+
+

‘पैसा खर्चै नगरी सेन्जेन कन्ट्री छिर्ने अवसर आयो’

युक्रेनदेखि ‘सेन्जेन कन्ट्री’ छिर्न ४–५ हजार युरो खर्च गर्नुपर्छ । अहिले झन्डै ५०० नेपाली यो रकम खर्च नगरिकन ‘सेन्जेन कन्ट्री’ छिरेका छन् । रूस–युक्रेन युद्ध हाम्रा लागि सस्तोमा युरोप छिर्ने अवसर भएको छ ।

अमित तामाङ अमित तामाङ
२०७८ फागुन २७ गते २०:३५

मेरो मूल घर लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हो । युक्रेन आएको ६ महिना पनि पुगेको थिएन । एक्कासी रूस र युक्रेनका बीच द्वन्द्व चर्कियो । त्यसैले मैले युक्रेन छाड्नुपर्यो । फागुन तेस्रो साता म फ्रान्सको पेरिसमा आइपुगेको छु ।

अहिले आफन्तको सहयोगमा बसिरहेको छु । चार दिनअघि म पोल्याण्डमा थिएँ । मसँगै त्यहाँको होस्टलमा २० जना थियौं । एनआरएन पोल्याण्डको सहयोगमा त्यहाँ बस्ने व्यवस्था मिलाइएको थियो । अहिले सबै साथीले पोल्याण्ड छाडिसकेका छन् ।

सबैजसो साथी ‘रेसिडेन्सी कार्ड’ बनाउन पोर्चुगलतिर लागिसके । आफन्त भएकाले म केही दिन यहाँ रोकिएको हुँ । यहीं सेटल हुने अवस्था रह्यो भने बस्नुपर्ला नत्र विकल्प सोच्नैपर्छ । मलाई लाग्छ १०० देखि १५० नेपालीले पोल्याण्ड छाडिसकेका छन् । त्यसो त युक्रेन आउँदाखेरि नै हाम्रो लक्ष्य भनेको ‘सेन्जेन कन्ट्री’ छिर्नु थियो । अहिलेको अवस्थाले यता आउन झन् सहज बनाइदिएको छ ।

हामी युक्रेन आउँदा नै ठूलो रकम खर्च गरेर आएका थियौं । युक्रेन छिर्नमै धेरै दुःख–कष्ट, झन्झट र मोटो रकम खर्च गर्नुपरेको छ । १२–१४ लाख रुपैयाँसम्म खर्च गरेर युक्रेन आउने नेपालीको पीडा ठूलो छ । बढीमा ३ लाख रुपैयाँसम्म खर्च लाग्ने रहेछ । तर एजेन्टले ठगिदिन्छन् ।

एजेन्टले पासपोर्ट बुझाउँदै एक डेढ लाख मागिहाल्छ । भिसाको लागि भन्दै २–३ लाख, प्लेन टिकटको भन्दै एक–डेढ लाख असुल्छन् । त्यति मात्रै कहाँ हो र ? एयरपोर्ट सेटिङ भन्दै छुट्टै २ लाख, फेरि कलेजको फि २–३ लाख रुपैयाँ रे ! फेरि लिगल डकुमेन्ट र टीआरसी कार्ड बनाउन भन्दै ३–४ लाख रुपैयाँसम्म असुल्ने गरेका छन् ।

एजेन्टले ठगी माथि ठगी गरिरहेको हुन्छ । नेपाली एजेन्टहरू नै यो काममा संलग्न छन् । युक्रेनमा होस् वा नेपालमा, नेपालीले नेपालीलाई नै ठगिरहेका छन् । युक्रेन पठाउने भन्दै नेपालमा रहेका म्यानपावर कम्पनीहरूले ठगिरहेका छन् । नेपालीले इन्डियन तथा पाकिस्तानी एजेन्टहरूसँग मिलेर ठगी गर्ने गरेका छन् ।

