+
+
सार्वजनिक सरोकार :

किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?

सार्वजनिक यातायात : हरेक यात्रु मालिक बन्ने मोडालिटी

आशिष गजुरेल आशिष गजुरेल
२०७८ फागुन ५ गते ९:५०

सार्वजनिक यातायातको सन्दर्भमा युरोपको मोडल लोभलाग्दो र अनुकरणीय छ । त्यहाँ सार्वजनिक यातायातलाई सबैभन्दा भरपर्दो, विश्वसनीय, छरितो, किफायती, व्यवस्थित, सुविधायुक्त मानिन्छ । त्यसैले घरमा कार हुनेहरू पनि सार्वजनिक यातायात चढ्छन् । नेता-मन्त्रीहरू समेत सार्वजनिक यातायात चढ्ने गरेको पाइन्छ ।

युरोपका कति मुलुक आफैंले गाडी उत्पादन गर्छन् । तर, उनीहरूले सार्वजनिक यातायातलाई नै सर्वव्यापी र सर्वसुलभ बनाएका छन् ।

अब हाम्रो सडकको परिदृश्य हेरौं । काठमाडौं उपत्यकामा लगभग दिनहुँ १० हजार सार्वजनिक यातायात गुड्छन् । तर, यी सार्वजनिक यातायातमा यात्रा गर्नु भनेको विना कसुर यातना झेल्नु सरह हुन्छ ।

तपाईं रत्नपार्कमा एकछिन उभिएर हेर्नुहोस्, सार्वजनिक यातायातको हाल (बेहाल) कस्तो हुन्छ ? कोचाकोच, ठेलमठेल, अस्तव्यस्त, भद्रगोल । सार्वजनिक यातायात चढ्नका लागि सानोतिनो युद्ध नै गर्नुपर्छ । चढिसकेपछि आरामले बस्ने स्थिति हुँदैन । गन्तव्यसम्म कतिबेला पुगिन्छ भन्ने टुंगो हुँदैन । सार्वजनिक यातायातमा यात्रा गर्नु भनेको सानोतिनो यातना भोग्नुसरह हुन्छ । तर पनि हामी बाध्य छौं, यसरी नै यात्रा गर्नका लागि ।

बलियो-बाङ्गो पाखुरा भएकाहरू त ठिकै छ । रोगी, बुढापाका, गर्भवती, बालबच्चा, अशक्त आदिलाई सार्वजनिक यातायात कति कष्टकर हुन्छ होला ?

कार चढ्नेभन्दा ठूलो जमात छ सार्वजनिक यातायात चढ्ने । तर, सार्वजनिक यातायातमा चढेर समयमै विद्यालय पुगिएला ? कार्यालयमा हाजिर गर्न भ्याइएला ? अस्पतालमा डाक्टर भेटिएला ?

असुरक्षा, अपहेलना, असुविधा

सार्वजनिक यातायातमा चढ्दा यात्रुले अनेकन् सास्ती भोग्छन् । एकातिर राम्ररी यात्रा गर्न पाउँदैनन्, अर्कोतिर दुर्व्यवहार झेल्नुपर्ने हुन्छ । चालक-सहचालक मात्र होइन, यात्रुले नै यात्रुमाथि पनि नराम्रो व्यवहार गरिरहेका हुन्छन् ।

हामी एकदमै बाध्यात्मक स्थितिमा सार्वजनिक यात्रा गरिरहेका छौं । यात्रा गर्नु नै पर्नेछ । आफूसँग निजी सवारी साधन छैन । हिंडेर पुग्न संभव छैन । त्यसैले जे-जस्तो सहेर, जे-जति पीडा खेपेर भए पनि हामी बस, माइक्रो, टेम्पो चढ्छौं ।

असुरक्षा, असुविधा, अपहेलना खेप्दै सार्वजनिक यातायात चढिरहँदा हामीलाई ग्लानिको अनुभूति हुन्छ ।

