+
+
प्रतिभा :

आमाको सपना पूरा गरिरहेका जेनिश

कोरोनाको दोस्रो लहर शुरु भएसँगै जेनिशकी आमा बिरामी भएर थलिइन् । क्यान्सरसँगै उनमा कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला ‘भ्वाइस किड्स’को डिजिटल अडिसन सुरु भइसकेको थियो । जुन मञ्चमा जेनिशलाई हेर्न चाहिन्थिन् उनकी आमा ।

सुशील नेपाल सुशील नेपाल
२०७८ माघ २९ गते २०:११

२९ माघ, काठमाडौं । ‘द भ्वाइस् किड्स नेपाल’को पहिलो सिजनको विजेता बनेपछि ११ वर्षीय जेनिश उप्रेतीको दौडधुप ह्वात्तै बढेको छ । विजेता बनिसकेपछि उनी बस्दै आएको जिल्ला चितवनमा भव्य स्वागत र्‍याली गरियो । हेटौंडा, झापा लगायतका स्थानमा पनि स्वागतसहित उनलाई सम्मान गरियो । कहिले कार्यक्रम, कहिले मिडियामा अन्तर्वार्ता । यस्तै दौडधुपको बीचमा केही दिन त बिसञ्चो भएर आराम नै गर्नुपर्‍यो ।

‘भ्वाइस अफ किड्स’को विजेता बनेपछि जेनिशले विजेता बनेपछि यसैसाता आफ्नो स्वरमा पहिलो गीत रेकर्ड गराएका छन् । गीत रेकर्डिङको दिन साँझ साढे ६ बजे भेट्दा उनको अनुहार थकित देखिन्थ्यो । ‘बाबु थाकेको छ । बिहानदेखि केही खान पाएको पनि छैन,’ जेनिशका काका रमेश उप्रेती भन्दै थिए ।

यत्तिकैमा जेनिश आफैंले होटलमा झोलसहितको चाउचाउ अर्डर गरे । र, काकाको छेउमै आएर बसेर भने, ‘ल, अब कुरा गरौं ।’

जेनिशले भुपेन्द्र खड्काको शब्द, भानुभक्त ढकालको संगीतमा ‘मलाई तिम्रो हात देऊ’ बोलको सोलो गीत गाएका हुन् । पहिलो गीत रेकर्ड गराउँदा निकै खुसी लागेको जेनिशले सुनाए । ‘एकदमै खुसी लाग्यो । लाइभमा गाएको भन्दा फरक अनुभूति हुँदोरहेछ । गीतलाई लिएर एकदमै उत्साहित छु,’ उनले केही उत्साहित भावमै सुनाए ।

*** ***

कोरोनाको दोस्रो लहर शुरु भएसँगै जेनिशकी आमा बिरामी भएर थलिइन् । क्यान्सरसँगै उनमा कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला ‘भ्वाइस किड्स’को डिजिटल अडिसन सुरु भइसकेको थियो । जुन मञ्चमा जेनिशलाई हेर्न चाहिन्थिन् उनकी आमा

एक महिना अघिसम्म उनको परिचय के थियो ? ‘भ्वाइस किड्स’को फाइनलमा पुगेका प्रतिस्पर्धी । त्योभन्दा अघि ? आमजस्तै एक सामान्य फुच्चे बालक । अर्थात्, उनको परिचयको दायरा सीमित थियो । जब ‘भ्वाइस किड्स’को मञ्चमा उक्लिए, उनको परिचयको दायरा फराकिलो हुँदै गयो । उनलाई चिन्नेहरु, उनको गायकीलाई रुचाउनेहरु बढ्दै गए । अन्ततः गायक प्रमोद खरेल टिममा रहेका जेनिशले ‘भ्वाइस किड्स’को उपाधि आफ्नो पोल्टामा पारे ।

‘भ्वाइस किड्स’को यात्रा अनुभव सुनाउँदै भने, ‘एकदमै रमाइलो-खुसीसँगै डर पनि लागेको थियो । लाइभ राउण्डदेखि अर्को राउण्डमा प्रवेश गर्दा एकदमै डर लाग्थ्यो । फाइनलमा पनि सुरुसुरुमा एकदमै डर लागेको थियो ।’

