+
+
Shares

शान्ति वार्ताका लागि अमेरिकी दूत किभमा, जेलेन्स्कीसँग छलफल जारी

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी प्रतिनिधि स्टेभ विटकाफ र जेरेड कुश्नरलाई किभमा स्वागत गरेका छन्। उनीहरूबीच किभको सेन्ट सोफिया क्याथेड्रेलमा भेटवार्ता भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १९:१९

२१ भदौ, काठमाडौं । रूसको पूर्ण स्तरको आक्रमणपछि पहिलोपटक अमेरिकी राष्ट्रपतिका विशेष दूतहरू युक्रेनको राजधानी किभ पुगेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी प्रतिनिधि स्टेभ विटकाफ र जेरेड कुश्नरलाई किभमा स्वागत गरेका छन्। उनीहरूबीच किभको सेन्ट सोफिया क्याथेड्रेलमा भेटवार्ता भएको छ।

भेटअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन युद्धको अन्त्यलाई नजिक ल्याउन छलफलका लागि तयार रहेको बताएका छन्। उनले युद्धपछिको दिगो शान्तिका लागि सुरक्षा ग्यारेन्टी आवश्यक पर्ने उल्लेख गरेका छन्।

यसअघि शनिबार ती दुई अमेरिकी दूतले मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए। मस्कोमा भएको वार्तालाई क्रेम्लिनले ‘खुल्ला’ र ‘रचनात्मक’ भनेको छ।

अमेरिकी दूतहरू पोल्यान्डबाट रेलमार्फत किभ पुगेका हुन्। तयारी पूरा भए पनि जहाज अवतरण गर्न सम्भव नभएपछि उनीहरू रेलबाट यात्रा गर्न बाध्य भएका हुन्। वार्ता चलिरहँदा रुस र युक्रेन दुवै पक्ष वार्ता अवधिभर एक-अर्काका राजधानीमा आक्रमण नगर्न सहमत भएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै जेलेन्स्कीले भने, ‘युक्रेन सधैँ रचनात्मक रहेको छ र रहनेछ।’ उनले अगाडि थपे, ‘हामी युद्धको अन्त्यलाई नजिक ल्याउन इच्छुक छौँ।’

वार्ताको पूर्वसन्ध्यामा पनि रुस र युक्रेनबीच आक्रमण जारी नै थियो। युक्रेनी वायुसेनाका अनुसार रुसले १०८ वटा ड्रोन र साना क्रुज मिसाइलमार्फत आक्रमण गरेको थियो। युक्रेनले ८२ वटा ड्रोन र छ वटा मिसाइल खसालेको दाबी गरेको छ। यता युक्रेनले पनि रुसको तेल रिफाइनरी र हवाई अड्डालाई निशाना बनाएको पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?