मनोमानी यातायात

हामी स्टेशनमा उभिएर गाडी पर्खन्छौं । तर, गाडी कतिबेला आउँछ ? आफूले चल्ने रुटको गाडी आउँछ वा आउँदैन ? गाडी आए पनि बस्ने ठाउँ पाइएला वा नपाइएला ? कुनै टुंगो हुँदैन । किनभने सार्वजनिक यातायात निजी क्षेत्रको कब्जामा छ । निजी क्षेत्रले सार्वजनिक यातायात सञ्चालन यसकारण गरिरहेका छन् कि, त्यहाँबाट उसलाई धेरैभन्दा धेरै मुनाफा आर्जन गर्नुछ ।

यस्तो अवस्थामा उसले यात्रुको सुरक्षा र सुविधा हेर्दैन, केवल आफ्नो फाइदा हेर्छ । त्यसैले मन लागेको समयमा, मनलाग्दो ढंगले, मनोमानी रूपमा गाडी कुदाउँछन् ।
सार्वजनिक यातायातको यहाँ कुनै समय तालिका छैन । यात्रुप्रति कुनै उत्तरदायित्व छैन ।

जुन देशमा सार्वजनिक यातायात व्यवस्थित हुँदैन त्यो सहर र राज्य कहिल्यै व्यवस्थित हुँदैन । यातायात प्रणालीलाई व्यवस्थित गर्ने हो भने सार्वजनिक यातायात सुधार गर्नु बाहेक अन्य कुनै विकल्प छैन । सार्वजनिक यातायातलाई यसरी व्यवस्थित र छरितो बनाउनुपर्छ, ताकि निजी सवारी चढ्नेहरूले पनि सार्वजनिक यातायातमा नै यात्रा गरोस् ।

सर्वसाधारणको दैनिकीसँग अभिन्न रूपले जोडिएको सार्वजनिक यातायात किन यति भद्रगोल र लथालिंग छ ? किनभने हाम्रो यातायात प्रणाली नै कमजोर छ । राज्यले यसलाई व्यवस्थित र नियन्त्रित गर्न सकेको छैन ।

सार्वजनिक यातायातको समय तालिका व्यवस्थित र नियमित हुनुपर्छ । सार्वजनिक यातायात समयमा आए/नआएको पुगे/नपुगेको कुरा राज्यले हेर्ने हो । समय अनुसार नहिंडेको भए राज्यले कारबाही गर्न सक्नुपर्छ ।

सार्वजनिक यातायात निजीले होइन, राज्यले चलाउनुपर्छ

सार्वजनिक यातायातको व्यवस्थापनका लागि सरकारको प्रत्यक्ष सहभागिता जरूरी हुन्छ । यसको मोडालिटीबारे हामीले छलफल पनि गरिरहेका छौं ।

सार्वजनिक यातायातलाई नियन्त्रण र व्यवस्थित गर्ने छुट्टै प्राधिकरण खडा गर्नुपर्छ । त्यस अन्तर्गत यस्तो प्रणाली बनाउनुपर्छ, जसले सार्वजनिक यातायातलाई सबैभन्दा विश्वसनीय, भरपर्दो र छरितो बनाउन सकियोस् ।

यो मोडालिटी भनेको पूर्ण सरकारी होइन र पूर्ण निजी पनि होइन । हाइब्रिड मोडल भनौं । यसमा सरकारको हस्तक्षेप रहन्छ, निजी क्षेत्रको स्वामित्व पनि । निजी क्षेत्रले आफ्नो यातायात कम्पनीलाई यसै अन्तर्गत सञ्चालन गर्न सक्छन् ।

प्राधिकरणको आफ्नै कार्यकारी अधिकृत, आफ्नै कर्मचारी हुन्छन् । यसलाई व्यावसायिक कम्पनी जसरी सञ्चालन गर्ने हो । यसलाई हाइबि्रड मोडल पनि मान्न सकिन्छ । यो सरकारी र निजी नियन्त्रणमा हुँदैन । विकसित राष्ट्रमा यस्तै मोडल सफल भइरहेको देखिन्छ ।