युक्रेन आएपछि पनि खर्च हुने क्रम रोकिंदैन । मोटो रकम खर्च गरेपछि युक्रेनमा नै बस्ने योजना कहाँ हुन्छ र ? पढ्ने उद्देश्यले यहाँ आउने ज्यादै कम हुन्छन् । पढ्नको लागि होइन, सेन्जेन कन्ट्री छिर्ने धेरैको लक्ष्य हुन्छ । साँच्चिकै अध्ययनका लागि आएका इन्जिनियरिङ र मेडिकल लाइनका केही विद्यार्थी मात्रै त्यहाँ हुन्छन् । त्यस्तो उद्देश्य राख्ने नेपालीको संख्या ज्यादै न्यून छ ।

मैले यति धेरै कुरा सेयर गर्दा म आफू पनि इमानदार भएर कुरा गर्नुपर्छ । मेरो लक्ष्य पनि युक्रेनमा नै रहने थिएन । म पनि सेन्जेन छिर्ने लक्ष्य बोकेर आएको हुँ । तर मैले युक्रेनमा पनि ल्याङ्गवेज कोर्स गरिरहेको थिएँ । युक्रेनदेखि ‘सेन्जेन कन्ट्री’ छिर्न ठूलो रकम खर्च गर्नुपर्छ । ४–५ हजार युरो खर्च गरेर भिजिट भिसा निकाल्ने गरिन्छ ।

अर्को अवैधानिक रूपमा जोखिम मोल्दै स्थल मार्ग हुँदै प्रवेश गर्ने उपाय पनि छन् । सेन्जेन कन्ट्रीका लागि कलेज ट्रान्सफर गरेर पनि प्रवेश गर्ने गरिन्छ । तर जे गरे पनि पैसा विना काम नै हुँदैन । यी सबै उपायमध्ये जुनसुकै उपाय अपनाए पनि युक्रेनदेखि सेन्जेन कन्ट्री छिर्न ४ देखि ५ हजार युरोसम्म खर्च गर्नुपर्ने बाध्यता छ । म आफैं पनि हंगेरी छिर्ने सोचिरहेको थिएँ ।

‘रेसिडेन्सी कार्ड’ बन्न र छोटो समयमा नै पासपोर्ट बन्ने हुँदा धेरैको रोजाइ पोर्चुगल रहेको छ । अहिले झन्डै ५०० को संख्यामा नेपाली सेन्जेन छिरेका छन् । उनीहरूले ठूलो रकम खर्च हुनबाट जोगाएका छन् । यथार्थमा भन्नुपर्दा रूस–युक्रेन युद्ध हाम्रा लागि युरोप छिर्ने अवसर बनेको छ ।

मैले यसरी युक्रेनदेखि सेन्जेन छिर्न कतिसम्म झन्झट र कष्ट छ भनेर बताउनुको अर्थ यहाँबाट तुरुन्तै नेपाल फर्कने कुरा टाढा छ भनेको हो । किनकि युक्रेनसम्म आइपुग्दा हामीले दशौं लाख रुपैयाँ ऋणको भारी बोकिसकेका छौं । वर्ष दिन पनि नपुग्दै यति ठूलो ऋण बोकेर कसरी नेपाल फर्कन सक्छौं र ?

यहाँसम्म आइपुग्दा हामी एकातिर खुसी छौं र अर्कोतर्फ हामीसँग दुःखका कथाहरू पनि छन् । जीवनमा कहिल्यै बिर्सन नसक्ने पलहरू पनि छन् । युक्रेनको राजधानी किएभमा आक्रमण हुँदाको भोगाइ बिर्सनलायक छ । म बसेको अपार्टमेन्टका सिसाहरू सबै फुटेका थिए । भुईंचालो गएजस्तो भएको थियो ।

लडाईंको बीचबाट जोगिएर हिंड्न कठिन हुँदोरहेछ । कलेजको डीनले किएभबाट बाहिर निस्कन ठूलो सहयोग गर्नुभयो । सरकारले उपलब्ध गराएको फ्री ट्रेनको बारेमा जानकारी दिनुभयो । यसले गर्दा हामी लामो समय त्यहाँ फस्नबाट जोगियौं । तर हामीले दुःख–कष्ट पोल्याण्डको बोर्डरमा भोग्यौं ।

