+
+

जयनन्द लामा : कलाकारिताको ‘सिंगो प्याकेज’

सुशील नेपाल सुशील नेपाल
२०७८ फागुन ११ गते २०:२३

११ फागुन, काठमाडौं । अग्रज लोक गायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान ६६ वर्षको उमेरमा निधन भयो । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि उनी मृत फेला परेका थिए । दूध पुर्‍याउन आउने व्यक्तिले उनलाई गाडीमा लडेको अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए ।

जयनन्द लामाको निधनले यतिबेला नेपाली सांगीतिक क्षेत्रसँगै चलचित्र क्षेत्र शोकमा छ । उनको निधनमा सांगीतिक क्षेत्र, चलचित्र क्षेत्रसँगै श्रोता-दर्शकहरु थुप्रैले दुःख व्यक्त गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका जयनन्द लामा झण्डै पाँच दशक कलाकारिता क्षेत्रमा सक्रिय रहे ।

नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट चलचित्र अभिनय यात्रा थालेका थिए । पहिलो क्यासेट एल्बम निकाल्ने गायक समेत जयनन्द नै थिए । उनले दुई सय बढी गीत गाएका छन् । विशेषगरी रमाइलो खालका गीत सिर्जना र गाउने गरेका उनका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोक गीत अहिले पनि उत्तिकै चर्चित छन् ।

जयनन्दलाई सम्झिंदै हरिवंश भन्छन्- उहाँ त वाद्यवादन पनि बजाउने, नृत्य पनि गर्ने, गीत पनि गाउने, हास्यव्यङग्यदेखि अभिनय पनि गर्ने । कलाकारिताको एउटा सिंगो प्याकेज नै हो उहाँ ।

पहिलो तामाङ भाषाको चलचित्र ‘छोमरी छोरङान’ लेखन तथा निर्देशन समेत जयनन्दले गरेका थिए । त्यस्तै ‘माया गर्छु म’, ‘कर्मको फल’ जस्ता चलचित्रहरु निर्देशन समेत गरेका थिए । बीचको केही वर्ष भने उनी चलचित्र अभिनयबाट केही टाढा देखिएका थिए । केही वर्षअघि मात्रै ‘छक्का पञ्जा’, ‘जय भोले’ जस्ता चलचित्रमा अभिनय गरेपछि उनी पछिल्लो समय चलचित्रमा निकै व्यस्त कलाकारमा पर्दथे ।

त्यसयता उनले ‘दाल भात तरकारी’, ‘भैरे’, ‘साली कस्को भेनाको’ जस्ता थुप्रै चलचित्रमा अभिनय गरेका थिए । ‘कबड्डी ४’, ‘चोर पुलिस’, ‘गणपति’जस्ता चलचित्रको समेत छायांकन सकाएका छन् । यी चलचित्रको डबिङ हुन बाँकी नै छ । ‘छक्का पञ्जा ४’, ‘२ नम्बरी’ जस्ता थुप्रै चलचित्रको छायांकनमा जाने तयारीमा थिए ।

‘नेपाल लोक स्टार’मा निर्णायकको भूमिका समेत निर्वाह गरेका लामा पछिल्लो समय हास्य सिरियल ‘हल्का रमाइलो’मा नियमित देखिंदै आएका थिए । गत सोमबार मात्रै ‘हल्का रमाइलो’को पछिल्लो भागको छायांकन भएको थियो, जुन प्रसारणमा आउनै बाँकी छ ।

अग्रज हास्य कलाकार हरिवंश आचार्य जयनन्दलाई कलाकारिता क्षेत्रको एउटो सिंगो प्याकेजका रुपमा चित्रण गर्छन् । जयनन्दसँग उनको सम्बन्ध निकै पुरानो हो । आफू १६ वर्षको हुँदादेखि नै जयनन्द साथी रहेको हरिवंश बताउँछन् ।

हरिवंश र जयनन्द एउटै (पद्मोदय स्कूल)मा पढेका थिए । जयनन्द त्यतिबेलादेखि ‘भैरव नृत्य दल’मा आबद्ध भइसकेका थिए । उनले नै आफूलाई पनि ‘भैरव नृत्य दल’सम्म पुर्‍याएको हरिवंश बताउँछन् । उनका अनुसार जयनन्दलाई वरिष्ठ नृत्यकार भैरवबहादुर थापाले नै नृत्य क्षेत्रमा ल्याएका हुन् ।

२०३३-३४ सालतिर भैरव नृत्य दलको कार्यक्रममा जयनन्दसँगै आफू धेरै जिल्लामा पुगेर प्रहसन गरेको हरिवंश सम्झन्छन् । २०३५ सालमा गाईजात्रा महोत्सवमा आफूहरु मिलेर देखाएको प्रहसनमा आफूले गोल्ड मेडल पाएको उनी बताउँछन् । पछि धेरै स्टेज कार्यक्रममा उनीहरुले सहकार्य गरे । मह सञ्चारको केही टेलिफिल्ममा पनि जयनन्दले अभिनय गरे ।

