+
+

मनाङमा हिमपात रोकियो, बुस्टर डोज पुनः सञ्चालन

न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो । हिमपातका कारण  रोकिएको कोरोना विरुद्धको बुस्टर डोज अभियान बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।

रासस रासस
२०७८ माघ २५ गते १३:२२

२५ माघ, मनाङ । न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो । हिमपातका कारण  रोकिएको कोरोना विरुद्धको बुस्टर डोज अभियान बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।

माघ २० गतेदेखि मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर डोज अभियान सञ्चालन भए पनि हिमपातका कारण रोकिएको थियो । माथिल्लो मनाङमा खोप अभियानकै क्रममा भारी हिमपात भएपछि केही दिन रोकिएको खोप अभियान बुधबारबाट पुनः सञ्चालनमा आएको छ । खोप आजै माथिल्लो मनाङवासीलाई लगाउन सकिने स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।

‘बुस्टर डोज लगाउन छुटेका व्यक्तिका लागि उनीहरु जिल्लामा आएपछि लगाउने व्यवस्था गरिएको छ । ‘उहाँहरु सम्पर्कमा आउनुपर्ने हुन्छ, सूचना पनि जारी गरिएको छ,’ उनले भने । कोभिसिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमण विरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

उनका अनुसार अभियानकै क्रममा भारी हिमपात भएपछि रोकिएको खोप कार्यक्रम सुरु भएको छ । छ महिना अघि कोरोना विरुद्धको खोप लगाइसकेको र उक्त खोपको रोग प्रतिरोधात्मक क्षमता क्रमशः घट्दै जाने भएकाले सरकारले अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ डोज अभियानलाई तीव्रता दिएको छ ।

यसका लागि सरकारले कोभिसिल्ड र भेरोसिल्ड खोप स्वास्थ्य कार्यालयमा उपलब्ध गराएको छ । जिल्लाका स्थानीय तह अन्तर्गतको शाखामा खोप पठाइसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताए । अधिकांश नागरिकले कोभिसिल्ड, भेरोसिल्ड र जोन्सन एण्ड जोन्सन खोप लगाइसकेका छन् ।

विभिन्न कारणले यसअघि कोरोना विरुद्धको खोप लगाउन छुटेका सबै नागरिकलाई खोपको पहुँचमा जोडिने भएको छ । उनका अनुसार यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाइएकामा दोस्रो मात्राको मोडर्ना खोप पनि जिल्लामा आइसकेको छ । तर जाडो छल्न बेँसी (जिल्लाबाट बाहिर) जाने भएकाले सबै बालबालिकालाई खोप लगाउन नसकिएको प्रमुख आचार्यले बताए ।

हिमपातकै कारण नार्पाभूमि गाउँपालिकामा भने खोप अभियान सञ्चालन गर्न नसकिएको उनले बताए । नासों गाउँपालिकामा तोकिएका केन्द्रमार्फत लक्षित सबै वर्गका व्यक्तिलाई बुस्टर डोज लगाइसकिएको उनले बताए । उनका अनुसार चामे गाउँपालिका, नासों गाउँपालिकामा भने खोप लगाइसकिएको छ ।

जाडोका कारण नार्पाभूमिवासी जिल्लामा नरहेकाले पनि समय तोक्न नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताए । ‘नार्पाभूमिवासी फागुन महिनाको दोस्रो साता मात्रै जिल्ला फर्कने भएकाले उनीहरु फर्किनासाथ बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ,’ आचार्यले भने ।

मनाङ सबैभन्दा पहिलो कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । गत विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका सबैलाई भने खोप लगाइसकिएको छैन । हिउँदमा चिसोका कारण जिल्ला बाहिर बसाइँ जाने भएकाले बालबालिकालाई खोप लगाउन नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताए ।

मनाङमा माइनस २० डिग्री तापक्रममा समेत स्थानीय नागरिक बुस्टर खोप लगाउन उत्साहजनक सहभागिता रहेको उनले बताए । जिल्लाका तीन स्थानीय तहका १२ देखि १८ वर्षमुनिका बालबालिकाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका थिए । तर, नार्पाभूमि र माथिल्लो मनाङका बालबालिकाले भने यो खोप लगाउने मौका पाएनन् ।

हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीयवासीसँगै त्यहाँका बालबालिका बेँसी झरेकाले त्यहाँ मोडर्ना खोप अभियान प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । यहाँ गर्मीयाम लागेपछि स्थानीय नागरिक गाउँ फर्किने गर्दछन् । उनीहरु जिल्ला फर्किनासाथ खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?