+
+
बैंकिङ शिक्षा १२ :

‘घरजग्गा छ भन्दैमा बैंकले ऋण दिंदैन, परियोजना हेरेर लगानी गर्ने हो’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १२:५३

काठमाडौं । निक्षेप संकलन गर्ने र ऋण लगानी गर्ने मुख्य उद्देश्य बोकेका बैंक तथा वित्तीय संस्थाहरुले कसरी ऋण दिन्छन् भन्ने विषयमा समेत धेरै सर्वसाधारणहरुलाई जानकारी नहुन सक्छ । बैंकहरुले आम सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्ने भए पनि कतिपय दुरदराजका नागरिकहरुमा बैंकले ठूला र पूँजीपतिहरुलाई मात्रै ऋण दिन्छ भन्ने सोचाइ छ ।

ठूला भनिएका वाणिज्य बैंकहरु अझै पनि सर्वसाधारणसम्म पुग्न सकेका छैनन् । प्रक्रिया पूरा गरेपछि बैंकले जोसुकैलाई पनि ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बताउँछन् । प्रस्तुत छ, बैंकिङ शिक्षा अभियान अन्तर्गत सर्वसाधारणलाई बैंक ऋणबारे बुझाउन सीईओ श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

बैंकहरुबाट कसरी कर्जा लिन सकिन्छ ?

बैंकको मुख्य काम भनेको निक्षेप स्वीकार गर्ने र कर्जा दिने नै हो । कर्जा लिन जानुभन्दा पहिला बुझ्नै पर्ने कुरा भनेको, हामी के कामका लागि कर्जा लिने भन्ने कुरामा स्पष्ट हुनुपर्छ । कर्जा के उद्देश्यका लागि लिने भन्ने कुरा प्रष्ट भएपछि बैंकमा जाने हो । त्यसपछि कर्जा लिने व्यक्तिको योग्यता र क्षमताको कुरा आउँछ । व्यक्तिको कर्जा लिएपछि गर्ने काम, परियोजना र कर्जा लिएपछि तिर्नसक्ने क्षमताको विषयमा समेत हेरिन्छ ।

अर्को कुरा भनेको कर्जा दिइसकेपछि सुरक्षणको रुपमा हामी केही मापदण्ड अनुसार सुरक्षण लिएर कर्जा प्रवाह गर्छौं । कर्जा लगानी भएपछि जे कामका लागि लिएको हो, सो अनुसार छ छैन भन्ने कुरा पनि हामी हेर्छौं । उद्देश्य अनुसार नै कर्जा सदुपयोग भएको छ छैन भन्ने कुरा हेरेपछि नियमित कर्जाको किस्ता र व्याज समेत भुक्तानी गर्नुपर्ने हुन्छ । बैंकबाट कर्जा लिनका लागि गर्नुपर्ने काम भनेको म केका लागि कर्जा लिन चाहान्छु भन्ने विषय नै हो ।

ठूला बैंकहरुबाट एउटा सामान्य नागरिकले ऋण लिन सकिन्छ ?

बैंक भनेको कुनै वर्गका लागि होइन । बैंक भनेको ठूला व्यापारी हुन् वा सामान्य सर्वसाधारण सबैका लागि हो । बैंकले पूरा गर्नुपर्ने केही विधि र प्रक्रियाहरु छन् । त्यसको परिधिभित्र रही कर्जा लिन सकिन्छ ।

बैंक भनेको कुनै वर्गका लागि होइन । बैंक भनेको ठूला व्यापारी हुन् वा सामान्य सर्वसाधारण सबैका लागि हो । बैंकले पूरा गर्नुपर्ने केही विधि र प्रक्रियाहरु छन् । त्यसको परिधिभित्र रही कर्जा लिन सकिन्छ ।

ठूला बैंकले पूँजीपति, उद्योगी, धनाढ्यलाई मात्रै ऋण प्रवाह गर्ने भन्ने कुरा हुँदैन । बैंकले सबैलाई समान किसिमले हेरेको हुन्छ । प्रक्रिया पूरागरेपछि सामान्य नागरिकले पनि जुनसुकै बैंकबाट ऋण लिन सक्नेछन् ।

ठूला बैंकहरुले सामान्य सर्वसाधारणलाई सहज तरिकाले ऋण प्रवाह गर्दैनन् भन्ने गुनासाहरु पनि आउने गरेका छन् नि होइन ?

ठूला बैंकहरुले विपन्न वा सामान्य नागरिकलाई नदिने भन्ने कुरा हुँदैन । तर ऋण लिनका लागि केही प्रक्रियाहरु पूरा भने गर्नुपर्छ । प्रक्रियाहरु पूरा गरिसकेपछि साना वा ठूला भनेर ऋण नदिने भन्ने हुँदैन । बैंक ठूला भए पनि त्यहाँबाट सबैले सुविधा पाउनुहुन्छ ।

कर्जा लिने प्रक्रियाहरु के-के हुन् ? यसका लागि के-के कागजातहरु चाहिन्छ ?

