
६ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोभिड-१९ महामारी सुरु भएयता पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाख नाघेको छ ।
शुक्रबार दक्षिण कोरियामा थप एक लाख नौं हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै, दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आज थप ४५ जनाको मृत्यु भएको जनाएको छ ।
पछिल्लो समय दक्षिण कोरियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको प्रकोप व्यापक बनिरहेको छ । तर, ओमिक्रोनको प्रकोपसँगै दैनिक संक्रमितको संख्याले नयाँ-नयाँ रेकर्ड बनाए पनि मृतकको संख्या भने तुलनात्मक रुपमा कम छ । त्यहाँ हालसम्म १७ लाख ५५ हजार ८०९ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात हजार २८३ पुगेको छ ।
केही विज्ञले आउँदा दिन दक्षिण कोरियामा कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या ३ लाखसम्म पुग्ने अनुमान गरेका छन् । तर, हालसम्म गम्भीर संक्रमितको संख्या व्यवस्थापन गर्न सकिने खालको रहेको अधिकारीहरूको भनाइ छ ।
यसैबीच, दक्षिण कोरियाका अधिकारीले व्यवसायमा लगाइएको कर्फ्यू केही खुकुलो पारिने बताएका छन् । तर, व्यक्तिगत भेटघाटमा ६ जनाभन्दा बढी भेला हुन नपाइने, विदेशबाट आउनेले ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनु पर्ने र कुनै-कुनै व्यवसायको हकमा लागू गरिएको भ्याक्सिन पासजस्ता प्रतिबन्ध भने जारी रहने छन् ।
प्रतिक्रिया 4