
१३ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा शुक्रबारदेखि धनगढीमा सुरु भएको छ । यसअघि पुसमा क्यानको साधारणसभा तय भए पनि केही जिल्ला संघको कार्यकाल सकिएको र जिल्लाको निर्वाचन गर्नुपर्ने भएकोले स्थगित गरिएको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले अब खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताए । ‘संघले क्रिकेट विकास हुनुपर्ने आम अपेक्षा पूरा गर्न सक्ने विश्वास लिएको छु । खेल क्षेत्रमा विगतमा व्यापक राजनीतिकरण हुने प्रचलन बिस्तारै कम हुँदै गएको छ। खेल क्षेत्रमा समर्पित व्यक्तिहरूलाई जिम्मेवारी दिँदै अघि बढ्नुपर्छ।,’ मन्त्री गहतराजले भने ‘राज्यले खेलकुदमा अत्यन्त न्यून बजेट छुट्याउँदा पूर्वाधार र प्रतियोगितामा असर परेको छ, अब आगामी दिनमा खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्छ।’
यस्तै, क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी-२० लिग सञ्चालन गर्दै क्रिकेटलाई व्यावसायिक बाटोमा अघि बढाउने बताए । ‘नेपाली क्रिकेटलाई स्थापित गर्न संघले निकै ठूलो सङ्घर्ष गर्दै आइरहेको छ । सरकारी स्तरमा नै क्रिकेटप्रति लगानी कम हुँदै गएको अनुभूति हामीले गरेका छौ।‘ चन्दले भने ‘क्रिकेटमा अनुशासन कायम गर्न, पारदर्शी रूपमा काम अघि बढाउन वर्तमान कार्यसमिति कटिबद्ध रहेको छ । नेपाल टी-२० लिग सञ्चालन गर्दै क्रिकेटलाई व्यावसायिक बाटोमा अघि बढाउन हामी अघि बढ्दै छौँ।‘
उद्घाटन समारोहमा मन्त्री गहतराजसँगै क्यान अध्यक्ष चतुरबहादुर चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, पूर्वउपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभा दुई दिन सञ्चालन हुनेछ । साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि वार्षिक लेखापरीक्षक नियुक्ति गर्ने, सन् २०२२ को कार्यक्रम र बजेटबारे छलफल गर्ने, संघको आर्थिक नियमावली र कार्यविधि सम्बन्धमा पनि छलफल हुने यसअघि नै सूचनामार्फत् जनाएको छ । नयाँ जिल्ला संघहरूलाई मान्यता दिने, केन्द्रीय समितिमा रिक्त पदहरूमा पदपूर्ति गर्नेलगायत कार्यसूची रहने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4