‘भ्वाइस किड्स’मा जानुअघि र विजेता बनेपछि आफूमा धेरै कुराहरु परिवर्तन आएको जेनिश सुनाउँछन् । उनी आफूमा आएका परिवर्तनबारे मधुर स्वरमा सुनाउँछन्, ‘भ्वाइस किड्समा जानुअघि मेरो भोकलको रियाज पुगेको थिएन । त्यहाँ गएपछि मलाई प्रमोद सर, करण सर, भानु सरले गाइड गर्नुभयो । त्यसपछि भोकलमा अलि परिवर्तन हुँदै गयो ।’

‘अनि’ जेनिश रोकिँदैनन्, अगाडि भन्छन्, ‘अहिले एकदमै धेरैले चिन्नुहुन्छ । माया गर्नुहुन्छ । पहिले अलि फ्री हुन्थें, अहिले समय व्यवस्थापन गर्न समेत गाह्रो छ ।’

‘भ्वाइस किड्स’ विजेता बनेपछि उनको दैनिकी फेरियो । फुर्सद दैनिकी व्यस्ततामा परिणत भयो । उनले चाहेअनुसार आफ्ना साथीभाइसँग खेल्न पाएका छैनन् । चाहेअनुसार हिंड्न पाएका छैनन् ।

काका रमेश भन्छन्, ‘ऊ बच्चा हो, स्वतन्त्र ढंगले खेल्न पाउने उसको उमेर हो । एउटा उमेर भएको भए आफ्नो कुरा आफैंले मेन्टेन गर्न सक्थ्यो । त्यो उसले गर्ने अवस्था छैन । आजभोलि हामीले पनि छोड्न मिलेको छैन । एउटा बन्धनभित्र बसेको अनुभव भएको जस्तो लाग्छ ।’ ‘अँ’ यत्तिकैमा काकालाई रोकेर जेनिश बोल्छन्, ‘आफूले केही पाउन केही त गुमाउनैपर्‍यो नि !’

मेरी आमाको सपना पूरा गरें

हेटौंडामा जन्मिएका जेनिश आमासँगै दुई वर्षको उमेरमा झापा पुगे । त्यसपछिको उनको बाल्यकाल झापामै बित्दै थियो । उनको बुबा भने रोजगारीको सिलसिलामा धेरै वर्षदेखि कुवेतमा छन् । जेनिश गीत सानैदेखि गीत गुनगुनाउँथे । चार वर्षको उमेरमा स्कुलमा अभिभावक दिवसको अवसरमा जेनिशले गीत गाएका थिए । ‘अरुले गाएको देख्दा म पनि गाउन सक्छु भन्ने आँट आएपछि गाएको थिएँ,’ उनी स्मरण गर्छन् ।

काका रमेशका अनुसार स्कुलका कार्यक्रममा गाउँदा शिक्षकहरुले स्वरको प्रशंसा गर्दै संगीतालयमा राखिदिन जेनिशकी आमालाई आग्रह गरेका थिए । ‘सरहरुले बाबुको स्वर राम्रो रहेछ । बाबुलाई संगीतमा राखिदिनुहोस्, राम्रो गर्न सक्छ भन्नुभएपछि भाउजूले ६ वर्षको उमरेदेखि जेनिशलाई सरगम संगीतालयमा राखिदिनुभएको थियो,’ काका रमेशले भने ।

प्याब्सनद्वारा आयोजित जिल्लास्तरीय गायन प्रतियोगितामा समेत सहभागी भएर दोस्रो भएका थिए । पूर्वाञ्चल आइडल, पाथीभरा आइडल लगायतका प्रतियोगितामा समेत सहभागी भएर उनले पुरस्कार जितेका थिए । त्यसरी गीत गाएर पुरस्कार जित्दा गायनमा आकर्षण बढ्दै गएको जेनिशले बताए । उनी पियानो, हार्मोनियम लगायत बजाउँदै अभ्यास गर्ने गर्दथे ।

कोरोनाको दोस्रो लहर शुरु भएसँगै जेनिशकी आमा बिरामी भएर थलिइन् । क्यान्सरसँगै उनमा कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला ‘भ्वाइस किड्स’को डिजिटल अडिसन सुरु भइसकेको थियो । जुन मञ्चमा जेनिशलाई हेर्न चाहिन्थिन् उनकी आमा ।

जेनिशका संगीत गुरु दीपक रायमाझी लगायतको टिम उनलाई भेटन जाँदा ठूलो टेलिभिजनमा छोरोलाई हेर्ने सपना रहेको बताएकी थिइन् । आफ्नो बाँकी जीवनलाई माया मारिसकेकी उनले छोरालाई भ्वाइसको स्टेजसम्म लगिदिन काकालाई भनिदिनुहुन भनेर संगीत गुरुसमक्ष भनेकी रहिछन् ।

