+
+
विचार :

‘लेडिज फर्स्ट’ अर्थात् नारी पहिले हाम्रो वैदिक दर्शनले भनेको हो

हाम्रो दर्शनले नर या नारी दुवैलाई सम्मान र समताको दृष्टिकोण र भावनाले दृष्टिगोचर गरेको छ। त्यसैले हामी आफ्नो दर्शन र विचारमा महान र दिव्य बन्न सकौं। यसले हाम्रो आफ्नो मान्यताको उजागर गर्नेछ।

पण्डित दीनबन्धु पोखरेल पण्डित दीनबन्धु पोखरेल
२०७८ फागुन २४ गते ९:००

 नु: नरस्य वा धर्म आचारो अस्या भन्ने संस्कृत शब्द विग्रहबाट नारी शब्दको उत्पत्ति भएको मानिन्छ। यसको वास्तविक अर्थ अन्धकारबाट उज्यालो, अज्ञानताबाट ज्ञान, असत्यबाट सत्य, जडबाट चेतनतर्फ परिलक्षित एउटा पुञ्जको नाम नारी हो भन्ने बुझिन्छ।

वैदिक दर्शनले नारीलाई एउटा आदि स्रोत अर्थात् सम्पूर्ण सृष्टिको पहिलो र सनातन शक्तिको रूपमा मानेको छ। नारी भनेको वास्तवमा शरीर, ऐश्वर्य, उर्वरा, सिर्जना, सौन्दर्य, आर्जवता हो। तेज र ज्ञान भएको शक्ति हो, दैवी शक्ति, विदुषी शक्ति र ब्रह्मवादिनी शक्तिको रूपमा वेदले विशेषरूपमा नारीको सम्मान गरेको छ।

अथर्व वेद, ऋग्वेद आदिका श्लोकमा नारीको दिव्यता र सर्वोच्चताको बारेमा वैदिक दर्शनले विशेष सम्मान गरेको छ। सृष्टिको सुरूमै नारीको सम्मानका लागि विभिन्न ग्रन्थले यसरी व्याख्या गरिएको मानिन्छ-

 अर्धनारी नरवपु: प्रचण्डोति शरीरवान्

विभाजात्मा नमित्युक्त्वा तं ब्रम्हान्त दधेतत:

अर्थात् सृष्टिको सुरुमै नारी भनेको पहिला हो, आधा हो। पुरुष भनेको आधा तर पछि हो। ‘लेडिज फर्स्ट’ अर्थात् ‘नारी पहिले’ भन्ने कुरा सर्वप्रथम हाम्रो वैदिक दर्शनले नै बताएको हो। हाम्रो नेपालमा जीवित देवी अर्थात् कुमारीको सम्मान गरिन्छ। विश्वमा कुनै पनि धर्मदर्शन या भूगोलमा नारीलाई जीवित देवीको रूपमा सम्मान गर्ने प्रचलन छैन, जुन हाम्रो परम्परा विशेषतः नेपालमा विद्यमान रहेको छ।

हामी राधोत्सव अर्थात् राधाको उत्सव मनाउँछौं। नवरात्रमा दुर्गा पूजा गर्छौं। सीता सम्मान दिवसको रूपमा हामी सम्मान गर्छौं। त्यसैगरी, हामी सीता नभनी राम भन्दैनौं। रामभन्दा पहिले सीताको सम्मान गर्छौं। नारी पहिले भन्ने कुरा यहाँबाट पनि पुष्टि हुन्छ। राधा-कृष्ण, उमा-महेश्वर, लक्ष्मी-नारायण भन्ने सम्बोधनमा पनि नारीलाई पहिलो प्राथमिकता र सम्मान दिएको पाइन्छ।

यसरी वैदिक-कालमा नारीलाई विशेष स्थान दिएको छ। त्यतिबेला नारी विनाको घरलाई घर नै भनिंदैनथ्यो। त्यही परम्पराअनुसार घरकी सबैभन्दा सानी छोरीलाई ढोग गरेर नारीको सम्मान गर्ने चलन छ। कन्याकुमारीलाई लत्याउन हुँदैन भन्ने मान्यता छ। अन्य दर्शनमा नारीलाई विदुषी या दैवी शक्ति वा दैवी प्रतीकको रूपमा सम्मान गरिएको पाइँदैन।

विकारयुक्त रगत बगेको बेला पुरुषसँग सम्भोग गर्नुहुँदैन भन्ने लगायतका मान्यता बन्यो। विकारयुक्त रगत बगेको बेला यौनजन्य रोग लाग्छ या नारी कमजोर भएको बेला टाढा टाढा हिंडाउनुहुँदैन भनेर विश्राम दिन घरमा राख्ने चलन बनेको हो। तर, नारीलाई पर्गेलेको वा पर सारेको होइन। नारी अछूत हुने भनेर शास्त्रमा कहीं पनि उल्लेख छैन। पछि कुनै कालखण्डमा गएर कुसंस्कृतिको रूपमा गलत परम्पराले स्थान पायो।

