+
+

बीच बाटोमै यात्रु बेच्छन् सुदूरपश्चिमका सार्वजनिक यातायात

रामहरि ओझा रामहरि ओझा
२०७८ फागुन १० गते १८:३५

१० फागुन, डोटी । कैलालीको धनगढी नगरपालिकाकी गीता बोहरा आइतबार नेपालगञ्जबाट धनगढी आउन माइक्रोबसमा चढिन् । चढ्ने बेलामा उनले चालक र सहचालकलाई पटक पटक सोधिन् ‘धनगढी जाने हो कि बाटोबाटै फर्किने हो ?’

चालक र सहचालक दुवैले कसम खाँदै धनगढी पुग्ने वचन दिए । दुईवटा गह्रुंगा झोला र चार बर्षकी छोरी साथमा रहेकी गीतालाई कैलालीको चिसापानी पुगेपछि चालक र सहचालकले अर्को गाडीमा जान भने ।

उनले आफू धनगढी जाने भनेर चढेको भनेर प्रतिवादन गरिन्, तर उनको केही सीप चलेन । ‘छोरीलाई सञ्चो छैन, उपचार गराउन नेपालगञ्ज लगेकी थिएँ’ गीता भन्छिन् ‘सिधै धनगढीसम्म जाने गाडी भए छिटै पुगिएला भन्ने थियो तर बीचमै अर्को गाडी फेर्नुपर्ने भयो ।’

डोटीका श्याम नेगीलाई पनि नेपालगञ्जबाट धनगढीसम्म जाने भनी चालक र सहचालकले गाडी चढाए । तर चिसापानीमा ओरालेर अर्को गाडी चढ्न भनियो । बसपार्कबाट यात्रुहरुलाई तान्दै गाडीमा हाल्ने अनि बीच बाटोमै अर्को गाडीलाई यात्रु बेच्ने प्रचलन नै बनेको छ सुदूरपश्चिममा ।

‘चार बजे जसरी पनि हामी धनगढी पुर्‍याउँछु भन्दै ११ बजे नेपालगञ्जबाट गाडीमा राख्यो’ एक यात्रु भन्छन् ‘तीन बजे बल्ल चिसापानी पुर्‍यायो, यहाँ आएर अर्को गाडीमा पठाउँछु भन्दैछ ।’

कञ्चनपुरका हिरा चन्दले पनि यस्तो समस्या धेरै पटक भोगेका छन् । ‘सार्वजनिक यातायातमा यिनीहरुले जे मन लाग्छ, त्यही गर्छन्, नियमन गर्ने निकायले वास्ता गर्दैन, हामी यात्रुहरुले दुःख पाउँछौं’ उनी भन्छन् ।

बीच बाटोमै यात्रु ओरालेको विषयमा प्रश्न गर्दा चालक र सहचालकले उल्टो यात्रुलाई धम्क्याउँछन् । ‘हामीलाई नेपालगञ्ज पुग्न ढिलो हुन्छ’ एक चालकले भने, ‘जाने हो भने खुरुक्क झरेर त्यो गाडीमा बस्नोस्, होइन भने उतै (नेपालगञ्ज) पुर्‍याइदिन्छु ।’

गन्तव्यमै पुर्‍याउने भन्दै यात्रुहरु बोक्ने र कमिसन खाएर अर्को गाडीलाई यात्रु दिने गरेको आरोप यात्रुहरुको छ । ‘धनगढीबाट नेपालगञ्ज पुग्दासम्म हामीलाई चार पटक बेच्छन्’ एक यात्रुले भने, ‘कसैले अत्तरिया पुर्‍याएर बेच्छ, कसैले चिसापानी त कसैले कोहलपुर पुर्‍याएर बेच्छ ।’