‘भाउजूको सपना थियो बाबुलाई भ्वाइस किड्सको स्टेजमा हेर्ने, ठूलो गायक बनेको हेर्ने,’ काका रमेशले भने, ‘भाउजूको मृत्युको केही दिन तनावमै रह्यो । पछि संगीत गुरुले भाउजूले भनेको कुरा सुनाउनुभयो ।’ काकाले जेनिशलाई भने, ‘बाबु, ममीको सपना यस्तो छ । त्यो सपनालाई पूरा गर्नुपर्छ ।’

उनले आफ्नै मोबाइलबाट जेनिशको भिडियो खिचेर संगीत गुरु रायमाझीलाई पठाए । रायमाझीले भ्वाइस किड्समा पठाए । जेनिश छनोट भए अनि विजेतासम्मको यात्रा पूरा गरे ।

जेनिशकी आमाले छोराको सफलता हेर्न पाइनन्, तर छोराले आमाको सपना पूरा गरे । आमाको सपना पूरा गरेपनि आउँदा दिनमा संगीतमा धेरै संघर्ष गर्न बाँकी रहेको जेनिश बताउँछन् । ‘मलाई गायक भएको हेर्ने आमाको ठूलो सपना थियो । म विजेता भएर उहाँको सपना पूरा गरें,’ उनले भने, ‘सांगीतिक क्षेत्रमा भने मैले धेरै मेहनत गर्नु छ ।’

विजेता बनेसँगै अहिले उनलाई गीत रेकर्डिङका लागि अफर आइरहेका छन् । ४÷५ वटा गीत रेकर्डिङका लागि कुरा भइसकेको काका रमेश उप्रेतीले बताए । पहिलो गीत बजारमा आइसकेपछि मात्रै अन्य गीत गर्ने उनी सुनाउँछन् । चितवन खैरहनी नगरपालिका-८ मा काकासँगै बस्दै आएका जेनिश मोडर्न इङलिस् बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्् ।

‘भ्वाइस् किड्स’को यात्रामा पढाइ धेरै छुटेकाले अब केही समय पढाइमा नै केन्द्रित हुने जेनिशले बताए । उनले आफ्नो अबको योजनाबारे भने, ‘सांगीतिक क्षेत्रमा राम्रो गर्ने । सम्पूर्ण गुरु, अंकल, आन्टी, परिवारबाट देखाउनुभएको बाटोमा हिंड्ने ।’

यत्तिकैमा जेनिशले अर्डर गरेको झोलिलो चाउचाउ आइपुग्यो । उनले चाउचाउ खाँदै गर्दा केही कुराहरु सोधियो, उनले रमाइलोसँग जवाफ दिए ।

जेनिशका केही कुरा :

सजिलो विषय : इङ्लिस, साइन्स

अप्ठयारो विषय : सोसल, नेपाली

मन पर्ने गीत : क्लासिकल, रोमान्टिक

मनपर्ने गायक÷गायिका : सबै जना मन पर्छ । विशेष नारायण गोपाल, प्रमोद सर (प्रमोद खरेल), किरण दादा (किरण गजमेर) मन पर्छ ।  फिमेलमा मेलिना राई, प्रविशा अधिकारी, मिलन नेवार, रचना रिमाल बढी मन पर्छ ।

अरु रुचिहरु : चित्र कोर्न, पढाइ, स्पोर्ट्समा रुचि छ । फुटबल, ब्याडमिन्टन खेल्छु ।

मनपर्ने खानेकुरा : फलफूलमा अनार, पिज्जा, तरकारीमा पहिलो त मासु त्यसपछि पनिर, साग ।

फिल्म हेर्ने बानी : साउथ इण्डियन फिल्ममा महेश बाबुको धेरै हेर्छु । नेपाली फिल्म पनि हेर्न मन पर्छ ।

मनपर्ने नेपाली हिरो-हिरोइन : सबै जना उत्तिकै राम्रो लाग्छ । श्रीकृष्ण श्रेष्ठ धेरै मन पर्छ । उहाँ अहिले हुनुहुन्न, अहिले अनमोल केसी मन पर्छ । हिरोइनमा रेखा थापा मन पर्छ । अहिले उहाँको नयाँ फिल्म आउँदैन, अहिले फिल्म आइरहनेमा आँचल शर्मा मन पर्छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?