यात्रु आफैं पनि मालिक

सार्वजनिक यातायातलाई यस्तो मोडालिटीमा लैजानुपर्छ, जसले यसको दिगो व्यवस्थापन प्रणाली स्थापित गर्छ । प्राधिकरण मातहतमा सार्वजनिक यातायातलाई ल्याएपछि त्यसमा इच्छुक सर्वसाधारणका लागि लगानी खुला गरिन्छ । उनीहरूले यसमा सेयर लगानी गर्छन् । यसरी यात्रुहरू आफैं पनि सार्वजनिक सवारी साधनका हिस्सेदार बन्न सक्छन् ।

यसले सार्वजनिक यातायातबाट हुने मुनाफाप्रति मात्र उनीहरूलाई आकषिर्त गर्दैन, यसमा अपनत्वको भावना पनि बढाइदिन्छ ।

कसरी सबैलाई सार्वजनिक यातायातमा आकषिर्त गर्ने ?

कतिपय विकसित देशले सार्वजनिक सवारी प्रयोग गरेबापत उसलाई केही प्रतिशत रकम पनि फिर्ता दिने गर्छ । नभए उसले तिर्नुपर्ने करमा छुट दिएर भए पनि सार्वजनिक यातायातप्रति आकर्षण बढाउने काम गरिरहेका छन् । मान्छेलाई सार्वजनिक यातायातमा आकषिर्त गर्न विभिन्न स्किमहरू ल्याउने पनि गरेका छन्, जसका कारण सर्वसाधारणले सेवा-सुविधाका लागि भए पनि सार्वजनिक यातायात रोज्छन् ।

सार्वजनिक यातायातमा कर पनि छुट दिने गरिन्छ । यो एक किसिमको राज्यको लगानी पनि हो । राज्यले त्यो दिनुको कारण जनता तथा यात्रुलाई व्यवस्थित र सुव्यवस्थित सेवा-सुविधा देउ भनेर हो ।

सार्वजनिक सवारी साधनलाई अनुदान दिएपछि स्तरीय हुन्छ । तर यहाँ अनुदान दिने चलन छैन जसका कारण व्यवसायी दबावमा पर्छ । सवारी किन्दा ठूलो रकम खर्चेको हुन्छ मुनाफा कमाउन गाह्रो छ । पैसा कम लिंदा ऊ आफैंलाई घाटा हुन्छ उसलाई लगानी उठाउनुपर्छ । यो सब हामीले अपनाएको मोडालिटी गलत भएर हो ।

सार्वजनिक यातायातलाई कर छुट दिने, भन्सार छुट दिने, रुट परमिटमा छुट दिने, चालक सह-चालकलाई तालिम दिने जस्ता कुराहरू राज्यले गर्न सक्छ । यो गर्ने त्यो गर्ने भन्दा पनि एक प्रणाली विकास गरौं । त्यो प्रणालीमा कसरी सहुलियत दिने, कसरी अनुदान दिने भन्ने कुरा त्यसपछि परिभाषित गरौं ।

मोनोरेल नचलाएर विद्यासुन्दरले ठीक गरे

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोनोरेल अवधारणा ल्याएर कार्यान्वयन नगरेर राम्रो भयो । मोनोरेल चलाएको भए हाम्रो लगानी डुब्थ्यो र अवस्था झन् भद्रगोेल हुन्थ्यो । यातायात इन्जिनियरिङमा कुनै सहरको जनसंख्या ३० लाख बढी नाघे मोनोरेल मेट्रोरेल चाहिने अवधारणा छ । हामीलाई उच्च क्षमताको मेट्रो रेल चाहिएको हो ।

मोनोरेलको लागत कम भए पनि सञ्चालन खर्च, मेन्टेनेन्स खर्च बढी छ । भारतको मुम्बई, मलेसिया र जर्मनमा मोनोरेल असफल भएका छ । मोनोरेल एक कलेजबाट अर्को कलेजसम्म, विमानस्थल भित्र सञ्चालन गर्नका लागि बनाएको हो । यो बृहत् यात्रुका लागि निर्माण गरेर सफल भएको उदाहरण छैन । दीर्घकालीन समस्या समाधानका लागि मेट्रो रेलमै जानुपर्ने हुन्छ ।