सुदूरपश्चिमका सवारी साधनले यात्रु बेच्ने मात्र होइन, क्षमता भन्दा दोब्बर बढी यात्रु राख्ने गरेको गुनासो पनि छ । डोटी बोगटान फुड्सिल गाउँपालिकाका शेरवहादुर बोहरा भन्छन्, ‘पहाडी रुटमा चल्ने माइक्रोबसमा १४÷१५ सिट हुन्छ तर २४ जनासम्म राखेर हिँड्छन् ।’ ट्राफिक प्रहरीले देखेर पनि नदेखे जस्तो गर्ने गरेको उनको आरोप छ ।

टाइम कार्डमा पनि मनपरी

सुदूरपश्चिममा सवारी दुर्घटना बढेपछि सवारी साधनको गति सीमित गर्न टाइम कार्डको व्यवस्था गरिएको छ । पहाडी रुटमा अत्तरियादेखि डडेल्धुरासम्म र तराईमा चिसापानीसम्म टाइमकार्डको व्यवस्था छ । तर, त्यो व्यवस्था पनि कर्मकाण्डी मात्रै भएको छ ।

टाइम कार्डको नाममा ट्राफिक प्रहरीलाई गाडीहरुबाट रकम असुल गर्न सहज भएको यात्रुहरुको बुझाइ छ । ‘चेक पोष्टमा प्रहरीलाई ५० रुपैयाँ दिने हो भने टाइम कार्डको टाइम परिवर्तन हुन्छ’ एक यात्रुले भने ‘यो सबै कमाइ खाने मेसो बनाएको हो ।’

यात्रु बोहरा भन्छन्, ‘घडीको टाइम र टाइम कार्डको टाइम कहिल्यै मेल खाँदैन ।’

‘प्रहरीलाई पैसा दिनै पर्छ’

यातायात व्यवसायीहरु भने ट्राफिक प्रहरीलाई पैसा खुवाउनैपर्ने बाध्यता रहेको बताउँछन् ।

‘ठाउँठाउँमा बसेका हुन्छन्, सिट क्षमता अनुसारमै यात्रु राखेको भएपनि, कहिले लाइट खराब, कहिले नम्बर प्लेट खराब, कहिले ढोका नलागेको, कहिले के बहाना बनाएर पैसा असुल्न खोज्छन्’ धनगढी–नेपालगञ्ज रुटमा चल्ने एक सवारी चालक भन्छन् ‘दुई÷अढाई सय हातमा थमायो भने सहजै जान दिन्छन्, हैन भने दुई हजारको चलान काट्ने धम्की दिन्छन् ।’

उनका अनुसार दिनकै पाँच सयदेखि एक हजार रुपैयाँसम्म ट्राफिक प्रहरीका लागि छुट्याउनैपर्ने बाध्यता छ । ‘त्यो पैसा असुल गर्नका लागि पनि हामीले क्षमता भन्दा बढी यात्रु हाल्नुपर्ने बाध्यता छ’ त्यसैले जति सकिन्छ, यात्रुहरु बोक्ने गरेको बताउँदै भन्छन्, ‘नत्र कोचाकोच गरेर लैजाने रहर त हामीलाई पनि कहाँ छ र ?’

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंह भने ट्राफिक प्रहरीलाई बदनाम गर्नका लागि यस्तो हल्ला गरिएको बताउँछन् ।

सिट क्षमता भन्दा बढी यात्रु राख्न नदिन, नम्बर प्लेट दुरुस्त राख्न र टाइम कार्डको पूर्ण रुपमा पालना गर्न÷गराउन मातहतका सवै इकाइहरुलाई निर्देशन गरिएको उनको भनाइ छ ।

सिट क्षमता भन्दा बढी यात्रु राखेर र अन्य सवारी साधनलाई बेचेर यात्रुलाई दुख दिएको गुनासो आए छानबिन गरेर कारबाही गर्ने प्रहरी निरीक्षक सिंह बताउँछन् । उनी भन्छन् ‘हामीलाई त्यस्तो कुनै गुनासो आएको छैन, यात्रुहरुलाई दुःख दिने र कमिसन खाने जो कोहीलाई पनि तत्काल कारवाही गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?