+
+
Shares

सम्झनामा मेरो ‘भ्यालेन्टाइन्स’

दिनेश थपलिया दिनेश थपलिया
२०७८ फागुन २ गते ११:००

अनिँदो बिहानीमा
मेसो नमिलेका सपनीहरू
बोझिलो बन्दै गएका विपनीहरू
जिन्दगीको अघिल्तिर
ठिङ्ग उभिन्छन्
आँखा बन्द गर्छु
मनभित्र पस्छ्यौ
आँखा खोल्छु
परेलीमा बस्छ्यौ
तिम्रो उही पुरानो आकृति बनेर ।

दिनेश थपलिया

पीडा सँगालेर खुसी अँगाल्न निस्केको म
तड्पिएको प्यास
भड्किएको श्वास
बल्झिएको सपना
अल्झिएको याद
एकै ठाउँमा पोको पारेर
हिँडिरहेछु एउटा विवश हिँडाइ
गरिरहेछु एउटा गन्तव्यहीन यात्रा
अझैपनि
तिम्रो प्रेमिल आत्मा र स्नेही मनलाई छोपिरहेको
भ्रमको खास्टो उघार्न सकिन्छ कि भनेर
किनकि
मैले फेरि एकपल्ट देखाउनुछ
मेरो मनको भित्तामा
तिम्रो तस्वीर टाँसिएको छ
कहिल्यै नउप्किने गरी ।

किन हो कुन्नी,
मेरो जिन्दगीमा
नसोचेका, नखोजेका र नचाहेका क्षणहरू गुज्रिन्छन्
मानौं
सोच्नु, खोज्नु र चाहनु
अपूर्व भ्रम हो
अतिशय भूल हो
विगतलाई बिर्सन खोज्छु
आँखा अगाडि तेर्सिदिन्छ
घेर्न थाल्छ रहस्यमय पीडाले
पिरोल्न थाल्छ
तिम्रो सयपत्री सम्झनाले
गिजोल्न थाल्छ
तिम्रो गुलाबी कल्पनाले
दुख्न थाल्छ खाटा बसेको घाउ
सम्झन्छु–
झ्याप्प निभेर बल्दै गरेको बत्ती
फ्यात्त खसेर फुल्दै गरेको फूल,
एक्कासी तिम्रो मुहारको इन्द्रेणी चमक
झुल्किन्छ मेरो मरूभूमि दिलमा
त्यसपछि
खरानी भएका स्वप्निल रहरहरू
जागृत हुन्छन् अनौंठो विश्वास बनेर

तिम्रो न्यानो मायाबाट अलग्गिएर
बितेका दिनहरू सम्झन्छु
कसरी पल्टाउँ अतित बनेका क्षणहरू ?
जो याद बनेर अल्झिन्छन्
व्यथा बनेर बल्झिन्छन्
त्यतिबेला
जे हुनुपर्थ्यो त्यो भएन
जे नहुनु पर्यो त्यसले छोडेन
किन गरौं
अरूलाई दोष दिएर आफू उम्कने धृष्टता
अरूलाई होचो देखाएर आफू अग्लो बन्ने मूर्खता
अहिले पनि
तिम्रो आवाज गुन्जिन्छ कानमा
भर्न्थ्यौ– म तिमीलाई छोड्न सक्दिन
मेरा आफ्नै अभिव्यक्ति पुनरावृत्त हुन्छ मनमा
म तिमीबाहेक सोच्न सक्दिन
अहिले म भोगिरहेछु टिठलाग्दो वर्तमान
न तिमीले भनेको भयो
न मैले भनेको भयो
सायद तिमीले त बिर्स्यौ होला
प्रणय दिवसको दिन
तिमीले दिएको रातो गुलाब
जतन गरेर राखेको छु मैले त
त्यसैलाई हेर्छु
सुम्सुम्याउँछु
तिम्रो सानिध्यताको अनुभूति गर्छु
तिमी नहुनुको पीडाबाट मुक्ति खोज्छु

खै कसरी भनौं ?
त्यतिबेला
तिमीबिना बाँच्न नसक्ने म
यतिबेला
तिम्रो अभावमा मर्न नसक्ने भएको छु
बल्ल महसुस हुँदैछ
बाँच्न मात्र हैन मर्न पनि साथ चाहिँदो रहेछ ।
मेरो जिन्दगीमा अचेल
प्रणयको घाम झुल्किंदैन
भ्यालेन्टाइन्सको राप आउँदैन
बरू
अनुभूतिको लहरमा तिम्रो सम्झना दुख्छ
तिमीसँगै हुने रहरमा तिम्रो तिर्सना दुख्छ
अनि म एक्लै टोलाउँछु र कल्पिन्छु
त्यतिबेला तिमीले
पवित्र प्रेमलाई स्वार्थको तराजुमा नजोखेको भए
आत्मीय सम्बन्धलाई झूटको पछ्यौरीले नछोपेको भए
लेखिने थिएन सायद समर्पणको इतिहास
भनिने थिएन सायद बलिदानको कथा
अहिले पनि
समय घर्केको मात्र हो, सकिएको हैन
मिल्छ भने
बस परेलीको वरिपरि
पस हृदयका पानाभरि
सँगै हेरौंला
तल बारीमा चुच्चो जोड्दै चारो टिपिरहेका युगल परेवाहरू
माथि आकाशमा कावा खाँदै उडिरहेका जोडी चखेवाहरू

संखुवासभा, खाँदबारी
हालः लोकन्थली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?