यहाँ पनि सबैको उस्तै भोगाइ नहुन सक्छ । सानो–सानो समूहमा बाहिरिएका हुनाले कतिलाई सजिलो भएको पनि हुनसक्छ । कतिले नपाउने दुःख पाएका छन् । कैयौं दिन हिंडेर सीमासम्म आएका छन् । फेरि बोर्डरमा खेप्ने सास्ती पनि फरक छ । कतिले केही घण्टामा नै सीमा पार गरेका छन् । कसैलाई हप्ता दिनसम्म लागेको छ ।

जीवनमा भोगेको एउटा अवस्था थियो त्यो । जुन कसैलाई बताउन सक्ने अवस्था थिएन । मोबाइलमा नेटवर्क थिएन । बोर्डरमा युक्रेनका आर्मीहरूले चार–पाँच वटा पोष्टहरू बनाएका थिए । एक पोष्ट पार गरेपछि अर्को गर्दै अघि बढ्नुपर्ने । त्यहाँ केही युक्रेनी माफियाहरू पनि थिए । उनीहरूले दुव्र्यवहार गरिरहेका थिए । उनीहरू मान्छेलाई लुटपाट समेत गरिरहेका थिए । राजधानीमा युद्धको र बोर्डरमा माफियाको त्रासदी थियो ।

केही नेपाली दाजुभाइले रातिको समय बोर्डर क्रस गर्न कोसिस गर्नुभयो । उहाँहरूले आफूहरू लुटिएको खबर पनि सामाजिक संजालमा राख्नुभएको थियो । त्यसैले हामीले दिउँसो बोर्डर क्रस गर्ने प्रयास गरेका थियौं । केही भारतीय विद्यार्थीले दुव्र्यवहारको भिडियोहरू सामाजिक संजालमा पोष्ट गरेका थिए । भारतीय मिडियाले यसलाई चर्को रूपमा उठाए ।

अब रह्यो नेपाल फर्कने कुरा । दूतावासले आह्वान गरिरहेको भन्ने मैले पनि सुनेको छु । नेपालमा छँदा सानोतिनो व्यवसाय गर्थें । मैले कतैबाट पनि सहयोग पाइनँ । सरकारको स्तरबाट युवा व्यवसायीहरूलाई प्रोत्साहन गरेको महसुस भएन । कुनै पनि तवरबाट देशमा केही गर्छु भन्ने वातावरण नै छैन । मैले त त्यो वातावरण पाइनँ ।

यसरी देशमा केही गर्ने कोसिस गरेको हो । गर्दै नगरी बाहिरिएको होइन । कोसिस गर्दागर्दै सहयोग नमिलेर विकल्प रोजेको हो । व्यापार व्यवसायमा कुनै पनि किसिमको सुरक्षा छैन । न त रोजगारीको अवसर नै छ । सरकारी तवरबाट युवाहरूलाई प्रोत्साहन छैन । पासपोर्ट बोकेर विदेशका लागि लाइन बस्नुको कुनै विकल्प छैन ।

नेपालका नेताहरू नेता जस्तो लाग्दैन । उनीहरू व्यवसायी जस्तो लाग्छ । जसले आफ्नो लागि काम गर्छन् । आफ्नो आन्तरिक आयस्रोत बलियो पार्नका लागि काम गर्छन् । देश चलाउने होइन । आफ्नो पार्टी, परिवार, नातेदार र नजिकका कार्यकर्ताका लागि मात्रै काम गर्छन् । उनीहरूसँग देश बनाउनको लागि कुनै सोच नै छैन ।

हो म पनि कुनै दिन कुनै पार्टीलाई समर्थन गर्थें । त्यहाँभित्रको सबै पाटो देखें, भोगें, अनुभव गरें । अब कुनै विकल्प छैन भनेपछि मात्रै विदेशिएको हुँ । आदर्शको गफ गर्दै स्वदेश फर्कन्छु भनेर के गरौं । म जस्ता धेरैको टाउकोमा ऋणको भारी छ । रित्तोहात कसरी फर्कने ? आफू र परिवारको भविष्य जोडिएको छ । त्यसैले अब यहीं संघर्ष गर्नुको विकल्प छैन ।

(युक्रेनबाट पोल्याण्ड हुँदै हाल फ्रान्स पुगेका तामाङसँग अनलाइनखबरकर्मी बसन्त रानाभाटले गरेको कुराकानीमा आधारित ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?