नेपाल सरकारले २०१२ मा मेट्रो रेलबारे सम्भाव्यता अध्ययन नै गरेको छ । तर सम्भाव्यता अध्ययन भएको १० वर्ष बितिसक्दा पनि हामीले कुनै काम गर्न सकेनांै । मेट्रो रेल बनाउँछौं भनेर सोच्नै सकेनौं हामीमा त्यो खालको आत्मविश्वास नै आएन । तर अध्ययनले बन्छ, बनाउन सकिन्छ भनेको छ । यसमा मेट्रो रेल निर्माण गर्न सक्छौं भनेर हामीले आफूलाई विश्वास गर्न सकेनौं ।

मेट्रो रेल बृहत् र जटिल परियोजना हो । यो बनाउन विशिष्ट ज्ञान, सीप चाहिन्छ, खर्च लाग्छ । एक किलोमिटर मेट्रो रेल निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्छ । यसमा लगानी अत्यधिक चाहिने भएकाले पनि मेट्रो रेलको काम अगाडि बढ्न नसकेको हो ।

काठमाडौं उपत्यकामा मेट्रो रेल चाहिन्छ भन्ने कुरा ठिक हो तर रेल चाहिन्छ भन्ने कुरामा विश्वस्त छैन । रक्सौल, वीरगन्ज हुँदै काठमाडौंसम्मको रेल सेवा बनाउन सक्यौं भने काम गर्छ । रेलले यात्रु ओसारेर मात्रै हँुदैन मालसामान पनि ढुवानी गर्नुपर्छ । वीरगन्जबाट काठमाडौं आउने सामानको परिणाम निकै बढी हुन्छ । तर पूर्व-पश्चिम १ हजार किलोमिटर रेल चाहिन्छ भन्ने कुराको अध्ययन नै पुगेन जस्तो लाग्छ ।

विदेशबाट के सिक्ने ?

नेपालमा सार्वजनिक यातायातका लागि मापदण्ड बनाउन नसकेको भए पनि विकसित देशले मापदण्ड बनाएरै सार्वजनिक सवारी सञ्चालन गरिरहेका हुन्छन् । जस्तै एक जना मान्छेका लागि कति ठाउँ आवश्यक पर्छ, अपाङ्गता भएका व्यक्तिका लागि, वयोवृद्धका लागि र बालबालिकाका लागि भन्दै त्यसै अनुरुप सिट निर्माण गरिएका हुन्छन् । यति जना यात्रुलाई मात्रै बोक्ने भनेर किटानै पनि गरिएको हुन्छ ।

चालक, सह-चालकले कसरी बोल्ने, कसरी व्यवहार गर्ने, चालकलाई कस्तो तालिम दिने, गाडी रोक्दा झ्याप्प नरोकी कसरी रोक्ने, पैसा लिंदा कसरी लिने, कसरी प्रस्तुत हुने जस्ता कुराहरूको मापदण्ड बनाउनै पर्ने हुन्छ । विकसित देशमा हेर्ने हो भने बसमा चालक मात्रै हुन्छ । सह-चालक नै हुँदैन ।

पहिले ट्रली बसमा पनि आफैं अटोमेटिक ढोका खुल्थ्यो । तर अहिले जति जति हामी विकसित हुँदै गयौं त्यति त्यति हाम्रो स्तर खस्किंदै गयो । तर हाम्रो नेपालजस्तो देशमा सह-चालक पनि हुन्छ र पैसा पनि यसरी नै उठाइरहेको हुन्छ ।

विकसित राष्ट्रमा चालक मात्रै हुन्छ । यात्रुले पहिल्यै टिकट किन्छ टिकट ट्रयाक गरेर भित्र छिर्छ र परेको बेला चालकसँगै टिकट किन्न सक्ने प्रावधान पनि राखिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?