कालिका उपपुराण नारीको सम्मानका लागि बनेको पुराण हो। श्रीमद्देवीभागवत पुराणमा नारी शक्तिको विशेष स्थान रहेको छ। यसमा नवौं स्कन्धको पहिलो अध्यायमा पञ्च प्रकृति- दुर्गा, लक्ष्मी, सरस्वती, सावित्री र राधाको चर्चा गरिएको छ।

दुर्गा भनेको क्रिया, लक्ष्मी भनेको ऐश्वर्य, सरस्वती भनेको ज्ञान, सावित्री भनेको बुद्धि र राधा भनेको प्रेमको प्रतीक हो। क्रिया, ऐश्वर्य, ज्ञान, बुद्धि र प्रेम जसमा छ, त्यो संसारको सर्वशक्तिमान र सर्वसम्पन्नताले पूर्ण हुन्छ भनेर हाम्रो दर्शनले बताएको छ। त्यसैले श्रीमद्देवीभागवतमा नारीलाई विशेष स्थान दिइएको छ। नारीलाई पञ्चप्रकृतिको रूपमा मानिएको छ।

पुराणमा नारीलाई शक्ति, प्रेम, ऐश्वर्य, ऊर्जा, क्रिया, इच्छा, बुद्धि, ज्ञान, कोमलता, शिष्टता, नम्रता, शालीनता इत्यादिले परिपूर्ण भएको भनेर विशेष सम्मान दिएर व्याख्या गरिएको पाइन्छ।

चलनचल्तीमा हेर्ने हो भने पितृ-वात्सल्य भनेर कसैले भन्दैन, हामी सबै मातृ-वात्सल्य भन्दछौं। मातृभूमि र मातृभाषा भन्ने चलन छ। मातृत्व र मातृ-दिवस भन्ने चलन छ। यसरी हामी नारीलाई विशेष रूपमा सम्मान गर्छौं। वैदिक परम्पराअनुसार हामी मातृ-दिवस नै मनाउँदै आएका छौं।

विशेषतः वैदिक धर्मलाई मिथ्या सावित गर्नका लागि केही आक्षेपण गर्ने, परचक्री र परविचार लिएर एउटा समूह विभिन्न समाजको नाममा अहिले उद्वेलित भएर परिचालित भइरहेको छ। अहिले आक्रामक रूपमा हामीलाई अपमान गर्ने आशयसहित चिन्तन बोकेर आइरहेको छ। उहाँहरूलाई पनि वेद र पुराणहरू अध्ययन गर्नको लागि विशेष आग्रह गर्न चाहन्छु।

वेदले नारीको अधिकारलाई विशिष्टीकृत रूपमा व्याख्या गरेको छ। नारीले वेद पढ्नुहुँदैन भन्ने मान्यता र नकारात्मक सन्देश शास्त्रले कहीं पनि उल्लेख गरेको छैन। वेदका मन्त्रमा द्रष्टाहरू अर्थात् ऋषिकाहरू हुन्छन्। ऋषिका भनेका नारी ऋषि हुन्। त्यस्ता ऋषिकाहरू आत्रेयी, उभया, भारती, विद्वत्तमा (कालिदासकी पत्नी), विश्वसरा, गोदा, आंगिरसी, रोमसा, ब्रह्मवादिनी, मैत्रेयी, गार्गी, इन्द्रायणी, अपला जस्ता वैदिक नारी अर्थात् ऋषिकाहरू हाम्रो पौराणिक आख्यानका विभिन्न प्रसंगहरूमा अत्यधिक व्याख्या गरिन्छन्।

त्यसैले नारीको शक्तिलाई उपासना गरेर नारीको नामको पछाडि देवी, कुमारी लेख्ने प्रचलन थियो। अहिले पश्चिमा प्रभावले यो अभ्यास लुप्त हुँदै गएको छ।

जयन्ती मंगला काली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवा धात्री स्वाहा  स्वधा नमस्तुते’ भनेर हामी नारीलाई नै प्रधान शक्ति मानेर दशैं र अन्य परम्परागत सन्दर्भमा आशीर्वाद दिने बेलामा नारीको सम्मान गरिन्छ।