‘सुरुमा त उहाँ नृत्यकार हो । पछि गायनमा पनि उहाँ निकै जम्नुभयो । अभिनयमा त उहाँको आफ्नै शैली छ जुन अतुलनीय छ’ हरिवंश अनलाइनखबरसँग भन्छन्, ‘कोही गायनमा जमेका हुन्छन् । कोही नृत्यमा जमेका हुन्छन् । कोही अभिनयमा जमेका हुन्छन् । कोही वाद्यवादनमा जमेका हुन्छन् । तर उहाँ त वाद्यवादन पनि बजाउने, नृत्य पनि गर्ने, गीत पनि गाउने, हास्यव्यङग्यदेखि अभिनय पनि गर्ने । कलाकारिताको एउटा सिंगो प्याकेज नै हो उहाँ । त्यति धेरै प्रतिभा भएको व्यक्ति जन्मन गाह्रो हुन्छ ।’

हरिवंशले पछिल्लो पटक आफूहरुको चलचित्र ‘दाल भात तरकारी’मा जयनन्दसँग सहकार्य गरेका थिए । जयनन्द व्यक्तिगत हिसाबमा पनि सबैसँग मिलनसार व्यक्तिका रुपमा परिचित थिए । सामाजिक सञ्जालबाट मृत्युको खबर पाउँदा आज ती पुराना दिनहरु आँखामा घुमिरहेको हरिवंश बताउँछन् । जयनन्दको निधनबाट नेपाली कलाकारिता क्षेत्रको एउटा सिंगो प्याकेजको अन्त्य भएको हरिवंश बताउँछन् ।

अग्रज लोकदोहोरी गायक नारायण रायमाझी पनि जयनन्दलाई बहुमुखी प्रतिभाको धनी व्यक्तिका रुपमा चित्रण गर्छन् । ‘उहाँ अलराउण्डर हुनुहुन्थ्यो । उहाँ गीत राम्रो गाउने, अभिनय पनि उत्तिकै राम्रो गर्ने, नृत्य पनि राम्रो गर्नुहुन्थ्यो । वाद्यवादनमा पनि उत्तिकै पोख्त हुनुहुन्थ्यो । सबै खालको प्रतिभा उहाँमा थियो,’ रायमाझीले अनलाइनखबरसँग भने ।

२०४२ सालमा रेडियो नेपालमा जयनन्द लामासँग रायमाझीको भेट भएको थियो । रायमाझी रेडियो नेपालमा प्रवेश गर्दा जयनन्द पनि प्रज्ञा प्रतिष्ठानबाट काजमा रेडियो नेपाल आएका थिए । रायमाझी रेडियो नेपालमा जयनन्दले नै आफ्नो वाद्यवादन र स्वर परीक्षा लिएको बताउँछन् ।

निर्देशक दीपेन्द्र लामा जयनन्दलाई व्यक्तिगत रुपमा एकदमै हँसिलो र सरल व्यक्ति भएको बताउँछन् । पारिश्रमिकको कुरामा पनि विवाद नगर्ने, जस्तो बजेटमा पनि एडजस्ट हुनसक्ने कलाकार भएको लामाले बताए । जयनन्द उनकै निर्देशन रहने ‘२ नम्बरी’मा अभिनय गर्ने तयारीमा थिए । दीपेन्द्रले फेसबुकमा लेखेका छन्, ‘अरु ३-४ वटा फिल्मको कामले गर्दा व्यस्त उहाँ भन्दै हुनुहुन्थ्यो, ‘तपाईंको फिल्मबाट मलाई छिट्टै फ्रि गरिदिनुस् है । बरु मलाई क्लाइमेक्स सिनमा नराख्नुस् । आई एम सिक्स्टी सिक्स ! हिजो उहाँले भन्नुभएको अझै कानमा गुन्जिरहेको छ । उहाँको प्रस्थान अकल्पनीय लागिरहेको छ ।’ लामाले पनि जयनन्दले कलाकारितामा ‘अलराउण्डर’का रुपमा पहिचान बनाएको बताए ।

हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) जयनन्द लामाको निधनको खबर सुरुमा विश्वास गर्नै गाह्रो लागेको बताए । ‘हल्का रमाइलो’का लेखक, निर्देशक तथा कलाकार मरिचमानका अनुसार गत सोमबार मात्रै यो टेलिसिरियलको छायांकन थियो । ‘सोमबार मात्रै धर्मस्थलीमा ‘हल्का रमाइलो’को सुटिङ थियो । रमाइलोसँगै सुटिङ सकेर सँगै खाना खाएर छुटेका थियौं,’ मरिचमानले भने, ‘आज बिहान निधनको खबर सुन्दा पत्याउनै गाह्रो लाग्यो ।’

टेलिसिरियलमा काम गर्दा जयनन्दसँग धेरै कुराहरु सिक्ने अवसर पाएको उनी बताउँछन् । ‘हल्का रमाइलो’ सिरियलमा आफूहरु निर्देशक भएपछि निर्देशनमा जयनन्दले धेरै कुरामा गाइड गर्ने गरेको मरिचमानले बताए । ‘केही मिष्टेक हुँदा बल्छी भाइ त्यो त अलि भएन होला भनिहाल्नुहुन्थ्यो । यो शब्द यसरी बोल्नुस् । त्यो बोल्दा अलि नराम्रो हुन्छ कि ? लगायतका कुराहरु गाइड गर्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘हाम्रो टिमको एकदमै अग्रज व्यक्ति हामीले गुमायौं । त्यो भन्दा पनि राष्ट्रले नै ठूलो कलाकार गुमाएको छ ।’

जयनन्दले ललितकला क्याम्पसबाट संगीतमा स्नातक र भारतको इलाहावादबाट स्नातकोत्तर गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा चार वर्षजति एमम्युजका विद्यार्थीहरुलाई अध्यापन समेत गराएका थिए ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?