+
+

एलपीएलमा शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते २०:५९

९ फागुन धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग ६ अन्तर्गत सोमबार भएको खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् ।

सोमबारको पहिलो खेलमा एभरेष्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधरा पहिलो जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

जवाफी ब्याटिङ थालेको एभरेस्ट एकेडेमीले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय रन मात्रै बनाउन सक्यो । एभरेस्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो हुन सकेन ।

बलिङतर्फ शारदाका अर्जुन सिंह साउदले ४ ओभर बलिङ गर्दै १४ रन दिएर महत्त्वपूर्ण ४ विकेट लिए । उसका मिलन बोहराले २, विकास सुनार, हेमन्त धामी र राजेश साउदले समान १/१ विकेट लिए ।

यसअघि शारदाका लागि हेमन्त धामीले २५ बलमा २ छक्का र ३ चौकासहित अविजित ३८ रनको पारी खेल्दा अनुराग सिंह २२ बलमा २३ रन बनाएर आउट भए । गणेश बिटालु र मिलन बोहराले टिमका लागि समान १४ र सुनिल चन्दले १३ रन बनाए ।

बलिङतर्फ एभरेस्टका कृश ऐरले ४ ओभरमा ३ महत्त्वपूर्ण विकेट लिँदै ११ रन दिए । आकाश चन्द र धर्म जोशीले समान २/२ विकेट लिँदा गोविन्द विष्ट र मुकेश ओझा १/१ विकेट लिन सफल भए ।

खेलको प्लेयर अफ दी म्याच हेमन्त धामी घोषित भए । सर्वाधिक छक्काको अवार्ड हेमन्तले नै पाउँदा गेमचेन्जर अवार्ड अर्जुन सिंह साउदले पाए ।

सोमबारै भएको दोस्रो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले लगातार तेस्रो जित दर्ता गरेको छ । सैनिक आवासीय महाविद्यालय तेघरीलाई ९२ रनले पराजित गर्दै हिमालयनले सानदार जित दर्ता गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रनको विशाल योगफल तयार पार्‍यो ।

२ सय ७ रनको विजयी लक्षसहित मैदान उत्रिएको सैनिकले १५.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो । सैनिकका लागि सुरुवाती ब्याट्सम्यान खडक बोहरा र प्रज्वल थापाले ३.४ ओभरमै ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवाती दिलाएका थिए । त्यसपछि सम्हालिन नसकेको सैनिकका ब्याट्सम्यानको प्रदर्शनले लगातार तेस्रो हार ब्यहोर्नुपर्‍यो । उसका लागि प्रज्वल थापाले ३६, खडक बोहराले २२, कमलेश विष्टले १३ र सागर चन्दले ११ रन मात्रै बनाउन सके ।

बलिङतर्फ हिमालयनका दीपक बोहरा (जुनियर)ले ४ ओभर बलिङ गर्दै १ मेडनसहित २० रन दिएर महत्त्वपूर्ण ५ विकेट लिए । अनुप कुँवरले ४ र सन्दीप शाहीले १ विकेट लिए ।

यस अघि हिमालयनका लागि कप्तान नारायण जोशीले ११ छक्का र ४ चौकाको मद्दतले ३२ बलमै ९२ रनको उत्कृष्ट पारी खेले । उनलाई इनिङको अन्तिम ओभरमा कमलेश विष्टले बोल्ड आउट गरेका थिए । हिमालयनका बसन्त सिंह कार्कीले २९ बलमा ४७, लक्की कडायत र एमएस थापाले समान १६/१६, दीपक बोहराले १२ रन बनाएर आउट हुँदा रजत तिमिल्सिना १० रनमा नट आउट रहे ।

बलिङतर्फ सैनिकका गौतम केसीले २, कमलेस विष्ट, शैलेस बम, सागर चन्द, खडक बोहरा र आकाश चन्दले समान १/१ विकेट लिए ।

खेलको प्लेयर आफ दी म्याच नारायण जोशी घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए । गेम चेन्जर अवार्ड दीपक बोहरा जुनियरले पाए ।

प्रतियोगितामा मंगलबार पहिलो खेलमा बिहान ९:३० बजे लिटल फ्लावर र गुरुकुल आमनेसामने हुनेछ भने दोस्रो खेलमा दिउँसो १:३० बजे विद्या भूषण र स्टेपिङ स्टोन भिड्नेछन् ।

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको विजेताले १ लाख ५० र उप–विजेताले ७५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?