देवकार्यमा पूजा गर्दा स्वाहा शब्द उच्चारण नगरी अग्निस्थापनामा हवन कार्य सम्पन्न हुन सक्दैन। श्राद्ध तिथि इत्यादि पितृ कार्य गर्दा हामीले स्वधा शब्दलाई उच्चारण गर्दछौं। स्वाहा र स्वधा भन्ने नारी शक्तिको नाम हो। देवी शक्तिको विशेष पुञ्जको रूपमा हामी वैदिक शास्त्रहरूमा सम्मान गर्दछौं।

मनुस्मृतिले भनेको छ-

यत्र नार्यस्तु ज्यन्ते, रमन्ते तत्र देवता:

यत्रैतास्तु पूज्यन्ते सर्वास्तत्राफल: क्रिया:

अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताहरू रमाउँछन्। जहाँ नारीको अपमान र तिरस्कार हुन्छ त्यहाँ कर्म विफल हुन्छ।

त्यसैले गार्गी नामकी एकजना प्रसिद्ध नारीले विद्वता अर्थात् विदुषीपनको एउटा नयाँ आयाम विकास गर्ने काम गर्नुभयो। प्रचलन नै छ-

नास्ति भार्या समोबन्धु, नास्ति भार्या समागति

नास्ति भार्या समोलोके, सहायो धर्म संग्रहे

अर्थात् श्रीमतीजस्तो साथी, नारीजस्तो गति, नारीजस्तो लोकमा उन्नतिको आधार, नारीजस्तो धर्म अर्थात् आध्यात्मिक उन्नतिको आधार संसारमा कोही हुन सक्दैन। यो कुरा हाम्रो वैदिक दर्शनले पटकपटक बोलेको छ। विशेषतः रजस्वला भएको बेलामा नारीहरू पर सरेको वा अछूत भनेर पर्गेल्ने चलन छ। वास्तवमा यो वैदिक परम्परा होइन, यो त वैदिक परम्परा विपरीत छ। नारी कोमलता र शालीनताका प्रतीक हुन्। उनीहरूलाई केही समय विश्राम चाहिन्छ भन्ने प्रकृतिजन्य/दैवीजन्य विषयबाट रक्तश्राव अर्थात् रजस्वला भएको बेलामा पहिला पहिला अहिलेको जस्तो साधन थिएन। टाढा टाढा तीर्थयात्रा र मन्दिर हिंडेर जानुपर्थ्यो। त्यसैले रजस्वला भएको बेला शरीर कमजोर हुन्छ भनेर मन्दिरमा जानुहुँदैन भनियो।

विकारयुक्त रगत बगेको बेला पुरुषसँग सम्भोग गर्नुहुँदैन भन्ने लगायतका मान्यता बन्यो। विकारयुक्त रगत बगेको बेला यौनजन्य रोग लाग्छ या नारी कमजोर भएको बेला टाढा टाढा हिंडाउनुहुँदैन भनेर विश्राम दिन घरमा राख्ने चलन बनेको हो। तर, नारीलाई पर्गेलेको वा पर सारेको होइन। नारी अछूत हुने भनेर शास्त्रमा कहीं पनि उल्लेख छैन। पछि कुनै कालखण्डमा गएर कुसंस्कृतिको रूपमा गलत परम्पराले स्थान पायो।

देवताले पनि नारीको सम्मान स्वरूप देवी उपासना गरेको पाइन्छ। विशेषतः दानवहरूको बध गर्ने बेला दैवी शक्ति आर्जन गर्न देवी उपासना गर्ने गरेको पाउँछौं। महिषासुर, शुम्भ–निशुम्भ, रक्तबीज, ध्रूमलोचन लगायतका दानवहरूको बध गर्ने बेलामा पनि देवी शक्तिको विशेषरूपमा उपासना गरेको हामी पाउँछौं।

गृहस्थाश्रमको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ। नारी नभइकन घर नै चल्दैन। भार्या, जाया, सहधर्मिणी, मित्ररुपा, गृहिणी, कामदा, शोभा आदि शब्दले नारीलाई पुकार्ने गरिएको छ। जीवनको हरेक आयामको ऊर्जा, शक्ति र सहारा नै नारी हुन्।

परिपक्व गृहस्थाश्रममा नारीको उच्च स्थान रहेको छ। गृहिणी नभएको घर पशु गोठ र वनजंगल जस्तो हुन्छ भनेर हाम्रो वैदिक दर्शनले बोलेको छ। नारी विनाको कुनै कार्य हुन सक्दैन। देवकार्य र पितृ कार्य पनि विफल हुन्छ। यसरी शास्त्रमा नारीको विशेष स्थानबारे उल्लेख गरेको हामीले पाएका छौं।

अहिले पश्चिमा परिप्रेक्ष्यमा हामी नारी दिवस मनाउने गर्छौं। गृहलक्ष्मी, स्वर्गलक्ष्मी, साम्राज्ञी भनेर नारीलाई सम्मान गर्ने, नारीको विशेष पूजन गर्ने, मातृ-शक्तिका नामले पुकारा गर्ने हाम्रो वैदिक दर्शन र परम्परा छ। अहिले अल्पज्ञानबाट प्रेरित भएर वा परविचार लिएर एवं पश्चिमाले थोपरेको अधिकारवादको नाममा आफ्नो संस्कारलाई अपमान गर्नुहुँदैन। तर मलाई लाग्छ, पूर्वीय दर्शन र विशेषतः वैदिक दर्शनले नारीको उच्च सम्मान गरेको कुरा भुल्नुहुँदैन। अन्य सभ्यता र संस्कारमा हामी यस्तो भेट्दैनौं।

अर्धनारीश्वर भनेर विशेषतः शिवशक्तिको महत्व दर्शाई शिव पुराणमा नारी विनाको शिवको अस्तित्व हुँदैन भनेर उल्लेख गरिएको छ। श्रीमद्भागवतको चतुर्थस्कन्धको छैटौं अध्यायमा एउटा श्लोक उल्लेख गरिएको छ-

जाने त्वामीशं विश्वस्य जगतो योनिबीजयो:

शक्ते: शिवस्य परं यत्तद् ब्रह्म निरन्तरम्

अर्थात् नारी विनाको शिवको अस्तित्व हुँदैन। शक्ति विना संसार चल्दैन। शक्ति भनेको दैवीशक्ति हो, त्यो नारी हो, त्यो प्रकृति हो। यस्तो वैदिक दर्शनलाई पश्चिमा विचार, परविचार ल्याएर हामीलाई बारम्बार आक्रमण गर्ने चलन छ। त्यसलाई विस्तारै हटाएर स्वधर्म, स्वसंस्कृति र स्वदर्शनमा रमाउने मान्यताको विकास गर्नुपर्दछ।

हामी आफ्नो पहिचान विस्तारै भुल्दै गइरहेका छौं। आफ्नो परिवेश, परिप्रेक्ष्य, प्राग्-ऐतिहासिक पृष्ठभूमि र हाम्रो पौराणिक विरासतलाई नभुली आफ्नै तवरबाट नारीलाई सम्मान गर्ने दायित्व वहन हामीले गर्नुपर्छ। पश्चिमाले जस्तो ग्ल्यामर्सको नाममा अंग प्रदर्शन गराउँदै नारीलाई मनोरञ्जन र आसक्ति पैदा गर्ने साधनको रूपमा प्रयोग गर्ने चलन चलाउनुहुँदैन। हामीले नारीलाई मातृशक्तिको रूपमा पूजन गरौं, यजन गरौं। आजको दिनमा नारीलाई सम्मान, पूजन र यजन गर्दा यो लोक र परलोक दुवै सुधार हुन्छ, यही हाम्रो वैदिक मान्यता हो र हामीले यसैलाई स्थापित गर्दै लैजानुपर्दछ। हामी यो कर्ममा मन, वचन र कर्मले समाहित हुन जरूरी छ।

पश्चिमा आख्यानका ‘मिथ’ (प्राचीन इतिहास) हरू पढ्दा नारीलाई समुचित स्थान दिएको पाइँदैन। हाम्रो दर्शनले नारीलाई दैवी शक्तिको रूपमा पूजन गरिरहँदा पश्चिमा दर्शनहरूमा विशेषतः पुरुषत्वको भाव प्रधान छ, पितृसत्ता हावी छ। नारीलाई न दैवी शक्तिको रूपमा पुकारिएको छ न मनुष्यको उच्च दर्जा प्रदान गरिएको छ।

हाम्रो दर्शनले नर या नारी दुवैलाई सम्मान र समताको दृष्टिकोण र भावनाले दृष्टिगोचर गरेको छ। त्यसैले हामी आफ्नो दर्शन र विचारमा महान र दिव्य बन्न सकौं। यसले हाम्रो आफ्नो मान्यताको उजागर गर्नेछ। परविचारका पनि राम्रो पक्ष ग्रहण गर्नुपर्छ तर हामी आफ्नो प्राग्-ऐतिहासिक एवं प्राचीन विरासतलाई अपहेलना नगरौं। समग्रतामा व्यापक शक्तिको नाम नै नारी हो। त्यो व्यापक शक्तिलाई सम्मान छ। त्यो व्यापक शक्तिलाई सर्वोच्च शक्तिकै रूपमा पुजेर सम्मानको दृष्टिकोणबाट आजको दिवस मनाऔं। नारी दिवसको हार्दिक शुभकामना !

(वाचनप्रवीण पोखरेलसँग सुदर्शन खतिवडाले गरेको कुराकानीको सम्पादित अंश।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?