सबै कर्जाहरु एकै प्रकारका हुँदैनन् । कर्जाको आकार र प्रकार पनि हुन्छन् । कुन आकारको कर्जा लिने त्यो अनुसार पनि कागजातहरु फरक हुनसक्छन् । आधारभूत रुपमा भन्नुपर्दा कर्जा लिने मान्छे नेपाली नागरिक हुनुपर्छ । कर्जा लिने व्यक्तिले नागरिकता समेत लिएको हुनुपर्छ ।

कर्जा केका लागि लिन लागेको भनेर परियोजना प्रस्ताव पनि चाहिन्छ । कानुनी रुपले आवश्यकत कागजातहरु चाहिन्छ । जस्तो फर्मका लागि लिइने ऋण हो भने त्यो फर्म कुन-कुन कार्यालयमा दर्ता हुनुपर्छ, भएको प्रमाण चाहिन्छ ।

यसका साथै पारिवारिक विवरण पनि आवश्यक पर्छ । सगोलको परिवारमा हुनुहुन्छ भने उहाँहरुबाट ग्यारेन्टी पनि लिनुपर्ने व्यवस्था छ । कर्जाका लागि सुरक्षण पनि चाहिन्छ ।

पैसाको आवश्यकता पर्दा धेरैले चिनजानका व्यक्तिबाट महँगो व्याजदरमा लिने चलन अहिले पनि गाउँघरमा छ । गाउँका साहुसँग होइन बैंकबाटै कर्जा लिनु पर्छ भनिएको छ, किन होला ?

बैंकको स्थापनाको मूल उद्देश्य भनेको पारदर्शी, सस्तो र सुलभमा वित्तीय सेवा प्रदान गर्नु हो । गाउँघरमा व्यक्ति वा कुनै साहुमजाहनबाट ऋण लिंदा त्यसको व्याज महँगो हुनजान्छ । त्यो सुरक्षित वित्तीय कारोबार पनि होइन ।

निश्चित रकम, निश्चित तरिका, निश्चित विधि र प्रक्रियाबाट कारोबार गर्नका लागि कर्जाको आविष्कार भएको हो । अपारदर्शी तरिकाले वित्तीय कारोबार गर्नु हुँदैन । यसले असुरक्षा बढाउँछ ।

बैंकिङ कर्जाबारे आम जनमानसमा बुझाउनु पर्ने केही विषयहरु छन् कि ?

बैंकको विषयमा धेरै नागरिकहरुलाई जानकारी छैन । अहिले पनि बैंकिङ पहुँच ६५ प्रतिशत नागरिकमा मात्रै छ । वित्तीय साक्षरता नबुझेको कारण बैंक भनेको ठूला उद्योगी, ठूला मान्छेहरु, सुटेट बुटेटमात्रै जाने भन्ने सोचिन्छ ।

आवश्यक कागजातको विषयलाई पनि अतिरञ्जित गरेर बैंकमा त जानै हुँदैन सहज रुपमा ऋण दिंदैनन् भन्ने जस्तो सोच धेरै सर्वसाधारणमा छ । बैंकहरुको पनि आफ्ना केही कमजोरीहरु छन् । यसमा हामीले पनि ध्यान दिनुपर्छ । ग्राहकमुखी व्यवहार हाम्रो पनि बनाउने हो भने अझै आकर्षण बढ्नेछ । हामीले यो कुरा सर्वसाधराणमा बुझाउन पनि छ ।

कतिपय मान्छेहरु मसँग घर-जग्गा छ । मलाई ऋण चािहयो भन्नेहरु पनि हुनुहुन्छ । घरजग्गा राखेपछि ऋण दिइहाल्छन् बैंकले भन्ने सोच्नु हुँदैन । धितोमा राख्ने भनेको व्याकपमात्रै राखेको हो । घर धितोमा राख्ने वित्तिकै ऋण पाउने कुरा होइन । ऋण भनेको केही गर्नका लागि दिने हो । आफूले के गर्न चाहेको हो भन्ने कुरा पहिले स्पष्ट हुनुपर्छ अनि बैंकले ऋण दिन्छ । बैंकले परियोजना हेरेर, ऋणको सुरक्षण लगायत धेरै हेरेर दिन्छ ।

बैंकले ऋणको रुपमा दिने पैसा भनेको त्यो बैंकको अथवा बैंकका कर्मचारीहरुको होइन । त्यो आम सर्वसाधारणको पैसा हो । त्यहाँ सर्वसाधारणले निक्षेपको रुपमा रकम राखेको हुन्छ । उनीहरुको हितका लागि पनि जथाभावी ऋण लगानी गर्नु हुँदैन ।

केही व्याज र सुरक्षाका लागि दुःख गरेको रकम निक्षेपको रुपमा बैंकमा सर्वसाधारणले रकम जम्मा गरेको हुन्छ । त्यो रकम मागेको बेला निक्षेपकर्तालाई बैंकले फिर्ता गर्नुपर्छ । यस्तै ऋण लिनेले पनि यो कुरा बुझ्नु पर्छ । सम्पत्ति भएको भरमा ऋण पाइँदैन, यो भ्रमबाट मुक्त हुनुपर्छ ।

बैंकिङ शिक्षा १ :

बैंकिङ शिक्षा २ :

बैंकिङ शिक्षा ३ :

बैंकिङ शिक्षा  ४ : 

बैंकिङ शिक्षा ५ :

बैंकिङ शिक्षा ६ :

बैंकिङ शिक्षा ७ :

बैंकिङ शिक्षा ८ :

बैंकिङ शिक्षा ९ :

बैंकिङ शिक्षा १० :

बैंकिङ शिक्षा ११ :

बैंकिङ शिक्षा १२ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative