
२० फागुन, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले समाजमा पीडितले ‘पीडित हुँ’ भन्न पनि ठूलै हिम्मत बोकेर आउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताएकी छन् ।
पल शाह प्रकरणबारे टिप्पणी गर्दै उनले एक नाबालिगले ‘म पीडित हुँ’ भन्दा उनको चरित्रमाथि नै प्रश्नचिन्ह उठाउने काम सभ्य समाजले गर्नै नसक्ने बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै प्रियंकाले निर्णय गर्न सक्ने उमेर नभएकैले नाबालिग भनिएको र तिनको संरक्षण गर्नु समाजको दायित्व भएको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘नाबालिगको हकमा, मैले बुझेअनुसार उमेर हदबन्दी (१८ वर्ष) नेपालमा मात्र होइन, विश्वका सबै देशमा आफ्नो परिवेशअनुसार उमेर नपुगेकाहरुको निर्णय गर्न सक्ने क्षमतालाई ध्यानमा राखेर नै बनाइएको हुन्छ । नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको दायित्व पनि हो भन्ने मेरो मान्यता हो । यस्तो अवस्थामा नाबालिगले ‘म पीडित हुँ’ भन्दा उनको चरित्रमाथि नै प्रश्नचिन्ह उठाउनु एउटा जिम्मेवार समाजको काम हुनै सक्दैन ।’
प्रियंकाले कानुनी प्रक्रियाका लागि सबैले सहयोग गर्नुपर्ने भन्दै प्रहरी र न्यायिक निकायलाई निष्पक्ष ढंगले काम गर्न दिनुपर्ने बताएकी छन् ।
प्रतिक्रिया 4