+
+

सुदूरपश्चिममा यातायात सेवा र शिक्षण संस्था बन्द

कैलालीको लम्कीचुहामा शंकास्पद वस्तु भेटियो

जनक विष्ट जनक विष्ट
२०७८ फागुन ४ गते ८:३९

४ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले आज बिहानैदेखि लामो दुुरीका सवारी साधन चल्न नसकेको बताए । उनका अनुसार कैलाली, कञ्चनपुरसहितका प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ । छोटो दुरीका सवारी साधन पनि छिटफुट रुपमा मात्रै चलिरहेको एसपी धितालले बताए ।

यस्तै शिक्षण संस्था समेत नखुलेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सन्चालन नभएपछि विद्यार्थीहरु घर फर्किएका छन् ।

कैलालीको लम्कीमा शंकास्पद वस्तु

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका–३ मा शंकास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले लम्कीचुहा नगरपालिका–३ स्थित धोवेनी खोलाको पुलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिए ।

त्यहाँ भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ । डीएसपी विष्टकाअनुसार जिल्लामा रात्रीकालीन बसहरु गन्तव्यतर्फ गइरहेको भएपनि अन्य सवारी साधन चल्न सकेका छैनन् ।

एमसीसीको विरोधमा बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी पार्टी लगायतका ६ दलीय मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन् ।

बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?