+
+

रुसले रासायनिक हतियार प्रयोग गर्न सक्छ : नेटो प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १२:४४

२९ फागुन, काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका छन् ।

महासचिव स्टोल्टेनबर्गले जर्मन पत्रिका वेल्ट एम सोनटागसँगको एक अन्तर्वार्तामा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले रासायनिक हतियार प्रयोग गरे त्यो युद्ध अपराध हुने समेत उनको भनाइ थियो ।

‘हामीले पछिल्ला केही दिनयता रासायनिक एवं जैविक हतियारका प्रयोगशालाबारे अपत्यारिला दाबी सुनिरहेका छौं’, स्टोल्टेनबर्गले भने, ‘यसरी गलत दाबी भइरहेका बेला हामीहरू सतर्क हुन आवश्यक छ किनभने रुसले यिनै झूठा कुराको सहारा लिएर रासायनिक हतियार प्रयोग गर्न सक्छ ।’

युक्रेनीहरूले साहसपूर्वक रुसी अतिक्रमणको प्रतिरोध गरिरहेको भए पनि आगामी दिन थप कष्टकर हुने पनि स्टोल्टेनबर्गको भनाइ थियो ।
गत आइतबार रुसको विदेश मन्त्रालयले एक ट्विट गर्दै अमेरिकी र युक्रेनी सरकारमाथि गोप्य रुपमा युक्रेनका विभिन्न ल्याबमा ‘सैन्य-जैविक कार्यक्रम’ सञ्चालन गरेको आरोप लगाएको थियो । तर अमेरिकाले भने उक्त आरोपको खण्डन गर्दै रुसले ‘दुष्प्रचार’ गरिरहेको बताएको थियो ।

अमेरिकाले युक्रेनका ल्याबमा सैन्य प्रकृतिका जैविक एवं रासायनिक गतिविधिलाई ‘फण्डिङ’ गरिरहेको दाबीबारे छलफल गर्न शुक्रबार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बसेको थियो । उक्त बैठकमा बोल्दै राष्ट्रसंघका लागि रुसी राजदूत भ्यासिली नेबेन्ज्याले युक्रेनबाट अनियन्त्रित रुपमा जैविक ‘एजेन्ट’ फैलिन सक्ने चेतावनी दिएका थिए ।

तर, राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले युक्रेनमा जैविक हतियार आक्रमण गर्ने गलत मनसाय बोकेर रुसले उक्त दाबी गरेको भन्दै चेतावनी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?