
१५ फागुन, काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण चलचित्रको छायांकनमा समेत ढिलाइ भएकाले यसको प्रदर्शन मिति तय गर्न पनि ढिलाइ भएको हो ।
यो चलचित्रलाई आगामी वर्षको भदौ १० गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । खगेन्द्रले लेखेको नाटकलाई उनले चलचित्रको स्वरुप दिएका हुन् । यो चलचित्रले माओवादी जनयुद्धको समयमा झण्डै डेढ दशकअघि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाबुआमाको कथालाई भन्छ ।
यो चलचित्रमा खगेन्द्र लामिछाने, सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । चलचित्रको छायांकन काठमाडौंसँगै बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको हो ।
खगेन्द्रले नाटकलाई चलचित्रमा ल्याउनु आफ्नो सपना समेत बताए । निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन रहेको यो चलचित्रमा दीपक बज्राचार्यको छायांकन छ । टुकी आर्टस्ले यो चलचित्रको निर्माणमा मन्जुश्री फिल्मससँग सहकार्य गरेको छ । चलचित्रमा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी छ ।
प्रतिक्रिया 4