशिक्षक समिक्षा राईको भनाइ छ । उनले स्केटको अभ्यास गर्ने थलो नहुँदा पनि नेपालका खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरेको बताइन् ।

रुपन्देहीमा स्केटका लागि व्यवस्थित मैदान बनेकाले स्केट खेलाडीहरुका लागि ठूलो अवसर भएको खेलाडी विजय तामाङले बताए ।

‘इन्डोर स्केट पार्क एवं रिसोर्स सेन्टर’ सन् २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य आयोजकले जनाएका छन् । करिब साढे २ करोड लागत अनुमान लाग्ने फाउण्डेशनले जनाएको छ ।

जर्मन कम्पनीको डिजाईनमा सुरु गरिएको पार्क सम्पन्न भएपछि समुदाय तहबाटै खेलाडीहरु उत्पादन हुने आयोजकको अपेक्षा छ ।

सेन्टरमा प्रशिक्षण, तालिम एवं होस्टेल र कार्यक्रम हल, पुस्तकालय समेत निर्माण गरी निःशुल्क सेवा प्रदान गरिने अध्यक्ष पहाडीले बताए । पहिलो चरणको निर्माण सम्पन्न भएपछि आगामी फागुन २१ गते पार्कको औपचारिक शुभारम्भ गर्नेसमेत आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?