+
+

युएईलाई पन्छाए विश्वकपमा नेपाल यसपालि

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७८ फागुन ९ गते २०:२८

९ फागुन, काठमाडौं । क्यानडालाई ८ विकेटले हराएपछि समूहमा शतप्रतिशत जितका साथ नेपाल आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आगामी अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपमा छानिन नेपालले मंगलबार ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा युएईलाई पराजित गर्नुपर्नेछ ।

सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छानिनका लागि निर्णायक खेलमा पनि नेपालले हङकङलाई पराजित गरेको थियो । ६ टोली विश्वकपमा छानिने व्यवस्थाअनुसार २०१३ को नोभेम्बर २७ मा युएईमा भएको क्वार्टरफाइनलमा हङकङलाई पराजित गरी नेपाल ऐतिहासिक रुपमा विश्वकपमा पुगेको थियो । शरद भेषावकरले अन्तिम ओभरमा चौका र छक्कासहित १२ रन जोडेपछि नेपालले चर्चित जित पाएको थियो ।

सोही प्रतियोगितामा तेस्रो स्थानका लागि आबुधावीमा भएको प्लेअफमा युएईले दिएको १३२ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो । शरद भेषावकरले लगातार दुई छक्का प्रहार गरी नेपाललाई ऐतिहासिक जित दिलाएका थिए । त्यतिबेलैदेखि उनले समर्थकबाट ‘द फिनिसिर’को उपमा पाउन थालेका हुन् । त्यतिबेला नेपाली टिममा रहेका ज्ञानेन्द्र मल्ल र जितेन्द्र मुखियामात्र अहिलेसम्म टिममा छन् ।

यसपटक निर्णायक खेलमा युएईलाई नेपालको प्रतिद्वन्द्वीका रुपमा पाएको छ । ऐतिहासिक विश्वकप यात्राको ९ वर्ष अन्तरमा धेरै समीकरण परिवर्तन भएका छन् । दुवै टिममा धेरैजसो खेलाडी परिवर्तित छन् । पछिल्ला वर्षहरुमा युएई, नेपालजस्ता एसोसिएट देशबीचको प्रतिस्पर्धास्तर पनि बढेको छ ।

आईसीसीले क्षेत्रीय छनोट पार गरेका १६ टोलीलाई दुई समूहमा विभाजन गरेर ग्लोबल छनोट आयोजना गरेको छ । दुवै समूहका शीर्ष दुई टोलीले अस्ट्रेलियामा हुने विश्वकप खेल्नेछन् । त्यसमध्ये नेपाल रहेको समूह ‘ए’ का ८ टोलीलाई पनि दुई समूहमा बाँडेर ओमानमा प्रतियोगिता जारी छ ।

समूह ए बाट आयरल्याण्ड र युएईले सेमिफाइनलमा स्थान बनाएका छन् । सोमबार आयरल्याण्डले जर्मनीलाई हराएर समूह विजेता बन्दा युएईले बहराइनसँग पराजित भए पनि नेट रनरेटका आधारमा उपविजेता बन्यो । समूह चरणमा युएईले आयरल्याण्ड र जर्मनीलाई हराएको थियो ।

समूह बी मा रहेको नेपाल तीन खेलमा शतप्रतिशत जित निकाल्दै समूहविजेता बनेको हो । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन, दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रन र तेस्रो खेलमा सोमबार क्यानडालाई ८ विकेटले हरायो । यो समूहबाट क्यानडा बाहिरिँदा ओमान उपविजेताका रुपमा सेमिफाइनल पुग्यो । घरेलु टोलीले मंगलबार टेष्ट मान्यताप्राप्त टोली आयरल्याण्डको सामना गर्नेछ ।

राखेपका क्रिकेट प्रमुख प्रशिक्षक जगत टमाटा क्यानडामाथि नेपालको जितको मुख्य कारण  बलिङमा योजनाअनुसारको प्रदर्शनलाई नै मान्छन् । ‘मुख्य गरी स्पिनरहरुको बलिङ उत्कृष्ट रह्यो । बल टर्न पनि राम्रो थियो र फूल लेन्थमा बलिङ गर्दा लगातार विकेट पनि निस्कियो,’ टमाटाले भने ।

सन् २०१८ मा नेपालले एकदिवशीय मान्यता पाउँदा टिमका मुख्य प्रशिक्षक टमाटाले आफ्नो नियमित प्रदर्शन कायम राख्दा युएईमाथि जित कठिन नरहेको तर्क गर्छन् । ‘धेरै सोच्नुपर्दैन, हामीले हाम्रो बलियो पक्षमा टेकेर प्रदर्शन गर्ने हो । हामी अहिलेको अवस्थामा युएईभन्दा उच्च मनोबलमा छौं । उनीहरु हाम्रो प्रदर्शन देखेर सशंकित छन् । हामीले युएईलाई हराउने हो भने ब्याटिङतर्फ १६० भन्दाबढी र बलिङ गर्नुपर्‍यो भने १३० रनभित्रै रोक्न सक्नुपर्छ ।’

टमाटाले युएईका शीर्षक्रमका केही ब्याट्सम्यानहरुका लागि विशेष योजना बनाउनुपर्ने बताए । उनले थपे, ‘युएईको शीर्ष क्रमका २/३ जना ब्याट्सम्यान उत्कृष्ट छन् । उनीहरु राम्रो लयमा पनि छन् । त्यसबाहेक रोहन मुस्तफाका लागि पनि एउटा छुट्टै योजना हुनुपर्छ । उनी नेपालमा आएर धेरै खेलहरु खेलेका छन् र लगभग सबै नेपाली खेलाडीसँग परिचित छन् । उनीहरुलाई लामो समयसम्म टिक्न दिएनौं भने हाम्रो सम्भावना रहन्छ ।’

सन् २०१९ को जनवरी/फेब्रुअरीमा आयोजित टी–२० शृंखला नेपालले २–१ ले जितेको थियो । ग्लोबल क्वालिफायर सुरु हुनुअघि ओमानमै आयोजित चारदेशीय शृंखलाका क्रममा युएईले नेपाललाई २५ रनले पराजित गरेको थियो ।

नेपाली टोलीका पूर्वप्रशिक्षक जगत टमाटा भने त्यस शृंखला र अहिलेको प्रतियोगिताको माहोल धेरै फरक रहेको तर्क गर्छन् । ‘लगातार जितले हाम्रो मनोबल उच्च छ । यस प्रतियोगितामा युएईको एकरुपको प्रदर्शन देखिएको छैन,’ टमाटाले अनलाइनखबरसँग भने, ‘त्यो खेलमा कुशल भुर्तेलजस्ता मुख्य खेलाडी आराममा थिए । भोलि (मंगलबार) नेपालले हाम्रो पूर्ण क्षमताको टिम उतार्नेछौं ।’

प्रशिक्षक टमाटाले नेपाली खेलाडीहरुको एकता, मैदानभित्र उनीहरुको व्यवहार र शैलीले सकारात्मक महसुस गरेकोसमेत बताए । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार मंगलबार अपराह्न पौने ४ बजे सुरु हुनेछ । यही समयमा आयरल्याण्ड र ओमानबीच पनि खेल हुनेछ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?