२२ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं संस्करणको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र साविक उपविजेता कोलकता नाइट राइडर्स भिड्ने भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आइतबार यस संस्करणको खेलतालिका सार्वजनिक गरेको हो । मार्च २६ तारिखमा मुम्बईको वाङखडे मैदानमा चेन्नई र कोलकताबीच खेलसँगै आईपीएल सुरु हुनेछ ।
यस संस्करणको आईपीएलका खेलहरु मुम्बई र पुनेमा खेलाइनेछ । ६५ दिन चल्ने आईपीएलमा लिग चरणमा ७० र प्लेअफमा ४ खेल हुनेछ ।
यस सिजनमा दुई नयाँ टोली थपिएपछि कूल १० टोली सहभागी छन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन् ।
यस्तै, समूह ‘बी’ मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, पञ्जाब किंग्स र गुजरात टाइटन्स छन् । यो सिजनमा प्रत्येक टोलीले १४ खेल खेल्नुपर्नेछ । जसमा टिमले पाँच टिमसँग २-२ तथा चार टिमसँग १-१ खेल खेल्नेछ ।
यसपटक आईपीएलका खेलहरु चार स्टेडियम खेलाइनेछ । जसमध्ये वाङखडे स्टेडियम र डिवाई पाटिल स्टेडियममा २०-२० तथा ब्राबोर्न र एमसीए स्टेडियममा १५-१५ खेल हुनेछ ।
प्लेअफ र फाइनल खेलको तालिका र खेल हुने स्थान पछि तय गरिने बीसीसीआईले जनाएको छ । यस पटक महाराष्ट्र सरकारले २५ प्रतिशत दर्शकलाई खेल हेर्न अनुमति दिने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया 4